४४१ को बहुमत जता छ उही मूल पार्टीे ः नेपाल

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहद्वारा बिहीबार बुटवलमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्यलाई मात्रै मान्यता दिएकोले आफूहरू नै आधिकारिक भएको दाबी गर्नुभएको हो ।

‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो।’ –नेपालले भन्नुभयो । नेता नेपालले आफूहरूको पक्षमा देशैभरि लहर रहेको बढेको दाबी गर्नुभयो ।

पार्टीका सच्चा नेताकार्यकर्ताहरु आफूहरुसँगै रहेको दाबी गर्दै नेपालले ओलीको जालझेलमा फसेका र केही सीमित स्वार्थीहरु मात्रै केपी ओलीको प्रतिगमनको पक्षमा रहेको बताउनुभयो । प्रधानमन्त्री ओली जनताको खुसी र मुलुकको समृद्धिमा भन्दा अरुलाई घोचपेज बदख्वाइँमा रमाउने गरेको भन्दै नेपालले ओलीको तानाशाही बन्ने सपनाकै कारण पार्टी फुटेको बताउनुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनका विरुद्ध तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच संयुक्त आन्दोलन गर्ने सहमति गरेर आउँदा ज्ञानेन्द्रका विरुद्ध आन्दोलन! भन्दै वयलगाडा चढेर अमेरीका पुगिन्न भन्ने टिप्पणी गर्ने ओलीले आफ्नो चाहनाविपरीत आएको संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्न लागिपरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको ज्यादती बयान गरेर साध्य नभएको भन्दै उनले उनका ज्यादतीबारे लेखिएको डायरी देखाउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेकै कारण पार्टी विभाजन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीको निरंकुश शासक बन्ने लालसा पूरा नहुने दाबी गर्नुभयो ।

‘म आफैले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्विकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ।’ –प्रचण्डले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिने विश्वास व्यक्त गर्नुभयोे ।

‘मलाई विश्वास छ, अदालतले संसद् पुनस्र्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ ।’ दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै प्रचण्डले यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको निरंकुशता केही महिनामै अन्त्य हुने दाबीसमेत गर्नुभयो । त्यस्तै नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओली राजा र राणाको ‘निरंकुशताको प्रेत’का रुपमा खडा भएकोे बताउनुभयो । करोडौं जनता केही होइनन् पार्टी भनेको पनि मै हुँ, प्रधानमन्त्री भनेको पनि मै हुँ भन्ने ओलीको पतन असम्भावी छ।’ –नेता भुसालले भन्नुभयो ।