नेपालको इगो भण्डारीदेखि ओलीसम्म !

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य केशव बडालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को महत्वकांक्षा र माधवकुमार नेपालको ‘इगो सेन्ट्रिक’ मानसिकताका कारण पार्टी विभाजनको अवस्था उत्पन्न भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै नेता बडालले पार्टी विभाजनमा प्रचण्डको मात्र दोष नभई मुख्यतः माधव नेपालको इगोले काम गरेको उहाँले जिकिर गर्नुभयो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगको माधवकुमार नेपालको इगो केपी ओलिसम्म आइपुग्दा आजको पार्टी एकता कमजोर बनेको उहाँले बताउनुभयो । ३८ वर्षदेखि एउटै कमिटीमा बसेर काम गरेको स्मरण गर्दै बडालले नेता नेपालको इगो सेन्ट्रक विगतका सन्दर्भहरुको खुलाशासमेत गर्नुभयो ।

सीपी मैनाली महासचिव हुँदादेखि उहाँको हालिमुहाली शुरु भयो, त्यसपछि जेएन कम्रेड महासचिव हुँदा पनि तालासाँचो आफ्नै हातमा राख्नुभयो’, बडालले भन्नुभयो– ‘मदन कम्रेड नेतृत्वमा आएपछि उहाँको हालिमुहाली चल्न छाड्यो अनि इगो र कुण्ठाग्रस्त मानसिकता उहाँमा हाबी भयो ।’

पाँचांै महाशिवेशनका बेला मदन भण्डारीले प्रकाशन गरेको जबजको वैचारिक पुस्तक वितरण गर्नसमेत नेपालले रोकेको बडालले खुलासा गर्नुभयो । जेएनले त जबजलाई दक्षप्रजापतिको टाउको भनेर सार्वजनिकरूपमै भनेको उहाँ स्मरण गर्नुहुन्छ ।

बडालका अनुसार अन्ततः जबजको लाइन पास भएपछि मदन भण्डारीलाई ज्यान मार्नेसम्मका धम्की आउन थाल्यो । ‘मदन कम्रेडले सुरक्षा माग्नुभयो, माधव नेपालले घुमाउरो पारामा इन्कार गरेपछि उहाँलाई हामीले गुमाउनुपर्यो ।’ –उहाँले भन्नुभयो ।

आठौं महाधिवेशनमै नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने निर्णय भए पनि नेपालले नवौं महाधिवेशनमा उम्मेदवारी दिएको बडालको कथन छ । चुच्चे नक्सा पास गर्न सबै दललाई सहमत गराएर पास गरेपछि प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने षड्यन्त्र भएपछि संसद् विघटन र नयाँ निर्वाचनका लागि प्रधानमन्त्रीले कदम चालेको बडालले दाबी गर्नुभयो ।