सर्वोच्च बारलाई जग्गा उपलब्ध गराउने प्रधानन्यायाधीशको वचन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि निकट भविष्यमा नै जग्गा उपलब्ध गराउने बचन दिनुभएको छ ।सर्वोच्च बारको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानन्यायाधीश राणाले उक्त बचन दिनुभएको सो बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको हालको भवन वरपर नै सर्वोच्च बारका लागि जग्गा उपलब्ध गराउन पाए उपयुक्त हुने पनि बताउनुभएको थियो । सर्वोच्च अदालतका कायममुकायम मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई कहाँको जग्गा उपलब्ध गराउने भन्नेसम्बन्धमा अध्ययन गर्न पनि प्रधानन्यायाधीशले निर्देशन दिनुभएको थियो ।

उहाँले भन्नुभयो– ‘यो कार्यसमिति नयाँ भवनमा सरेको देख्न मलाई मन छ ।’यसै गरी प्रधानन्यायाधीश राणाले नेपाल बारका लागि पनि नयाँ भवन आवश्यक भएकाले त्यसका लागि पनि आफूले जग्गा खोजिरहेको जानकारी दिनुभएको थियो । नेपाल बारको हालको भवननजिक रहेको पुरातŒव विभागलाई सो ठाउँबाट हटाउने निश्चित भएको जानकारी दिँदै उहाँले सर्वोच्चका लागि नयाँ भवन बनाउन टेन्डर आह्वान भइसकेको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश राणाले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको विकृति विसंगति विरुद्धको समितिले दिएको प्रतिवेदनअनुसार कार्य गर्न आफू लागेको स्पष्ट पार्नुभएको छ । उहाँले सो समितिले हाल कार्य गरिरहेको उल्लेख गर्दै समितिले प्रतिवेदन दिएपछि त्यसलाई कार्यान्वयन गर्न सबै पक्षको सहयोग चाहिने जनाउनुभएको थियो ।

प्रधानन्यायाधीश राणाले सर्वोच्चमा पार्किङको अवस्था अप्ठेरो रहेको स्विकार्दै पहिले घोडा तबेला रहेको स्थानमा मिलाउन सकिने भए पनि त्यसको व्यवस्थापन गर्न लाखांै खर्च हुने भएकाले केही अप्ठेरो हुने उल्लेख गर्नुभएको थियो । न्याय क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्न बार र बेन्च दुवैको सहकार्य उत्तिकै आवश्यक भएको पनि स्मरण गराउनुभएको थियो ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले देशमा आएको अहसज परिस्थितिको सर्वोच्चले उपयुक्त ढंगबाट निराकरण गर्नेमा विश्वास व्यक्त गर्नुभयो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले न्यायिक मूल्य र मान्यता जोगाउन न्यायालय र बार दुवैको प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो ।