‘ताइवानको स्वाधीनताको अर्थ नै युद्ध हो’– चीन


बेइजिङ, (एजेन्सी)

चीनले शनिबार ताइवानलाई स्वाधीनताका लागि गरिने कुनै पनि प्रयासको अर्थ ‘युद्ध शुरू’ हुनु हो भन्दै चेतावनी दिएको छ । टापुको स्वरूपमा रहेको ताइवाननजिक चीनले आफ्नो सैनिक गतिविधिहरू बढाउँदै लडाकु विमानहरू उडाउन थालेको केही दिनपछि नै चीनको यो चेतावनी सार्वजनिक भएको हो ।

साथै, अमेरिकाको नयाँ राष्ट्रपति जोय बाइडेनले ताइवानप्रतिको आफ्नो समर्थनमा प्रतिबद्धता जनाउ“दै एसियामा आफ्नो अडान कायम रहने बताएपछि चीनले यसरी ताइवानलाई चेतावनी दिएको हो ।

अमेरिकाले चीनको पछिल्लो कदम निकै दुर्भाग्यपूर्ण रहेको भन्दै तनावकै कारण द्वन्द्व निम्तिन नहुने पनि बताएको छ ।चीनले पहिलेदेखि नै ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्दै आएको छ । तर, ताइवानले भने आफूलाई आफ्नै संविधान, सेना र निर्वाचित नेताहरू भएको एक सार्वभौम राष्ट्रको रूपमा लिने गरेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूका अनुसार ताइवान सरकार औपचारिक रूपमा स्वाधीनता घोषणा गर्न गइरहेको ठानेर चीन निकै चिन्तित रहने गरेको छ । चीन ताइवानका राष्ट्रपति त्साई इंग–वेनलाई त्यस्तो कुनै कदम नचाल्न चेतावनी दिन चाहिरहेको पनि बताइएको छ ।

तर, राष्ट्रपति त्साइले यसअघि नै पटक–पटक ताइवान पहिलेदेखि नै स्वाधीन मुलुक रहेकाले कुनै औपचारिक घोषणाको आवश्यकता नै नरहेको बताउँदै आएका छन् ।

बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु क्वियनले ताइवान नजिकको पछिल्लो सैनिक अभ्यासहरू ताइवान जलडमरुमा देखिएका वर्तमान सुरक्षा व्यवस्थालाई सम्बोधन गर्न र राष्ट्रिय सार्वभौम र सुरक्षाको बचावटका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

उनले अगाडि भनेका छन्, ‘बाह्य हस्तक्षेप र ताइवान स्वतन्त्र फौजले निहुँ खोज्ने गरेका कारण सौम्या र गम्भीर प्रतिक्रियाको रूपमा मात्र ती सैनिक अभ्यास गरिएका हुन् । हामी ताइवान स्वाधीनताका तत्वहरूलाई चेतावनी दिन चाहन्छौं । आगोसँग जिस्किन खोज्नेहरू आफैं जलेर नष्ट हुनेछन् । ताइवानको स्वाधीनताको अर्थ नै युद्ध हो ।’

सन् १९४९ मा चीनको गृहयुद्ध अन्त्य भएदेखि नै चीन र ताइवानको छुटाछुटै सरकारको व्यवस्था हुन थालेको हो । बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय क्रियाकलापहरूलाई सीमित पार्न खोजिरहेको हो । विश्वका केही थोरै मुलुकले मात्र ताइवानलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् ।