चोरीको रकम सुर्तीको खोलदेखि शरीरको भित्री अंगमा

0
Shares

विजय नेपाली, पोखरा ।

पोखराको अमरसिंहचोकमा दुई दिनअघि अर्थात् शुक्रबार दिउँसो केही भीडभाड थियो । सडक बनाउने कामका लागि पाल (टेन्ट) टाँगेर बसेका केही व्यक्तिको नजिकै दुई/नवटा पाल टाँगेर बसेका केही मधेसी मुलुकका देखिने व्यक्तिलाई प्रहरीले पक्राउ गरी लग्यो । यतिमात्र होइन उनीहरु बसेको टेन्टसमेत निकालेर अन्यत्र जान लगाइयो ।

पक्राउ पर्ने नेपाली थिएनन् । उनीहरु थिए भारतीय । भारतको विहार जोगवनीथाना घर भई अमरसिंचौरमा बसेका २५ वर्षीय सुवास बन्जडा, २५ वर्षीय सीतादेवी तिवारी र सोही उमेरका सोनु तिवारीलाई नगदसहित पक्राउ गरियो । शुक्रबार पोखरा चाउथेंकी ६५ वर्षीया वृद्धा बैंकबाट रकम झिक्न सभागृह चोक आइन् । उनले बैंकबाट रकमसमेत झिकिन् र सार्वजानिक बसमा घर फर्किइन् । उनलाई पछ्याएका केही अपरिचित व्यक्ति सँगैको सिटमा बसे ।

वृद्धाले खैरो रंगको ब्याग बोकेकी थिइन् । ब्यागमा १ लाख रुपियाँ राखेकी थिइन् । उनीसँगै बसेका भारतीयले उक्त रकम निकाले । वृद्धाले रकम हेर्दा देखिनन् । र घर नपुग्दै उनले प्रहरीमा खबर गरिन् । उनले शंकाको आधारमा हुलियासहित प्रहरीमा उजुरी दिइन् ।

जिल्ला वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै अमरसिंहचोकको चौरमा बसेका उनीहरुलाई खानतलासी लिए । एउटा सामान्य र झुत्रो पालमा बसेका उनीहरुको साथबाट नगद बरामद गरियो । प्रहरीले खानतलासी गर्दा उनीहरुले सुर्तीको खोलदेखि भित्री अंगमा पैसा लुकाएको भेटिएको थियो । उनीहरुको साथबाट नगद १ लाख १ हजार ७ सय ७० रुपियाँ बरामद गरिएको छ ।

‘हामीले नगद चोरी भएको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेका हौं ।’ –जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले भन्नुभयो । अमरसिंहचौरमा शंकको आधारमा चेक जाँच गर्दा उनीहरुको साथमा नगद बरामद भएको प्रवक्ता हमाल बताउनुहुन्छ । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।