लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीद्वारा विद्यालयलाई टेलिभिजन प्रदान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसिबुले बुधबार चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा जुत्ता, मोजा, स्टेशनरी सामान साथै ४० इञ्चको टेलिभिजन वितरण गरेको छ ।
अधिकांश विपन्न चेपाङ विद्यार्थी पढ्ने यस विद्यालयमा पढ्न आउने धेरै जसो विद्यार्थी चप्पल समेत नलाई डेढघन्टा सम्म हिँडेर स्कूल आउने गर्छन् ।

विपन्न विद्यार्थी पढने विभिन्न स्कूल पुगी सहयोग गर्दै आइरहेको लायन्स क्लब इन्द्रयणीले गत वर्ष देखि यस स्कूललाई सहयोग गर्दै आइरहेको छ । गत वर्ष स्कूल ब्याग वितरण गरेको क्लबले यस वर्ष जुत्ता लगायतका सामान वितरण गरेका हुन् ।

‘गत वर्ष हामी आउँदा अधिकांश विद्यार्थी चप्पल समेत नलाई खाली खुट्टा गिटी बिछ्याइएको बाटोबाट हिँड्दै स्कूल आएको देखेकाले यस वर्ष विद्यार्थीहरुलाई जुत्ता दिएको छौं’ क्लबया अध्यक्ष सागर डंगोलले बताए ।

अधिकांश चेपाङ बालबालिका पढ्ने स्कूलमा विद्यार्थीहरु आधा घन्टा देखि डेढ घन्टा सम्म खाली खुट्टा हिँडेर स्कूल पुग्छन् । स्कूलया प्रधानाध्यापिका ज्ञानुदेवी पाण्डेका अनुसार १३४ जना विद्यार्थी रहेको स्कूलमा १३३ जना चेपाङ बालबालिका छन् । कार्यक्रममा क्लबले स्कूलको लागि ४० इञ्चको स्मार्ट टेलिभिजन पनि सहयोग गरेको थियो ।

स्कूलका प्रधानाध्यापिका ज्ञानदेवी पाण्डेले टेलिभिजन आएपछि विद्यार्थीहरु नियमित स्कूल आउन आकर्षित हुने साथै भिजुअल माध्यमबाट पढाउँदा गुणस्तरीय शिक्षा पनि दिन सकिने बताए ।

केही समयपछि स्कूलमा स्वास्थ्य शिविर संचालन गर्ने योजनमा रहेको लायन्स क्लब इन्द्रायणीका सचिव निर्मल महर्जनले देवीभञ्ज्याङ स्कूलका विद्यार्थीको अवस्था हेरेर निरन्तर सहयोग गर्ने योजना रहेको बताए । वितरण कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का एलसिआइएफ लायन बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि र डिस्ट्रिक गभर्नर मानबहादुर रोकाया विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।