दोस्रो दिन २८ हजार ७ सय ३२ ले लगाए कोरोनाविरुद्धको खोप

0
Shares

काठमाडौं, (नेस)

कोरोनाविरुद्धको पहिलो चरणका खोप अभियानअन्तर्गत दोस्रो दिन २८ हजार ७ सय ३२ जनाले लगाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा कुल जम्मा २८ हजार ७ सय ३२ व्यक्तिहरुले खोप लगाएका छन् ।

दोस्रो दिन खोप लगाउनेहरु प्रदेश नं १ मा ३ हजार ८ सय ४७ जना, प्रदेश नं २ मा २ हजार १ सय ७४ जना, बागमती प्रदेशमा ११ हजार ४ सय ६१ जना, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३ जना, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएका र दोस्रो दिनसम्म खोप लगाएका व्यक्तिहरुमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले पहिलोचरणमा खोप प्राथमिकतामा राखेका निकायहरु स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरु, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु, महिला स्वास्थ्य स्वयंसेवकहरु, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, वृद्धाश्रममा रहेका व्यक्ति हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरुलाई मात्र खोप लगाउन व्यवस्था मिलाउन सबै खोप समन्वय, अनुगमन तथा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

सरकारी, गैरसरकारी, निजी, आइसोलेसन तथा क्वारेन्टिनमा कार्यरत प्रत्यक्ष सेवा दिने सेवा प्रदायकहरु, कर्मचारीहरु, कार्यालय सहयोगी, प्रशासनिक कार्यमा संलग्न कर्मचारी र सरसफाइमा सलग्न कर्मचारीहरु, सवारी साधन चालकहरुलाई पहिलो चरणको खोपको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पहिलो चरणको कोरोनाविरुद्धको खोप पहिलो दिन बुधबार ९ हजार ८४ जनाले लगाएका थिए ।