सुरक्षाकर्मीलाई खोप


कोरोना भाइरसको संक्रमणको गतिसँगै सक्रिय भएर रातदिन नभनी कोरोना विरुद्धको खोप पहिचान र विकासका लागि खटेका विश्वका वैज्ञानिकहरु नै आज मानव जातिका साक्षात देवता बनेका छन् । तर पनि यो खोप नै कोरोना नियन्त्रणका लागि पूर्ण भने होइन भन्ने कुरा उनीहरुले बारम्बार प्रष्ट्याउँदै आएका छन् ।

एक वर्षको छोटो अवधिमा रोगको महामारीको पहिचानसहित खोप उत्पादन गरी तेस्रो चरण सम्मको परीक्षण पूरा गरिसक्नु निकै चुनौतीपूर्ण कार्य भएकाले यस खोपलाई पूर्ण खोपका रुपमा लिनुभन्दा पनि तत्कालीन रोकथाम र थप अध्ययन–अनुसन्धानकै विषयका रुपमा लिनु आवश्यक देखिन्छ ।विश्वका ठूला मुलुक हुँदै नेपालमा पनि छिमेकी मुलुक भारतले उपहार स्वरुप उपलब्ध गराएको भारतकै सेरम इन्स्टिच्युटद्वारा उत्पादित ‘कोभिसिल्ड’ १० लाख डोज खोप नेपालमा भित्रिएको मात्र तीन साता भयो । यस अवधिमा सरकारले पहिलो प्राथमिकतामा चार लाख ३० हजार सरसफाई कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइनमा खटिने व्यक्तिलाई तोक्यो । तोकिएका निकायका झण्डै दुई लाख व्यक्तिले मात्र खोप लिएसँगै सरकारले बाँकी खोपलाई तत्काल अद्यावधिक तथ्यांक भएका र सरकारले तोकेको ठाउँमा बोलाउँदा आइपुग्नसक्ने वर्ग त्यसमा पनि काठमाडौ भ्याली भित्रकैलाई लक्षित गरी पत्रकार, यूएन एजेन्सी र कूटनीतिक नियोगलाई तोक्यो । दोस्रो चरणको छनोटलाई लिएर विरोधका आवाजहरु बाहिरिएका छन् ।

कोरोना विरुद्धको खोप निश्चित चिस्यान व्यवस्थापन गरी तोकिएको अवधिभित्र प्रयोग गरिसक्नुपर्ने भएकाले देशव्यापी रुपमा नपुग्ने भएकै कारण यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट्याएको छ । नेपाल सरकारले खोप खरिद गरिसकेको अवस्था पनि छैन र वर्गीकरण गरिएका व्यक्तिको तथ्यांक कुन क्षेत्रमा कति छ भन्ने अद्यावधिक पनि छैन । त्यस्तै तालिमप्राप्त स्वास्थ्य जनशक्ति देशव्यापी रुपमा पुगेका पनि छैनन् । यसपछि प्रत्येक, प्रदेश, जिल्ला, पालिका र वडासम्म पु¥याउनका लागि चिस्यान व्यवस्थापनसहितका ढुवानी सेवा र भण्डारण चुनौती बनेको छ । खोपको प्रभावकारिताको आँकलन तत्कालै गर्न सकिन्न । सबैतिर परीक्षण नै चलिरहेको छ । उदाहरणका लागि दक्षिण अफ्रिकाले कोरोनाभाइरस विरुद्ध अक्सफोर्ड आस्ट्राजेनेकाको खोप १० लाख मात्रा भित्र्याइसकेको र आगामी सातावाट लगाउँने भएको छ । एक अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि दक्षिण अफ्रिकाको सरकारले अभियान नै रोकेको थियो ।

स्वास्थ्य विज्ञहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष खोपका लागि वर्गीकरण गर्ने वैज्ञानिक र व्यावहारिक योजना पेश गरिसकेको र सरकारले पनि ती आधारलाई शिरोधार्य गर्दै योजना सार्वजनिक गरेको भएपनि लक्षित वर्गको तथ्यांक भने अहिलेसम्म स्थानीय निकायदेखि केन्द्रसम्म अद्यावधिक भैनसकेको अवस्थामा प्राप्त खोपले देशभरी नपुग्ने अवस्थामा काठमाडौं उपत्यकालाई मात्र लक्षित गरी पहिलाकै खोप बुथहरुमध्ये पाँच अस्पताल तोकी तालिम प्राप्त जनशक्तिमार्फत खोप दिइरहेको छ । फ्रन्टलाइनमा खटिनेमा सुरक्षाकर्मी प्राथमिकतामा पर्नुपने, उनीहरुलाई अझै ध्यान दिन नसकिएको भन्दै गुनासो बाहिर आएको छ । यो गुनासो स्वाभाविक पनि हो । वास्तवमा स्वास्थ्यकर्मीजत्तिकै जीवन जोखिममा पारेर सुरक्षाकर्मीहरुले अग्रपक्तिमा रहेर कोरोनाबाट आम जनमानसलाई बचाउन काम गरेका छन् । उनहरुलाई बिर्सेर अरुले मात्र खोप लगाउँदा न्यायिक हुनसक्तैन ।