गर्भमै भ्रूण–पतनमा पर्ने छोरीहरु जन्मिहाले पनि बलात्कारपछि हत्याको शिकार हुने देशको नागरिकका रुपमा परिचय दिनुपर्दा कुन नागरिकको शिर ठाडो रहला ? बलात्कारपछि हत्या गर्ने घटना पाशविक कुकर्मको पराकाष्ठा हो । समाजलाई नै लज्जित बनाउने यस्ता जघन्य अपराधका घटना बारम्बार दोहोरिँदै आउनु गम्भीर चिन्ताको विषय हो । केही क्रूर मानसिकता बोकेका नरपिशाचबाट हुने बलात्कारको घटनाले समाजलाई नै स्तव्ध बनाउँछ, मुलुक नै बलात्कृत भएको अनुभूत गर्दछ ।
सभ्य समाजमा बलात्कार त परको कुरा कुनै पनि प्रकारको यौनजन्य हिंसा सह्य हुँदैन । तीन वर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको तर अपराधी अझै पत्ता लाग्न नसकिरहेको अवस्थामा बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । गत बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परिन् । घटनास्थलको प्रकृति र शवको अवस्थाका आधारमा प्रहरीले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । सरकारले अपराधी पत्तालगाउने दाबी त गरेको छ, तर कतै निर्मला पन्तको जस्तै नियती त दोहोरिने होइन भन्ने आशंका सर्वत्र छ । जुन समाजमा व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुँदैन, त्यस मुलुकमा सरकार सामाजिक सुरक्षा र समृद्धिको कुरा गर्छ भने त्यसलाई लज्जास्पद मान्नुपर्छ । सरकारले सडक, भ्यु टावर, रेल, पानीजहाजलाई समृद्धि मानेको छ । भौतिक समृद्धिले मात्र मुलुकको समृद्धि सम्भव छैन, मानव विकास सूचकांकमा विश्वमै पुछारतिर अल्झिने नेपाललाई माथि उठाउने हो भने यस प्रकारका घृणित अपराध हुनुभएन, भइहाले पनि अपराधी कानुनको कठघरामा आउनुप¥यो । गाउँगाउँमा डोजर चलेका छन् तर सामाजिक जागरण ल्याउने अभियान सञ्चालन हुन सकेको छैन । काठमाडौंको सिंहदरबारदेखि गाउँ–गाउँमा पुगेको भनिएको सिंहदरबार अहिले भ्रष्टाचारले गन्हाएको छ ।
सामाजिक विकृति बढ्दै बलात्कार र हत्यासम्म पुग्नका लागि भ्रष्टाचार बीज कारण हो । यस्ता जघन्य अपराधमा मृत्युदण्ड दिने कानुन निर्माण गर्न नकिए पनि बलात्कारीलाई बाँचुन्जेल पीडाबोध हुने कानुन बनाउन सचेत नागरिकले आवाज उठाइरहेका छन् । बलात्कारीको यौनाङ्ग अपाहिज बनाउने अभ्यास विश्वका केही मुलुकमा देखिन्छ । बलात्कारीको अनुहारमा सदा देखिने गरी खास प्रकारको खत बनाइदिन पनि सकिन्छ । बलात्कारको घटनापछि पक्राउ पर्ने अपराधीले जेल सजाय त पाउँछ । तर आफूले गरेको पाशविक घटनाको प्रायश्चित्त गरेको देखिन्न । जेलमा सरकारबाट पालनपोषण हुने भएपछि बलात्कारी सधैं आनन्दमै रहन्छ ।सरकार बलात्कारको घटनामा संवेदनशील बन्न सकिरहेको छैन । गृहमन्त्री रामबहादुर थापाले संसद्मा उभिएर बलात्कारको घटना हुँदै गर्छन् भनेर गैरजिम्मेवार ढंगले जवाफ दिँदै आएका छन् ।
सरकारका उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्म बलात्कारका कारण बालिकाहरुको मृत्यु हुँदासमेत दोषी पत्ता लागिसक्यो भनेर सफेद झुट बोलिरहेका हुन्छन् । कक्षा १२ मा अध्ययनरत १७ वर्षे किशोरीको बलात्कारपछि गरिएको हत्यामा संलग्न अपराधीलाई दण्डहीनतामा राख्नु सरकार स्वयं दोषी करार हुनु हो । यही सोचका साथ सरकार सक्रिय बनोस्, नारायणहिटीअगाडि कार्यकर्ता भेला पारेर पछि रुँदै गरौंला, अहिलेलाई पीडित किशोरीका लागि आँसु खसालियोस् !
प्रतिक्रिया