सिमसार क्षेत्रलाई जोगाउन एकजुट हुनुपर्नेमा मन्त्रीको जोड

0
Shares

विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले ती क्षेत्रको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंगलबार आयोजना गरेको विश्व सिमसार दिवसको अवसरमा मन्त्री आलेले हाम्रा संस्कृतिको पहिचान गर्न तथा जैविक विविधताको संरक्षणका लागि भए पनि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिमसार क्षेत्र मासिँदै गएका छन्, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षणका लागि भए पनि सिमसार जोगाउनु जरुरी भएको छ ।’

मन्त्री आलेले सिमसार क्षेत्र सँगसँगै राष्ट्रपति तराई चुरे संरक्षण क्षेत्र पनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी भएको बताउनुभयो । सिमसार क्षेत्र तथा राष्ट्रपति तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहम् भूमिका खेलिरहेको उहाँको भनाइ थियो ।

सिमसार क्षेत्र तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको व्यवस्थापन गर्ने तयारी गरेको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा वन तथा वातावरण सचिव डा. विश्वनाथ ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट बिभिन्न प्रयासहरु जारी रहेको जानकारी दिनुभयो । सिमसार सँगसँगै पानीको पनि संरक्षण हुनुपर्ने सो कार्यक्रमका अर्का वक्ता तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालमा पानीको बढी खपत छ, पानी र सिमसारलाई सँगसँगै राखेर संरक्षण गर्नु जरुरी देखिन्छ ।’

वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट थप बजेट विनियोजन गरी कर्मचारी खटिनुपर्ने धारणा राख्नुभएको थियो । यो वर्ष ‘पानी र सिमसार ः जीवनको अभिन्न आधार’ भन्ने मूल नारासहित दिवस मनाइएको हो ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ । सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको बासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो ।

यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए । नेपाल भने औपचारिकरुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको पाइएको छ ।

विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन्, जसअन्तर्गत घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे–फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौवटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् ।

पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी करिब चार हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेका छन् । नेपालले पनि सिमसार क्षेत्रको महŒव आत्मसात् गर्दै विसं २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई विसं २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो ।

त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । यस्तै राष्ट्रिय सिमसार नीति, विसं २०५९ अनुसार नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४ सय ६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ भन्ने बुझिने गरेको विज्ञहरु बताउँछन्