निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई

0
Shares

दमौली ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले कांग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रस्ट पार्नुभयो ।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने उहाँले बताउनुभयो । “न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न कांग्रेस सदैव तयार छ”, उहाँले भन्नुभयो, “मुद्दाको टुङ्गो नलागेकाले कांग्रेसको धारणा यही हो भनेर भन्ने अवस्था छैन ।” “सर्वोच्च अदालतले जे सुकै निर्णय गरोस्, हाम्रो कुरा यो हो भनेर प्रचण्ड र माधव नेपालले पनि भन्नुभएको छैन भने कांग्रेसलाई अहिल्यै हतार किन रु”, उहाँले भन्नुभयो ।

नेता भट्टराईले संसद् पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने हो भने मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने धारणा व्यक्त गर्नुभयो । संविधान मिचिएकाले पुनस्र्थापना र निर्वाचनले मात्रै त्यसलाई सही मार्गमा ल्याउन सक्ने उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टीका नेताहरुको पदको लोभका कारण अहिलेको स्थिति सिर्जना भएको उहाँले आरोप लगाउनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला सचिव विश्व बाँस्तोला, नगरसभापति शान्तिरमण वाग्लेलगायतले सरकारको कदम गलत भए पनि कांग्रेस निर्वाचनबाट नभाग्ने प्रस्ट पार्नुभयो ।