सीके राउतको प्रश्न : दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?

0
Shares

काठमाडौँ

जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले दुई तिहाईको सरकारले समेत जनतालाई निराश हुन बाध्य पारेकोे बताएका छन् । आइतबार रूपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राउतले जनताले संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएको सरकारले त्यस अनुरुप काम नगरेको बताएका छन् ।

‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन् । तर सरकारले त्यसअनुसार काम गर्न सकेन,’ उनले भने, ‘हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो । नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्’, ।

चुनावमा मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्ने बताउँदै राउतले भने ‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।’

राउतले भने, ‘सरकारी पक्ष र विपक्षी सडकमा छन्, यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने रु यो आजको प्रश्न हो, करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?’