दुई दन्त चिकित्सक मागेको २ सय ७१ को निवेदन आयो


डा. अञ्जना महर्जन, दन्त विशेषज्ञ, पाटन अस्पताल

पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरी डा. अञ्जना महर्जनले वीर अस्पतालबाट पाँच वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गर्नुभएको छ । उहाँले पाटन अस्पतालमा अनवरतरूपमा दन्त चिकित्सक भएर काम गर्न थाल्नुभएको १४ वर्ष भइसकेको छ । डा. महर्जन नेपाल मेडिकल एसोसियसनको सम्पादक पनि हुनुहुन्छ । साथै नेप्लिज पोस्ट दन्त सोसाइटीकी कार्यकारी सदस्य तथा जर्नल अफ नेपाल डेन्टल एसोसियसनकी सम्पादक पनि हुनुहुन्छ । डा. महर्जनसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप ः

चिकित्सा पेसा त्यसमा पनि दन्त सेवा नै किन छान्नुभयो ?
मेरो परिवारमा बुबाममी दुवै जना स्वास्थ्यकर्मी भएकाले चिकित्सा पेसा मन परेको हो । दन्त चिकित्साचाहिँ नाइट ड्युटी गर्नु नपर्ने, १० बजेदेखि ५ बजेसम्म काम गर्दा पुग्ने भएकाले छनोट गरें ।

दन्त उपचारमा आकस्मिक सेवा पर्दैन ?
आकस्मिक सेवा त हुन्छ तर मेरोमा हुँदैन । म कृत्रिम दाँत हाल्नेमा परें । ओरल सर्जरी डिपार्टमेन्टमा आकस्मिक पनि पर्छ । दाँत हाल्ने काम सबै विभागका काम सकेपछि अन्तिममा पर्छ ।

विश्वमै दन्त सेवा महँगो छ भनिन्छ, नेपालको अवस्थाचाहिं के छ ?
दन्त सेवा महँगो छ, तर अध्ययन एमबीबीएसभन्दा सस्तो छ । दन्त उपचारमा खरिद गर्ने सबै सामग्री महँगो हुने भएकै कारण सेवा महँगो भएको हो । पढाइका क्रममा दन्त विषयमा विद्यार्थी आफैंले सामान किन्नुपर्ने हुन्छ । पढाइ महँगो हुनुका कारण कलेजले व्यवस्था गर्ने शिक्षकहरुको तलब नै महँगो भएर विद्यार्थीलाई पनि महँगो परेको हो ।दाँतको सामान पनि महँगो पर्छ । अरू रोगको जस्तो दाँत दुःखेको औषधि खाएर निको हुँदैन । दन्त सेवा त मानिसले मुखमै बोकेर हिँड्छ । बिरामीले अरू बिरामीलाई देखाउँदा राम्रो या नराम्रो जे भए पनि कुन डाक्टरले गरेको काम भनेर सोद्धा सबैलाई थाहा हुन्छ । दन्त उपचार विश्वसनीय र गुणस्तरीय हुनुपर्ने भएकै कारण उपकरणहरु विदेशबाट ल्याउनुपर्छ ।

दाँतको हेरविचार कहिलेदेखि गर्नुपर्छ ?
दाँतको सरसफाइ दाँत उम्रिएदेखि नै गर्नुपर्छ । यतिसम्म कि बच्चालाई दूध खुवाइसकेपछि दाँत नआउँदै पनि मलमलको कपडा मनतातो पानीमा भिजाएर पुछिदिनुपर्छ । यसले गर्दा नयाँ दाँत आउने बेलामा राम्रो हुन्छ । बच्चाहरुको एउटा मात्र दात उमे्रको छ भने पनि दिनमा दुईपटक ब्रस गरिदिनुपर्छ । ब्रस गर्दा बच्चाको छुट्टै टुथपेस्ट हुन्छ त्यसले मात्र ५ वर्ष नहुँदासम्म माझ्नुपर्छ । त्यसपछि नर्मल टुथपेस्टले दिनमा दुईपटक माझ्नुपर्छ । ६ महिनामा एकपटक जँचाउने गर्नुपर्छ । यसो गर्दा दाँतको उपचार सस्तो हुन्छ ।

बच्चालाई खुसी बनाउन झगडा गर्दा फकाउन चक्लेट दिन्छौं । यसो गर्नु ठीक हो ?
चकलेट खानु बच्चाको अधिकार हो । तर, खाइसकेपछि बच्चालाई ब्रस गराउने बानी बसाउनुपर्छ ।

ब्रस गर्न सम्भावना नहुँदा चकलेट खाएर सादा पानीले कुल्ला मात्र गर्दा पनि हुन्छ कि ?
कुल्ला गर्ने बानी राम्रो हो, यो अनिवार्यरूपमा गर्नुपर्छ । चकलेट खाएर मुख कुल्ला गर्नु भनेको हामी शौचालय गएर अनिवार्य फ्लस गर्नुजस्तै हो । कुल्ला गर्नु भनेको खाएर मुखभरि बसेको खानेकुरा सफा अर्थात् फ्लस गर्नु नै हो । सुत्नुभन्दा अघि अनिवार्य ब्रस गर्नैपर्छ ।

दाँत कीराले खाने भनेको के हो ? के दाँतबाट झारेका किरा देख्न सकिन्छ ?
दाँतमा माइक्रोस्कोप कीरा हुन्छ । त्यही कीराले खाने हो । हामीले खाएको खाना दाँतको चेपमा बसेर माइकोअग्रानिजम ग्रो हुन्छ । त्यसले विस्तारै दाँतको इनामेल खाँदै जान्छ । कीराले खाने भनेको त्यो हो । हामीले दाँतमा लागेको कीरा खुला आँखाले देख्न सकिन्न । दाँत दुखेर झारफुक गर्ने कीरा झार्ने भन्ने सम्भावना छैन । दाँतको पालिस गएपछि एसिड निस्किन्छ र त्यो एसिडले दाँत प्वाल पर्छ । माइक्रो अग्रानिजमले दाँत खाने होइन, त्यसले पालिस र इनामेललाई पगाल्दै जाने हो ।
दिनमा दुईपटक ब्रस गर्ने, जेसुकै खाना खाए पनि मुख कुल्ला गर्ने र दाँतमा खाना अड्किएमा धागोले फ्लस गरेर निकाल्ने गर्नुपर्छ ।

दाँत खिइने, हड्डी खिइने, दाँत फाट्ने भनेको के हो ?
दाँत खिइने प्रक्रिया धेरै प्रकारको हृुन्छ । कडा ब्रसले धेरै ब्रस गर्दा पनि दाँत खिइन्छ । त्यसैले नरम ब्रसले विस्तारै २ मिनेट जति ब्रस गर्नुपर्छ । ब्रस गर्दा भाँडा माझेझैं गर्नु हुन्न । अर्को उपचार एसेडिक अमिलो जुस, कागती, निबुवाजस्ता चिज खाँदा पनि दाँतहरु खिइन सक्छ । मानिसलाई ग्यास्ट्रिक भएर मुखमा अमिलो पानी आउँदा पनि दाँत बाहिरबाट खिइन सक्छ । अर्को दाँतको टोकाइ नमिलेको मान्छेहरुको पनि दाँत खिइने हुन्छ । यस्तो दाँत चिकित्सकको सल्लाह लिएर मिलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सबैतिरबाट आरसीटी गर्नुपर्ने हुन्छ ।

कतिपय मानिसको दाँत किन बाहिर निस्केको देखिन्छ ?
दाँतमा जति धेरै फोहोर भयो त्यति नै दाँतलाई गिँजा र हड्डीले छोड्दै जान्छ । त्यसपछि गिँजा तल सरेर दाँत बाहिर देखिन थाल्छ । शुरुदेखि नै दाँतको हेरचाह गर्ने, ६–६ महिनामा चिकित्सकको सल्लाह लिएर सफा गर्ने गरेमा यस्तो समस्या आउँदैन । एकपटक सरेपछि गिँजा पहिलाको अवस्थामा राख्न सकिन्न ।

दाँत सिरिङ्ग हुनु कस्तो खालको समस्या हो र यसको रोकथाम छ कि छैन ?
यो दाँतको समस्याको पहिचान हो । कहिलेकाहीं गिजा सर्दा, दाँतमा फोहोर बढ्दा, दाँत कीराले खाँदा पनि दाँत सिरिङ्ग गर्छ । यस्तो अवस्थामा तत्कालै दन्त चिकित्सकलाई देखाउनुपर्छ ।

गाउँ–गाउँमा दन्त विशेषज्ञ छैनन्, यस्तो अवस्थामा के गर्ने ?
सरकारले गाउँघर क्लिनिक, अध्ययन–अध्यापन गराउने शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई गाउँ–गाउँमा जनचेतनामूलक कार्यमा समय–समयमा खटाउने । हेल्थ पोस्टमा परीक्षणको व्यवस्था गर्ने र जिल्ला अस्पतालमा दन्त चिकित्सकको दरवन्दी नै राखेर उपचार सेवा दिनु आवश्यक छ । यति धेरै दन्त चिकित्सक बेरोजगार छन् । पाटन अस्पतालमा २ जना दन्त चिकित्सक मागेको २ सय ७१ जना परीक्षामा सामेल भए । पढेका दन्त चिकित्सकले पनि काम पाउने र जनताले पनि सेवा पाउने विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ । डेन्टलमा पब्लिक हेल्थ पढेकालाई १ देखि २ महिना पोस्टिङ गरेर पनि दाँतसम्बन्धी जनचेतना र उपचार गर्न सकिन्छ ।

भरपर्दो दन्त सेवा पाउने ठाउँ कसरी चिन्ने ?
बिनालाइसेन्स चिकित्सकबिनै व्यापारका लागि खोलिएका क्लिनिकमा गएर उपचार गर्नु स्वास्थ्यकै लागि चुनौतीको विषय हो । पैसा कमाउन बसेकाले पढेका हुँदैनन्, कमाउन मात्र जानेका हुन्छन् । त्यसैले एनएमसीको सर्टिफिकेट पाएको व्यक्तिबाट नै दाँतको उपचार गराउनुपर्छ । नबुझी उपचार गराउँदा स्वास्थ्य समस्या, दाँत बिग्रने र पछि चार गुणा बढी खर्च लाग्ने हुन सक्छ । यस्ता विषयमा सरकार स्वयंले अनुगमन नगर्नु सरकारकै कमजोरी हो ।

कोरोना भाइरसको संक्रमण व्याप्त भएका बेला दाँतको उपचार चिकित्सक र बिरामीको प्राथमिकतामा रह्यो कि रहेन ?
कोभिडका समयमा दाँतभन्दा अन्य सेवा नै प्राथमिकतामा रहे । तर, लकडाउन खुल्नेबित्तिकै दाँत उपचारमा भीड बढेको छ । कोरोनाका समयमा आकस्मिक उपचार भने रोकिएन । उपचारको प्रोटोकलको पालना गर्दै उपचारमा सरिक भयौं । नेपाल डेन्टल एसोसियसनले पनि प्रोटोकल बनाएको थियो, सोही प्रोटोकलको पालना गर्दै उपचार गरेका थियौं ।

अन्तिममा स्वस्थ दाँत राख्न के गर्नुपर्छ केही भन्न चाहनुहुन्छ कि ?
दाँत मानिसको अनुहारको ऐना हो । यसलाई सुरक्षित राख्न दिनमा दुईपटक ब्रस गर्ने, ६ महिनामा एकपटक परीक्षण गराउने । दाँतको काम कडा हड्डी खान, बोतलको बिर्को खोल्न बनेको होइन । ब्रस बांगिएको अवस्था छ भने तत्काल परिवर्तन गर्ने गर्नु नै स्वस्थ र सुन्दरताको पहिचान दिनु हो ।

लकडाउन खुल्नेबित्तिकै दाँत उपचारमा भीड बढेको छ । कोरोनाका समयमा आकस्मिक उपचार भने रोकिएन । उपचारको प्रोटोकलको पालना गर्दै उपचारमा सरिक भयौं । नेपाल डेन्टल एसोसियसनले पनि प्रोटोकल बनाएको थियो, सोही प्रोटोकलको पालना गर्दै उपचार गरेका थियौं ।