बाइडेनद्वारा झन्डै ३० वटा आदेश–पत्रमा हस्ताक्षर


वासिङ्टन, (एजेन्सी)

पहिल्यै वाचा गरेअनुरूप अमेरिकाका राष्ट्रपति जोय बाइडेनले कार्यकाल सम्हालेको केही दिनभित्रै झन्डै ३० वटा विभिन्न कार्यकारिणी आदेश–पत्रमा हस्ताक्षर गरेर आफ्नो कार्य चुस्तताको प्रमाण दिएका छन् । केही कार्य निकै प्रतिकात्मक छन् भने केहीले भावी कार्यको संकेत गर्दछन् । साथै, केही आदेश–पत्रले मुलुकको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा तत्काल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अहिलेसम्म बाइडेनले चालेका पा“चवटा महत्वपूर्ण कदम यस्ता छन् ।

राष्ट्रिय कोभिड नीति :

बाइडेनले अहिलेसम्म हस्ताक्षर गरेका झन्डै एकतिहाइ आदेश–पत्र कोरोना भाइरस महामारीसँग सम्बन्धित छन् । उनले यस समस्याप्रति संघीय जिम्मेवारी बढाउँदै छन् । यसअन्तर्गत खोप वितरण र खोप लगाउने कार्य तीव्र र व्यवस्थित बनाइने छ ।

गत मार्चयता अमेरिकी कंग्रेसले कोरोना भाइरस राहतका लागि ४ खर्ब डलरभन्दा बढी अनुमोदित गरिसकेको छ । डिसेम्बरदेखि शुरू भएको खोप अभियानमा खोप वितरण कार्यमा देखिएको ढिलाइ समस्या समाधान गरिने भएको छ ।

मास्कको आवश्यकता :

बाइडेनले राष्ट्रव्यापीरूपमा मास्कको अनिवार्यतालाई भने जोड दिएका छैनन् । शायद यो कार्य लागू गर्न असम्भव र विवाद बढ्न सक्ने हुनाले होला । तर, उनको ओदश पत्रमा विमानस्थल, विमानभित्र तथा ट्रेन र बसमा भने मास्क लगाउनुपर्ने उल्लेख गरिएको छ ।

साथै, संघीय कर्मचारीहरूले संघीय सार्वजनिक स्थलहरूमा मास्क लगाउनुपर्ने बताइएको छ । जनस्वास्थ्यलाई प्रतिकूल असर पार्नेगरी मास्कको प्रयोगविरुद्ध कुनै मूर्खतापूर्ण सन्देश प्रसारण गरिने छैन ।

कामदारका लागि कोभिड–१९ बाट राम्रो सुरक्षा :

बाइडेनको अर्को ओदेश पत्रमा मासु प्याकिङ गर्नेदेखि धेरै मानिसको जमघट हुने क्षेत्रमा कामदारहरूलाई संक्रमित हुन नदिने थोस स्वास्थ्य सुरक्षा उपाय अपनाइने उल्लेख गरिएको छ । यस विषयमा कुन नयाँ नियम लागू गरिएको छैन ।

तर, बाइडेनले पेसागत सुरक्षा, स्वास्थ्य प्रशासनको मापदण्डमा कडाइ विद्यमान सुरक्षासम्बन्धी नियम उल्लंघन गर्ने कर्मचारी तथा कामदारमाथि कारबाही गर्न निर्देशन दिएका छन् । अमेरिकामा अहिलेसम्म चार लाखभन्दा बढी मानिसको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

आवश्यक परेकालाई थप खाद्यान्न राहत :

बाइडेनले करिब १ करोड २० लाखभन्दा बढी परिवारलाई साप्ताहिक सुविधा वृद्धि गरेर संघीय खाद्यान्न उपलब्ध गराउ“दै छन् । यसबाट प्रत्येक परिवारलाई १५ देखि २० प्रतिशत सहयोग परिमाणमा वृद्धि हुने भएको छ । अर्थात् चार जनाको एक परिवाले थप ५० डलर प्रतिमहिना पाउने भएको छ ।

यो रकम थोरै भए पनि भोका बालबालिकालाई ख्वाउन सहयोगी हुने विश्वास गरिएको छ । साथै, बाइडेनले कामदारहरूलाई बेरोजगार बिमा लागि योग्य अर्थात् वैधानिक पनि बनाउन चाहेका छन् । महामारीको कारण असुरक्षित महसुस गरेर काम छाड्नेहरूका लागि यो बिमा काम लाग्ने हुन्छ ।

संघीय निष्कासन प्रतिबन्ध विस्तार :

बाइडेनले कसैलाई जबर्जस्ती निष्कासन गर्न नपाइने नियमलाई मार्च ३१ सम्मका लागि विस्तार गरेका छन् । यो नियमको म्याद ३१ जनवरीमा सकिँदै छ । साथै, भाडामा बसेकाहरूका हकहितका लागि अन्य कदमहरू पनि चालिँदै छ ।

तर, यो प्रतिबन्ध कानुनीरूपमा त्यति प्रभावकारी नरहेको पनि बताइएको छ । किन भने यसले भाडा तिर्न नसकेका सबैलाई घर वा पसलबाट निकालिनबाट भने रोक्न सक्तैन । न त यसले घरबेटी वा भाडावाललाई आर्थिक सहयोग नै गर्दछ । तर, यसले १ करोड ४० लाख मानिसलाई महामारीबाट सुरक्षित अन्यत्र बसाइ सर्न भुक्तानी दिन भने सहयोग गर्दछ ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले क्यापिटल भवनको कार पार्कमा भुइँमै सुतिरहेका नेसनल गार्डका सदस्यहरूको तस्वीर देखेपछि निकै दुःख प्रकट गरेका छन् । उनको शपथग्रहण कार्यक्रमको कडा सुरक्षाका लागि त्यहा“ २५ हजारभन्दा बढी फौज तैनाथ गरिएको थियो ।