प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन: वर्षमान पुन



तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले चाहँदैमा संसद् विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ । पूर्वमन्त्री पुनले शनिबार तनहुँको दमौलीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनसंगठनको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वेच्छाचारी प्रक्रियाबाट संसद् विघटन गर्ने अधिकार संविधानमा नभएको बताउनुभएको हो ।

जनताको दुई तिहाइ बहुमत लिएर सरकार चलाउने हैसियत नभएर संसद् विघटन गरेको आरोप उहाँले लगाउनुभयो । ५ वर्षका लागि दिएको जनमतका आधारमा सरकार चलाउने हैसियत प्रधानमन्त्री केपी ओलीसँग नरहेको उहाँको भनाइ थियो । जनताले ५ वर्षको स्थिर सरकार चलाउन दिएको म्यान्डेटसम्म चलाउन नसक्ने भएपछि आफ्नै घर भत्काउनतर्फ प्रधानमन्त्री लागिपरेको उहाँको आरोप छ ।
‘मलाई अप्ठेरोमा पारियो, काम गर्न दिइएन भन्ने, के काम कस्तो काम गर्नका लागि सांसदहरुले छेकेका थिए स्पष्ट राख्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’ –उहाँले भन्नुभयो । प्रधानमन्त्रीले जनताको मत पाउने लालसामा सधैं झुक्याउँदै आएको उहाँले बताउनुभयो ।

जनताको मत संगाल्नकै लागि अहिले प्रधानमन्त्रीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै भ्रममा पारेर झुक्याउने गतिविधिमा लागिपरेको उहाँको भनाइ छ ।देशको लोकतन्त्रिक प्रजातन्त्र र सार्वभौमसत्तालाई नै एकलौटी ढंगबाट चलाउन खोज्ने प्रधानमन्त्रीको अतिवादी क्रियाकलापले देशलाई संकटमा पु¥याएको उहाँले बताउनुभयो । ‘देशको सर्वेसर्वा प्रधानमन्त्री ओलीलाई बनाउनु मकैको गोठालो बाँदरलाई राखेसरह भएको छ।’ –पूर्वमन्त्री पुनले भन्नुभयो । उहाँले जनताको मतले बनेको संविधान र उपलब्धिहरुलाई बचाउने प्रयासमा लागिपरेको बताउनुभयो ।

अन्यरास्वियुका पूर्वकेन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर उल्टो बाटो तय गरेको बताउनुभयो । प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमले गणतान्त्रिक संसद्को विरोधी पुष्टि भएको उहाँले बताउनुभयो । जनता जागिरहेको भन्दै पार्टी एकता नै अप्राकृतिक तवरबाट भएको उनको दाबी थियो । प्रधानमन्त्रीले पार्टीभित्रको कलहलाई मिलाउनुको सट्टा आगो लगाएर घरबार बिगार्नतर्फ लागिपरेको उहाँको भनाइ छ । लोकतन्त्रको चीरहरण गर्न प्रधानमन्त्री स्वस्थ रहे पनि पार्टीको विवाद मिलाउन भने नसकेको उहाँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्