झापामा लागूऔषधसहित चार पक्राउ

0
Shares

भद्रपुर, (नेस)

झापामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट सोमबार ९० सिसी लागूऔषधसहित दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी मेचीनगर नगरपालिका–६ को गैरीगाउँबाट पक्राउ परेको जिल्लाका डीएसपी राकेश थापाले जनाउनुभयो ।

राजवंशीले आफूले लगाएको ज्याकेटमा लुपिजेसिक ३० सिसी, डाईजोपाम ३० सिसी र प्रोमोथाइजिन ३० सिसी बोकेको उहाँको भनाइ छ । त्यस्तै, दमक नगरपालिका–१ बुद्धटोलका ३२ वर्षीय देवेन्द्र राई, गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम साह रहेको थापाले बताउनुभयो ।

उनीहरूका साथबाट २५ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट मे७प ९०८१ नम्बरको मोटरसाइकल, नगद ४ हजार र एउटा मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, झापा प्रहरीले लागूऔषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान पनि गरेको छ ।

जेल चलान हुनेमा गौरीगन्ज गाउँपालिका–६ का ३९ वर्षीय जयनारायण राजवंशी छन् । झापा जिल्ला अदालतले २०६४ मंसिर ३ गते राजवंशीलाई एक वर्ष कैद र ५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।