कोभिड–१९ खोपको अनुभव ‘डराउनुपर्दैन, हामीमा कुनै असर देखिएन’

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

कोरोना महामारी नियन्त्रण गर्न पर्वतमा अग्रपंक्तिमा खटिएकाहरुले कोरोना खोप लगाउँदा कुनै असर (साइड इफेक्ट) नदेखिएको बताएका छन्। भारतले निःशुल्क उपलब्ध गराएको खोप पर्वतमा पनि बुधबार लगाइएको हो। पहिलो चरणमा खोप लगाएकाहरुले असर नदेखिएकाले नडराउनसमेत आग्रह गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेकालाई खोप लगाइएको छ। उनीहरुमा खोपको कुनै असर देखिएला वा नदेखिएला भनेर पर्खिरहेका नागरिकको बीचमा खोप लिएकाहरुको अनुभवले अन्य व्यक्तिहरुलाई समेत खोप लगाउन तयार हुन सन्देश दिएको छ।

अन्य जिल्लामा जस्तै पर्वतमा पनि कोरोना संक्रमणको पुष्टि भएकाहरुलाई ओसारपसार गर्न तथा संक्रमण रहेको अवस्थामा मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न अग्रपंक्तिमा रहेर नेपाली सेना खटिएको थियो। यही कारण पहिलो चरणको खोप अभियानमा खोप लगाएका केबलजंग गुल्म पर्वतका सेनानी रमेश थापाले पनि लगाउनुभयो ।

खोपको प्रभावबारे कुरा गर्दा उनले आफूमा कुनै पनि ‘साइड इफेक्ट’ नरहेको, बरु अब कोरोनालाई जितेर बाँच्न सकिन्छ भन्ने आशा जगाएको अनुभव सुनाउनुभयो । ‘मसहित सेनाबाट हामी चार जनाले लगाएका हौं, हामीमा कुनै पनि खालको फरक फिलिङ भएको छैन, नेपालका लागि पहिलो भनेर हामी डराएका छैनौं, किनकि वैज्ञानिकद्वारा परीक्षण गरिएको खोपलाई सरकारले मान्यता दिएर मात्र ल्याएको हो’, उहाँले भन्नुभयो– ‘यसले ममा कति शक्ति बढायो भन्ने त भर्खरै थाहा हुने कुरा भएन, यसले गरेको काम विस्तारै थाहा होला, खोपमा विश्वास गर्नुपर्छ, खोप पाउनु हामी नेपालीको लागि खुसीको कुरा हो।’

पर्वतमा पहिलो खोप लिएका स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम पनि खोपले अबको केही दिनमा आफूमा प्रतिरक्षा प्रणालीको थप विकास गर्नेमा ढुक्क भएको सुनाउनुहुन्छ । खोपको बारेमा ‘ओरियन्टेसन’ गर्ने जिम्मेवारी नै आफ्नो भएको बताउँदै उहाँले अरुलाई यसको बारेमा जान्न सजिलो होस् भनेर नै आफूले शुरुमा नै खोप लगाएको हुँ भन्नुभयो ।

‘स्वास्थ्यकर्मीले समेत यो खोप के होला र कसो होला भनेर शंका भइरहेको बेलामा उहाँहरुलाई ढुक्क बनाउनकै लागि पनि मैले शुरुमा नै खोप लिनुपर्ने थियो। पहिलो पटक भएका कारण डर त्रास हुनु अस्वाभाविक पनि होइन’, उहाँले भन्नुभयो– ‘अब हामीलाई केही नभएपछि अरुमा पनि आत्मविश्वास बढ्ने छ। अरुलाई पनि अब खोप लगाउन मन लाग्ने छ।’

विश्व स्वास्थ्य संगठनले खोपको दोस्रो डोज लगाएपछि ७१ प्रतिशत ‘इम्युनिटी पावर’ बढाउँछ भनेकाले त्यसको अनुभव गर्न आफू प्रतीक्षारत रहेको डा. गौतमको भनाइ छ। खोप लगाएपछि आफू सुरक्षित छु भन्ने अनुभव भएको बताउँदै उहाँले खोप लिए पनि ‘हेल्थ प्रोटोकल’ मिच्न भने नहुने सुझाव दिनुभयो ।