ओलीले गालीगलौजको शैली त्यागेकै हुन् ?

भव्य र सभ्य सभा, उपत्यका इन्चार्ज मन्त्री श्रेष्ठलाई स्याबासी !



न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले तीन लाख नागरिक उपस्थित गराउने दाबी गरी शुक्रबार नारायणहिटीअगाडि आयोजना गरेको आमसभालाई धेरैले विभिन्न कोणबाट आलोचना गरे पनि तुलनात्मक रुपमा प्रधानमन्त्री ओलीले सन्तुलित भाषण गरेको, विपक्षीलाई गाली गरेर दर्शकलाई मनोरञ्जन दिने हल्का शैली त्यागेकामा प्रशंसा पनि गरेका छन् ।

मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म राजधानीको आवागमन प्रभावित भएकोमा सवारीसाधनमा सवार व्यक्तिहरु सर्वाधिक आक्रोशित देखिए । ‘सडक हिँडडुल गर्नका लागि हो, सडकमै सभा गरेर जनतालाई दुःख दिने काम विरोधी दलहरुले गरे पनि सरकार स्वयम्ले यसो गर्न नहुने’ शुक्रबार यस खालका अभिव्यक्तिहरु आम नागरिकबाट व्यक्त भएको सुनियो ।सभामा भावुक भएर आँसु खसाल्ने प्रधानमन्त्री ओली र विशाल जनसभाको व्यवस्थापन गरिदिने शिक्षामन्त्री तथा नेकपा उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठलाई भाषण सुन्न भेला भएका नागरिकहरुले स्यावासी दिएको पनि देखियो । ‘नियत त ओलीको पनि खराब देखिन्न, नेकपा ओली पक्षप्रति जनताको विश्वास नै नभए श्रेष्ठले हजारौं–हजारको उपस्थिति गराउन सक्ने थिएनन्।’ –दर्शक–स्रोताहरुको टिप्पणी थियो ।
मन्त्री श्रेष्ठले ‘ओली र सूर्य जहाँ, नेकपा त्यहाँ’ भनेर भाषण गर्दा सहभागीहरुले लामो ताली पिटेका थिए । प्रधानमन्त्री ओलीले आम जनताको समृद्धि र मुलुकका विकासबाहेक आफ्नो अर्को कुनै स्वार्थ नरहेको जानकारी गराउँदा दर्शक–स्रोताहरुले ठूलो उत्साह देखाएका थिए ।

खास गरी विगतका भाषणमा नेकपाको अर्को खेमा जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गर्नुभएको छ, त्यसको आलोचना गरेर बढी समय लगाउने प्रधानमन्त्री ओलीले गालीको मात्रा घटाएको देखेर दर्शकले ‘मुलुकको जिम्मेवार कार्यकारीको परिचय दिन खोजेको’ टिप्पणी पनि गरे ।पछिल्लो समय ओलीमा परिवर्तन आएको विश्लेषण शुक्रबार नारायणहिटी अगाडिको भाषण सुन्न नगएकाहरुले पनि गरेका छन् । १२ माघमा पशुपतिनाथ पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ती बालेको र २३ माघमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको उद्घोषले एकसाथ ‘कम्युनिस्टहरु धर्म मान्दैनन्’ भन्ने पूर्वपञ्चको प्रचार र ‘ओली संघीयताविरोधी हुन्’ भन्ने प्रचण्ड–नेपाल समूहको दाबीलाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।‘चितवनको भरतपुर पुगेर स्वस्ति शान्ति गराउने ओलीलाई नास्तिक भन्न सकिन्न’ भाषण शुरु हुनुअघि झुण्ड–झुण्डमा गफ गर्नेमध्येका एक ज्येष्ठ नागरिकको टिप्पणी थियो ।

सभामा ओलीले तीन वर्षभित्र आफूले गरेका कामको फेहरिस्त सुनाउनुभयो । उहाँले डबल लेन, फोर लेन र सिक्स लेन गरी ६ हजार किलोमिटर सडक कालोपत्रे बनाएको दाबी गर्नुभयो । चार सयभन्दा बढी पुल, चार सय नै झोलुंगे पुल निर्माण गरेको, चार सयभन्दा बढी तुइन विस्थापित गरेको दाबी गर्नुभयो ।सरकारमा आउँदा सडकभरि सडक बालबालिका रहेको उल्लेख गर्दै सडक मानवविहीन समाज बनाएको दाबी पनि उहाँको थियो ।नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्दा आफूलाई उडाइएको स्मरण गर्दै उहाँले नागरिकलाई भोकबाट मुक्त गराएको, कोभिड–१९ बाट भोकभोकै बनेका नागरिकलाई खाना वितरण गरेको, समृद्ध नेपाल र सुखी नेपाली बनाइछाड्ने लक्ष्यतिर अघि बढेको जानकारी पनि गराउनुभयो ।

नेपाललाई भूपरिवेष्ठितबाट भूलिंक बनाएको, उत्तरबाट अझै नाका खोलेको र दक्षिणबाट थप बन्दरगाह लिइएको, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बन्न लागेको, चाँदनी–दोधारामा सुक्खा बन्दरगाह निर्माण हुँदै गरेको लगायतका प्रसंग मात्र उठाउनुभएन, तराईमा डुबानको समस्या हटायौं, पूर्वपश्चिम रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्ग निर्माण अगाडि बढायौं पनि भन्नुभयो ।मांसाहारीको सन्दर्भ निकालेर प्रचण्डलाई, जनताका घर–घरमा गएर भोजन गरेर सामाजिक सञ्जाल सजाउने प्रधानमन्त्री भनेर डा. बाबुराम भट्टराईलाई अलिकति आलोचना गरे पनि प्रधानमन्त्री ओली शुक्रबार निकै सभ्य र जिम्मेवार देखिनुभयो ।

प्रतिक्रिया दिनुहोस्