भारतीय सहयोगमा थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै



न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीनवटा सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले २४ करोड ६ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

सांस्कृतिक सम्पदा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्र दाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनामा ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहार, सिन्धुपाल्चोकस्थित सुलिझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन् ।

भारतले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि कुल ५ अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्