दोहोरो नागरिकता लिनेलाई कारबाही गर्न गृहको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई गृह मन्त्रालय र अनुसन्धान ब्युरोले दोहोरो नागरिकता लिएका वीरगन्ज महानगरपालिका–७ निवासी सोमेन्द्र सिंहमाथि कारबाही गर्न निर्देशन दिएको छ । भारत विहार राज्यको वैशालीस्थित हाजीपुर निवासी किशोर सिंहका छोरा सोमेन्द्र सिंहले नेपाल र भारत दुवै देशको नागरिकता राखेको उजुरी परेपछि अनुसन्धान गरिको थियो ।

दोहोरो नागरिकता लिएका सिंहलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरीलाई पत्राचार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सिंहले २०६३ चैत १२ गते टोलीबाट नागरिकता लिएका पाइएको स्रोतले दाबी गरेको छ । सिंह भारतको अहमदावादस्थित क्याडिला फर्मास्युटिकल्सको नेपालका लागि आधिकारिक विक्रेता हुन् ।

उनले पैसाको प्रभावमा चलखेल गरेर नेपाली नागरिकता प्राप्त गरेको बुझिएको छ । सिंह २०५४ चैत २८ गते भारतीय दूतावास लैनचौरमा आफ्नो नाम दर्ता गरी नेपाल प्रवेश गरेका थिए । त्यसपछि २०६३ मा टोलीबाट उनले पैसाको दममा नेपाली नागरिकता लिएको उनीविरुद्ध गरिएको उजुरीमा उल्लेख छ ।

अनुसन्धानका क्रममा तत्कालीन नागरिकता टोलीका प्रमुख राजकुमार अधिकारीले सिंहलाई जन्मको आधारमा नागरिकता दिएको पाइएको छ । नेपाली नागरिकताको आधारमा यातायात विभागबाट ०२.०५.००४११४६६ नम्बरको सवारीचालक अनुमतिपत्र तथा भारतमा जन्मेकी उनकी पत्नी मीना सिंहले पनि वैवाहिक अंगिकृत नागरिकता लिएकी छन् । २०६९ जेठ १६ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत सुकदेव लम्सालले सिंहकी पत्नी मीनालाई वैवाहिक अंगिकृत नागरिकता दिएको उजुरीमा उल्लेख छ ।

प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर सिंहले भारतबाट औषधि आयात गरी अवैधरूपमा नेपाली मुद्रा विदेश पठाउने गरेकोसमेत अनुसन्धान ब्युरोले अनुसन्धानको क्रममा फेला पारेको उजुरीमा जनाइएको छ ।