‘गुर्जाे’ चिया अभियानमा राजस्व प्रमुख

0
Shares

नेपाल समाचारपत्र, काभ्रे ।

आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट गुर्जाे अभियानमा सक्रिय हुनुभएको छ । हरेक कार्यक्रममा राजलवट गुर्जाेको चिया बोक्दै सहभागीहरुलाई वितरण गर्नुहुन्छ । आन्तरिक राजस्व कार्यालयले आयोजना गरेका कार्यक्रमहरुमा राजलवटले कार्यालयमै चिया पकाएर थर्मसमा बोकी सहभागीहरुलाई खुवाउँदै आउनुभएको छ ।

मंगलबार पनौती नगरपालिकामा आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा समेत प्रमुख राजलवटले सहभागीहरुलाई गुर्जाेको चिया खुवाउनुभएको थियो । यसअघि पतञ्जली योग समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा समेत गुर्जाे चिया खुवाउनुभएको थियो ।

गुर्जाेले नागरिकको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै आउनुभएको छ । उहाँको अभियानलाई जिल्लाका विभिन्न संघ–संस्था तथा सामाजिक अभियान्ताहरुले साथ दिएका छन् ।

प्रमुख राजलवटको अभियान जिल्लामा मात्रै नभई देशका विभिन्न भागमा सक्रिय छ । प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योगगुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ बिरामीहरु, कोरोनाको समयमा संक्रमित व्यक्तिहरु, आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई राजलवटले गुर्जाेको चिया सेवन गराउनुभएको छ ।

गुर्जाेसहितको धूलो औषधि तथा गुर्जाेको चिया प्याकेट राजलवटले निःशुल्क वितरण गरिरहनुभएको छ । शरीरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाइदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहीलाई समेत बुझाउँदै आउनुभएको छ ।