बाँझोपनको उपचारका लागि वर्षौँदेखि मेरो क्लिनिकमा धाइरहेका पुरुष एकदिन करिब १८ वर्षकी किशोरी लिएर आए, मैले छक्क परेर सोधेँ, ‘ओहो !छोरी त कति छिटो यति ठूली पारिसक्नुभएछ त ?’ ५२ वर्षीय ती पुरुष पनि एकछिन् अकमकिए र भने, ‘छोरी होइन, डा. साब, यो त मेरी चौथी श्रीमती हो, यसको पनि बच्चा भएन र उपचार गर्न ल्याएको ।’ उनको कुराले मलाई दिक्क लाग्यो, रिस पनि उठ्यो । वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला लाकौल शाहले अगाडि भन्नुभयो, ‘उनी हरेक दुई–तीन वर्षपछि नयाँ श्रीमती लिएर ‘बच्चा भएन उपचार गर्नुपर्यो’ भन्दै आउने तर आफूचाहिँ उपचार गर्न नमान्ने प्रवृत्तिका थिए । त्यस बेला उमेरै नमिल्ने किशोरीसँग विवाह गरेर फेरि उपचारका लागि आएका थिए । तर मैले ती पुरुषको परीक्षण नगरी युवतीको उपचार नगर्ने अडान लिएँ ।
शिक्षण पेसामा रहेका उनी करिब २० वर्षअघि पहिलोपटक श्रीमती लिएर बाँझोपनको उपचार गर्न मेरो क्लिनिकमा आएका थिए । मैले श्रीमान्–श्रीमती दुवैको जाँच्नुपर्छ भन्दा उनले ‘म त ठीक छु, श्रीमतीको जाँचिदिनुस् न’ भने । श्रीमतीमा खासै समस्या थिएन, तर सन्तान भएन । केही वर्षपछि उनी दोस्री श्रीमती लिएर आए । मैले तपाईँको नजाँची श्रीमतीको जाँच्दिन भन्दा पनि मान्दै मानेनन् । उनीबाट पनि बच्चा भएन । केही वर्षपछि फेरि तेस्री श्रीमती लिएर उपचार गरिदिनु भन्दै आए । उसबाट पनि बच्चा भएन । मैले ती पुरुषलाई धेरै सम्झाएँ तर आफ्नो परीक्षण उपचार गर्न मान्दै मानेनन् । केही वर्षपछि उनी झन्डै ३४ वर्ष कान्छी किशोरीलाई मेरो चौथी श्रीमती हो भन्दै उपचार गर्न आएपछिचाहिँ मैले तपाईँलाई नजाँची श्रीमतीको उपचार नै शुरु गर्दिन भनेर कडाइका साथ भनेँ र श्रीमतीको कुनै परीक्षण नै शुरु गरिन । उनलाई धेरै सम्झाएपछि जाँच्न तयार भए । उनमा नै शुक्रकीटसम्बन्धी समस्या रहेको पाइयो । त्यसपछि बल्ल उनले आफूमा कमजोरी रहेको र धेरैपटक गल्ती गरेको महसुस गर्दै उपचारका लागि तयार भए । विभिन्न प्रविधिको प्रयोगबाट उपचार गरेपछि उनको सन्तान भयो । बाँझोपनको समस्या भोगेका धेरै पुरुषहरुले समस्या महिलामा मात्र हुन्छ भन्ने गलत विश्वास राखेका कारण बाँझोपनको उपचारमा समस्या हुने मात्र होइन, धेरै महिलाको जीवन नै कठिनाइपूर्ण बनिरहेको छ’ डा लाकौलले भन्नुभयो ।
आधा समस्या महिलामा, आधा पुरुषमा
बाँझोपन विश्वव्यापी समस्या नै हो । फरक यत्ति हो कि गरिब देशमा अलि बढी होला धनी देशमा अलि कम । विश्व स्वास्थ्य संघका अनुसार दम्पतीहरु १२ महिना वा सो भन्दा बढी समय सँगै बसेको र परिवार नियोजनको कुनै साधन नअपनाएको अवस्थामा चाहेर पनि बच्चा भएन भने त्यसलाई बाँझोपनको समस्या भनिन्छ । सो संघका अनुसार विश्वमा हाल करिब ४ करोड ८० लाख दम्पती बाँझोपनको समस्याबाट पीडित छन् । बाँझोपन पुरुषका कारणले वा महिलाका कारणले वा दुवैको संयुक्त समस्याका कारणले हुन्छ । कतिपय कारण भने अज्ञात नै पनि हुन्छ । विश्वव्यापीरुपमा प्रजनन उमेरका १५ प्रतिशत दम्पती बाँझोपनको समस्याबाट पीडित भएका हुन्छन् । डा. तुम्लाका अनुसार नेपालमा पनि बाँझोपनको स्थिति लगभग यस्तै छ । त्यसमा ५० प्रतिशत जति महिलामा बाँझोपनको समस्या भएको पाइन्छ भने ५० प्रतिशत जति पुरुषमा ।
महिलामा अण्डबाहिनी नली बन्द हुने, आवश्यक अण्ड उत्पादन नहुने वा गुणस्तरीय अण्ड उत्पादन नहुने, अण्डाशयमा सिस्ट हुने, जन्मजात नै पाठेघर सानो हुने वा विकास नहुने जस्ता समस्या देखिन्छन् भने पुरुषमा शुक्रकीटको संख्या कम हुने, गुणस्तरीय शुक्रकीट नहुने, शुक्रकीट नै नहुने समस्या देखिन्छन् । अण्डकोषमा पानीको फोका अर्थात् सिस्ट, ट्युमर हुने, संक्रमण वा यौन प्रसारित रोगहरु (STD) को कारणले पनि बाँझोपन आउँछ ।
बाँझोपनको समस्या महिला र पुरुषमा बराबरी नै हुने भए पनि बाँझोपनको सम्पूर्ण दोषचाहिँ महिलालाई नै लगाउने र पुरुषहरु उपचारका लागि नजाने समस्या रहेको छ । यसले गर्दा महिलाले समाजमा अनेक किसिमको अपमान र भेदभाव खेप्नुपरेको छ । बाँझोपनको समस्या महिला–पुरुषमा उत्तिकै जस्तो हुने भए पनि महिलालाई नै किन बढी दोष दिने गरिएको होला ? करिब ३५ वर्षदेखि महिला स्वास्थ्य तथा बाँझोेपनको उपचारमा सम्लग्न
डा. तुम्ला शाह भन्नुहुन्छ, ‘शायद पुरुषप्रधान देश भएकै कारणले होला बाँझोपनको समस्यामा पति मात्र होइन परिवार र समाजले पनि महिलालाई बढी दोष दिने गरेको छ । पुरुषहरुचाहिँ आफूलाई सधैँ फिट र स्वस्थ ठान्छन् र उपचारका लागि आउँदैनन् । उनीहरु म ठीक छु भनेर ओभर कन्फिडेन्ट देखाउँछन् । यसले गर्दा महिलालाई बढी समस्या हुने गरेको छ । उनीहरुले परिवारका अन्य सदस्यबाट पनि राम्ररी सहयोग पाएका हुन्नन् । यस्तोमा महिलाले महिलालाई सहयोग गर्नुपर्छ । सासू, नन्द, आमाजू, जेठानीले सही कुरा गरेर सहयोग गर्नुपर्छ । बाँझोपनको समस्या महिला र पुरुषमा बराबर नै हुने हुन्छ भनेर उपचारका लागि दुवैलाई प्रोत्साहित गर्नुपर्छ । एकजनाको मात्र उपचार गरेर समस्या समाधान हुँदैन भन्ने कुरा बुझाउन सक्नुपर्छ । यसरी नबुझाएसम्म महिलाले भेदभावको सामना गरिनै रहनुपर्ने हुन्छ ।’
बाँझोपनको समस्या भोगेका धेरै पुरुषहरुले समस्या महिलामा मात्र हुन्छ भन्ने गलत विश्वास राखेका कारण बाँझोपनको उपचारमा समस्या हुने ।
बिख माग्नेलाई सन्तान
बाँझोपनका कारण परिवार र समाजबाट भेदभावको सिकार भएकी एक महिलाको पीडा सुनाउँदै डा. तुम्लाले भन्नुभयो, ‘विवाह गरेको सात वर्षसम्म पनि सन्तान नभएपछि विभिन्न भेदभावको सामना गरिरहेको अवस्थामा मेरो क्लिनिकमा आएकी एक महिलाले मलाई भेट्नासाथ भनिन्, ‘डा साब मलाई औषधि होइन बिख दिनुस्, म मर्न चाहन्छु । बच्चा नभएको कारण धेरै यातना खप्नुपरेकोले म बाँच्न चाहन्न ।’ उनलाई धेरै सम्झाइ–बुझाइ गरेपछि उनले भनिन्, ‘बच्चा नभएको कारण म पूजामा चलिन, म विवाहमा जाँदा पनि मेरै कारण विवाह गरेका नवदम्पतीको पनि बच्चा हुँदैन भनेर त्यहाँ जानै दिएनन्, बच्चा नहुनु भनेको पूर्वजन्मको पाप हो भनेर घृणा गरे, त्यसैले मलाई बाँच्ने आँटै भएन ।’
‘समस्या सुनेपछि उनलाई धेरै सम्झाएँ, बाँझोपन हुँदा महिलालाई मात्र दोष दिएर भेदभाव गर्नु गलत विश्वास र अविवेकीपन हो । बाँझोपन पाप पनि होइन, अभिशाप पनि होइन, बाँझोपन भनेको शरीरको एउटा प्रक्रिया हो र यसको उपचार गर्न सकिन्छ भनेर सम्झाएपछि उपचारका लागि उनी तयार भइन् । डेढ वर्षको उपचारपछि बच्चा पनि भयो । उनको ठूलो समस्या पनि थिएन । ट्युब ब्लक थियो, त्यसलाई खोलियो । पतिको चाहिँ शुक्रकीटको संख्यामा कमी थियो, जुन उपचार गरेपछि ठीक भयो । वास्तवमा उनीहरुको साधारण उपचारबाट प्राकृतिकरुपमा नै बच्चा भएको थियो । बच्चा भएपछि उनी खुशीले गदगद भई घरको कोसेली बोकेर भेट्न आएकी थिएन् । बच्चा नभएको कारण जीवनसँग हार खाएर बिख माग्न आएकी महिला उपचारपछि बच्चा लिएर खुशी व्यक्त गर्न आएको देख्दा म पनि हर्षविभोर भएकी थिएँ’, डाक्टर तुम्लाले खुशी व्यक्त गर्दै भन्नुभयो ।
बाँझोपनमा वृद्धि
केही दशकयता बाँझोपनको समस्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ छ । वातावरणीय प्रभाव, खराब जीवनशैली जस्तोः धूमपान, अत्यधिक मदिरापान, अधिक मोटोपन आदि कारणले बाँझोपन वृद्धि भइरहेको विश्व स्वास्थ्य संघको भनाइ छ । अहिले बाँझोपनको समस्या वृद्धि हुनुमा अरु के–के कारण हुन सक्छन् त ? सुखी परिवार क्लिनिकको प्रमुखसमेत रहुनभएका डा. तुम्ला शाह भन्नुहुन्छ, ‘अहिले धेरैजसो महिलाहरुको फोकस क्यारियरमा छ । पढाइ सकिएको छैन, काम पाएको छैन वा राम्रो काम पाइसकेको छैन भनेर ढिलो विवाह गर्छन् । बच्चा पाउने उपयुक्त उमेर भनेको २० देखि ३० वर्ष हो । सो भन्दा ढिलो गर्दा बाँझोपन हुनसक्ने सम्भावना बढ्दै जान्छ । अर्कोतिर जीवनशैली परिवर्तन भइरहेको छ । व्यस्तता र दौडादौडले गर्दा मानिस सधैँ तनावमा हुन्छन् । मानसिक तनावका कारणले पनि बाँझोपन हुन्छ । खानपानमा फास्टफूड धेरै प्रयोग गर्न थालेका छन् । फास्टफूडभन्दा घरमा बनाएका स्वस्थ खाना नै राम्रो हुन्छ । प्याक गरेर लामो समय राखिएका मासु (फ्रोजन मिट) भन्दा ताजा मासु नै स्वस्थकर हुन्छ । जंक फूडको बढी प्रयोग र व्यायाममा कमीका कारण मोटोपनको वृद्धि भइरहेको छ । मोटोपन पनि बाँझोपनको कारण हो । मोटोपनको कारण महिलामा एकै पटक धेरैवटा अण्डाहरु तयार हुने तर गुणस्तर नहुने (पोलिसिस्टिक ओभरियन डिजिज) समस्या हुन्छ । यसका कारण पनि बाँझोपनको समस्या हुन्छ ।
आहार, आराम र व्यायाम पर्याप्त नहुँदा पनि बाँझोपन हुनसक्छ । बाँझोपनलाई यी तीनवटा कुरामा सुधार गरेर पनि घटाउन सकिन्छ । मानिसलाई आराम गर्न, व्यायाम गर्न फुर्सदै छैन, खाली काममा दौडिएका हुन्छन् । काम नभएका महिलाहरु पनि अधिकांश त मोबाइल समातेर सामाजिक सञ्जालमा व्यस्त भएका हुन्छन् । उनीहरु मोबाइल धेरै चलाउँछन् । यसको सट्टा व्यायाम गर्नु राम्रो हो । खेल्ने भन्ने त अहिले कता गयो कता ? खेलहरु नै हराउँदै गए । ध्यान गर्ने, मस्तिष्कलाई तनावरहित राख्ने, अरुलाई पनि समय दिएर सामाजिक तथा पुण्यको काम पनि गर्नुपर्छ । यसले स्वस्थ र सन्तुलित जीवन व्यतीत गर्न सहयोग पुग्छ ।’
शायद पुरुषप्रधान देश भएकै कारणले होला बाँझोपनको समस्यामा पति मात्र होइन परिवार र समाजले पनि महिलालाई बढी दोष दिने गरेको छ । पुरुषहरुचाहिँ आफूलाई सधँ फिट र स्वस्थ ठान्छन् ।
– डा. तुम्ला लाकौल शाह
बाँझोपनको उपचार
बाँझोपनले व्यक्ति र दम्पतीको जीवनमा नकारात्मक असर पारेको हुन्छ । त्यसमा पनि महिलाहरु बाँझोपनको कारणले हिंसा, सम्बन्धविच्छेद, सामाजिक विभेद, भावनात्मक तनाव, डिप्रेसन, चिन्ता र कमजोर आत्मविश्वासको सिकार हुने खतरा हुन्छ । बाँझोपनको कारणले व्यक्तिगत, पारिवारिक र सामाजिक समस्या मात्र नभई आर्थिक समस्या पनि सिर्जना गरिदिन्छ । त्यसकारणले पनि बाँझोपनको समस्या आउनै नदिन वा समयमै दम्पतीले नै उपचार गर्न आवश्यक छ । अहिले टेस्टट्युब बेबीलगायत संसारमा चलेका विभिन्न नयाँ प्रविधिबाट नेपालमै बाँझोपनको राम्रो उपचार हुनसक्छ ।
डा. तुम्ला भन्नुहुन्छ, ‘पहिला त हामीले पनि बाँझोपनका धेरै केस भारतमै पठाउँथ्यौँ । पछि हामीले नै तालिम लिएर आयौँ । अहिलेचाहिँ सबै कार्य यहीँ हुन्छ । सबै किसिमका प्रविधिबाट नेपालमै उपचार गर्न सकिन्छ । बाँझोपनको उपचारका लागि भारत वा अन्यत्र जानुपर्दैन । उपचार खर्च पनि भारत र नेपालमा धेरै फरक पर्दैन । आईभीएफ सेन्टरहरु धेरै भएकोले भारतमा प्रतिस्पर्धा हुन्छ र अलि सस्तो हुन्छ । तर भारतमा जाँदा, आउँदा, बस्दा खर्च धेरै हुने भएकोले उस्तै पर्न आउँछ । हामीकहाँ डाक्टरको फीभन्दा औषधिहरु अलि महँगो पर्न जाने भएकाले आईभीएफमा अलि फरक छ तर अरुमा उस्तै नै हो ।’
प्रजननसम्बन्धमा धेरै दम्पतीमा ज्ञानको कमी हुनु र स्वास्थ्य संस्थाहरुले राम्रो परामर्श दिन नसक्नाका कारणले पनि बाँझोपनको समस्या धेरै देखिएको चिकित्सकहरुको अनुभव छ । डा. तुम्ला भन्नुहुन्छ, ‘बाँझोपनको ५० प्रतिशत समस्या त विनाउपचार परामर्शबाटै हल गर्न सकिन्छ तर यसका लागि डाक्टरहरुले अलि बढी समय दिएर परामर्श सेवा बढाउन जरुरी छ । के कारणले बच्चा भएन र के गर्नुपर्छ भन्ने कुरा उनीहरुलाई बुझाउनुपर्छ, हतार–हतार गरेर पठाउनुभएन । यौनसम्पर्कका कुरा मात्र होइन, विवाहपछि पति–पत्नीले एक–अर्कोलाई राम्ररी नबुझ्ने समस्या छ । राम्ररी आपसमा नबुझ्दा एकले अर्कोलाई दोष दिने, झगडा गर्ने समस्या छ । महिलामा डिम्ब तयार हुने, सँगै बस्ने समय कहिले हो भन्ने बारेमा पनि उनीहरुलाई राम्ररी बुझाउनुपर्छ । यसरी बुझाएपछि परिणाम राम्रो भएको पाइएको छ ।’
पतिले ९ महिना बोके
‘करिब तीन महिनाअघि १३ वर्षका दुईजना बच्चा अचानक मलाई भेट्न आए । मैले के काम छ भनेर सोधेँ । उनीहरुले ‘हाम्रो आमा–बाबुको विवाह गरेको १७ वर्षपछि उपचार गरेर हामीलाई जन्म दिने डाक्टर को हो भनेर हेर्न आएको’ भने । मलाई ज्यादै खुशी लाग्यो । उनीहरुका बाबु–आमा राजधानी काठमाडौंनजिकैका बासिन्दा हुन् । विवाह गरेको १७ वर्षसम्म सन्तान नभएपछि मकहाँ उपचार गर्न आएका थिए । ती महिलामा गर्भ त रहने तर तुहिने समस्या रहेको थियो । धेरै पटक गर्भ खेर गएको रहेछ ।
उनको छिटो विवाह (१६ वर्षमै विवाह) भएको रहेछ । २० वर्ष नपुगी पाठेघर परिपक्व हुँदैन । त्यसैले २० वर्षभन्दा अघि विवाह, यौनसम्पर्क नगर्नु, गर्भवती नहुनु भनेको । आराम नपुग्नु, धेरैबेर उभिइरहनुलगायत मनोवैज्ञानिक कारणले पनि गर्भ खेर जाने समस्या हुन्छ । उनीहरुलाई मैले साधारण उपचार र परामर्श दिएँ । उनलाई मैले ९ महिनासम्म बेड रेस्ट गराएँ । त्यस बेला उनका पतिले ट्वाइलेट जाँदा पनि तेर्सो पारी बोकेर लाने गरेका रहेछन् । यसरी पत्नीलाई राम्रो सेवा दिने पुरुष पनि हुन्छन् । यो राम्रो उदाहरण हो । नौ महिनासम्म हिँड्न नदिएकाले बच्चा भएपछि उनी केही दिन खुट्टा नै टेक्न नसक्ने भएकी थिइन रे ! जे होस्, उनीहरुले स्वस्थ सन्तान पाए । छोरा र छोरी जुम्ल्याहा सन्तान भएका थिए । यसले उनीहरु मात्र होइन, म पनि ज्यादै हर्षित भएँ’, डा लाकौलले मुस्कुराउँदै भन्नुभयो ।
उपचारमा असमानता
हरेक व्यक्ति वा दम्पतीलाई सन्तान कति जन्माउने, कहिले जन्माउने र कति अवधिको ग्यापमा जन्माउने भन्ने निर्णय गर्ने अधिकार हुन्छ । बाँझोपनको उपचार गरेर व्यक्ति वा दम्पतीलाई सन्तान प्राप्ति गर्ने अधिकार हुन्छ । तर नेपालका विशेष गरी दुर्गम एवं ग्रामीण क्षेत्रमा पोषणको कमी, अरु रोगको उपचार कम हुने, अज्ञानता आदि कारणले बाँझोपनको समस्या धेरै छ । उनीहरुलाई नै गरिबी, यातायातको समस्या आदि कारणले गर्दा स्वास्थ्य उपचारमा राम्रो पहुँच हुँदैन । दुर्गम स्थानकाले नै महँगोमा सेवा लिनुपर्ने बाध्यता छ । यो समानताको हक विपरीत पनि छ । परिवार नियोजन (Family planning) भनेको बच्चा हुन नदिने सेवा मात्र नभई बच्चा प्राप्त गर्ने सेवा पनि हो । त्यसैले बाँझोपनको उपचार सेवाको पहुँच पनि ग्रामीण क्षेत्रसम्म पुर्याउन जरुरत छ ।
डा. तुम्ला भन्नुुहुन्छ, ‘परिवार नियोजनका सेवा र साधन ग्रामीण क्षेत्रसम्म निःशुल्क उपलब्ध भएजस्तै बाँझोपनको उपचार सेवा पनि उपलब्ध गराउनुपर्छ । अहिले प्रसूति गृहमा बाँझोपनको उपचार प्राइभेटमा भन्दा सस्तोमा गर्न थालिएको छ । एक ठाउँमा मात्र नभई नेपालभर यसको सेवाको पहुँच वृद्धि गर्नुपर्छ । हामीकहाँ परिवार नियोजन भनेको गर्भनिरोध गर्ने सेवा मात्र बुझ्ने गरिएको छ, जुन गलत छ । दुवै सेवा दिनुपर्छ ।’
प्रतिक्रिया