कुनै पनि जीवजन्तु जन्मेपछि उसको मृत्यु निश्चित हुन्छ । तर कहिले, कहाँ र कति बेला मृत्यु हुन्छ ? त्यसको भने कुनै ठेगान हुँदैन । संसारका सबै वस्तु नाशवान् छन् । पहिलेका र पुराना वस्तु नाशिदै जाने र नयाँ–नयाँ वस्तुको सिर्जना हुँदै जाने यो वैज्ञानिक नियम हो । यसलाई माक्र्सवादले पनि प्रमाणित गरिसकेको छ । संसारमा कुनै पनि वस्तु स्थायी हुँदैन । सबै वस्तुको अन्त्य अनिवार्य छ ।
यो ब्रह्माण्डमा सबै भौतिक पदार्थ नाशवान् हुन्छन् । यो सत्य हो तर ती सबै पदार्थ नाशवान् भएपछि अर्को रुपमा अस्तित्वमा आउने गरेका छन् । उदाहरणको लागि काठ जलेर नाश हुन्छ तर त्यसको अर्को रुप खरानी अस्तित्वमा आउँछ । खेतबारीमा राखेको मल गलेर जान्छ तर त्यसको सारतत्व बोट बिरुवाले लिने गरेका हुन्छन् । माटोमा मकैको बीउ रोपिन्छ । रोपेको त्यो बीउ मासिन्छ तर त्यही बीउबाट अरु धेरै मकैका दाना फल्ने गरीे मकैको बोटमा घोगा लाग्न शुरु गर्छ ।
यही रीतले यो विश्वमा सबै भौतिक पदार्थको जीवनचक्र लाखौं वर्षपहिलेदेखि चलिरहेको छ । एउटा पदार्थको नाश भएर त्यसको अर्को रुप अस्तित्वमा आउने यही मान्यताका कारण कतिपय मान्छेले मान्छे मरेपछि अर्को जुनी फेरिएर जन्म लिन्छ भनेका होलान् । वास्तवमा मान्छे मरेपछि फेरि मान्छे भएर जन्मनु असम्भव कुरा हो । मान्छे मरिसकेपछि उसको शरीर नाश हुन्छ ।
त्यो नाश भएको शरीर जलिसकेपछिको अवस्थामा खरानी पो अस्तित्वमा आउँछ । मान्छे अस्तित्वमा आउने भन्ने कुरा हुँदैन । यो त मान्छेको कल्पनाको विषय मात्र हो । यदि मान्छे फेरि अस्तित्वमा आउँदो हो त संसारका सबै प्राणी अर्को जुनी बदलेर अस्तित्वमा आउने थिए । यो असम्भव कल्पना मात्र हो ।जन्मेपछि म मर्छु भन्ने चिन्तन अरु प्राणीले गर्न सक्दैनन् । यस्तो चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो । मान्छेको जीवनमा जन्म, विवाह र मृत्यु निश्चित भएर पनि अनिश्चित हुँदै आइरहेका छन् । गर्भावस्थाको समय पूरा भएपछि बच्चा जन्मन्छ । जन्मनुअघि त्यो जन्मने बच्चा यस्तै अनुहारको हुन्छ र यस्तै रुपरंगको हुन्छ भनेर पहिले नै भन्न सकिँदैन । यसै गरी कोसँग बिहे हुने र कुन दिन हुने भनेर अनुमान लगाउन सकिँदैन । मृत्युका बारेमा त अझै अनुमान लगाउन सकिँदैन । जीवन र जगतको चक्रका बारेमा चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो । अरु प्राणीले सोच्नसमेत सक्दैनन् । मान्छेले जन्मदै आफूसँग मृत्यु लिएर आएको हुन्छ । तर कहिले, कुन दिन र कसरी मृत्यु हुन्छ, उसलाई थाहा हुँदैन । हरेक मान्छेले जानेको छ, मेरो मृत्यु निश्चित छ ।
मृत्युलाई साथमा लिएर बाँचिरहेको उसले सबैभन्दा बढ्ता माया जीवनसँग गरिरहेको हुन्छ । उसलाई मृत्युसँग कुनै भय हुँदैन, कुनै त्रास हुँदैन र कुनै शंका हुँदैन । तर त्यही मृत्युका बारेमा अरु कसैले सुनाइदियो भने त्यस बखत मान्छे सबैभन्दा बढ्ता डराउने गर्छ, सबैभन्दा धेरै तर्सिने गर्छ र सबैभन्दा बढी कहालिने गर्छ । जीवन आफूले भोगेर रमाउने, मृत्यु अरु कसैले भनेर तर्सने । यस्तो हुँदै आएको छ मान्छेको जीवनमा ।कुनै मान्छे बिरामी भयो । उसको स्वास्थ्य परीक्षण गरिसकेपछि डाक्टरलाई थाहा भयो, अब यो बिरामीलाई सन्चो हुँदैन भन्ने । डाक्टरले यो कुरा सीधै बिरामीलाई नसुनाएर बिरामीका आफन्त वा बिरामी कुरुवालाई सुनाउने गर्छन् । यसको कारण के पनि हो भने, मान्छेले आफ्नो मृत्युको कुरो सुन्न चाहँदैन ।
जन्मेपछि मृत्यु स्वाभाविक छ । आफूले आफैंलाई नसम्झाई अर्को उपाय छैन भनेर आफन्तको मृत्युमा शोकमग्न भएका परिवारजनलाई सम्झाउने त्यही मान्छे आफ्नो मृत्युको बारेमा सुनेपछि निकै अत्तालिने गर्छ । यसको अर्थ हो, मान्छेको जीवन नै सबै थोक हो र सर्वस्व हो । जीवन छँदै समाज र देशको हितमा उल्लेखनीय काम गर्नु हरेक मान्छेको दायित्व हो । यही नै मान्छेको जीवनको लक्ष्य हो ।
– सौरभ कार्की, नेपालगन्ज
प्रतिक्रिया