विद्यालय शिक्षाको विकासमा अघि बढ्न राष्ट्रपतिको निर्देशन

0
Shares

काठमाडौं, (नेस)

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । शीतल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रित भई अघि बढ्न निर्देशन दिनुभएको छ ।

उहाँले पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्ने गरी निर्देशन दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको उपस्थिति रहेको थियो ।

सरकारको चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठसहितको टोली बिहीबार शीतल निवास पुगेको थियो । छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले लक्ष्यअनुसार कार्यक्रमलाई अघि बढाउन सिङ्गो मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।

कार्यक्रमका बारेमा जानकारी गराउने क्रममा मन्त्री श्रेष्ठले हालसम्म गरेको कार्यप्रगतिको बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले कार्यक्रमको लक्षित बजेटअनुसार काम गर्न प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो । आयोगका अध्यक्ष डा. झाले बजेटमा उल्लेख भएका विषयलाई तत्काल कार्यान्वयन गर्नेगरी अघि बढाइनुपर्ने कुरामा जोड दिनुभयो ।

कोभिड–१९ का कारण गत आवमा कार्यान्वयन हुन नसकेको बजेट चालु आवमा कार्यान्वयन हुने गरी प्रक्रिया अघि बढाइएको छ । सो क्रममा सहसचिव डा. थपलिया र महानिर्देशक अर्यालले कार्यक्रमको उद्देश्य र मोडालिटीको बारेमा जानकारी गराउनुभएको थियो ।