ओली निकट नेकपाका युवाले गरे शक्ति प्रर्दशन, काँग्रेसद्वारा १३ वटै तहमा विरोध सभा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

नेकपा ओली निकटका युवाहरुले काभ्रेको बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थानमा मोटरसाईकल र्‍याली मार्फत शक्ति प्रर्दशन गरेको छ । जिल्ला संयोजक विक्रम चौलागाई र सह संयोजक राजकुमार श्रेष्ठ दुबै ओली समुहमा सक्रिय भए पछि जिल्लामा पहिलो पटक शक्ति प्रर्दशन गरेका हुन् । राजकुमार पुर्व माओवादी निकट वाईसिएलमा आवद्ध थिए भने चौलागाई एमाले निकट युवा संघका अध्यक्ष थिए । शक्ति प्रर्दशन पछि बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

कार्यकर्ता भेलालाई नेकपा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले युवाहरुलाई शशक्त रुपमा उभिन आब्हान गर्नु भयो । मुलुक र राष्ट्रको हितका लागि प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीको सामना गरी एउटा देश निर्भर हुनु पर्ने अवस्थाबाट मुलुकलाई हटाई विकल्प सहितको सम्झौता गरेको स्मरण गराउनु भयो । मुलुक निर्माण, समृद्धी, आत्मसम्मान, प्रगतिको बाटोमा अगाडी बढाउन निर्वाचनको विकल्प नभएको बास्कोटाले बताउनु भयो । ‘प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री हतार भएको छ, त्यसको आधार के हो ? चुनावबाट भाग्ने ?’–बास्कोटाले भन्नुभयो–‘ब्रम्हनालमा सुताएको मरेको लासलाई अस्पताल लगेर ब्युझाउँनु भने झै विघटित संसद पुनस्र्थापना हुनु पर्‍यो भनेर कराउनुको अर्थ छैन ।’ प्रचण्ड र माधव नेपाललाई थप प्रधानमन्त्री के को लागि चाहिएको हो ? भित्तामा फोटो झुण्ड्याउन कि ? अझै सिमा मिचाउन ?’– बास्कोटाले भन्नुभयो– ‘भित्तामा राष्ट्रपति भए झै तत्काल प्रधानमन्त्री हुने सपना भित्तामै सिमित हुनेछ ।’

नेता बास्कोटाले निर्वाचनको तयारीमा जुट्न युवाहरुलाई आब्हान गर्नु भयो । ‘अदालतबाट संविधान शंशोधन गर्न पाईदैन’–नेता बास्कोटाले भन्नुभयो–‘संवैधानिक विषयमा फैसला गर्न संवैधानिक इजलाशबाटै हो त्यो सर्वाेच्चले निर्णय गरिसक्यो । संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।’ देशको सिमा रक्षा गर्न, राष्ट्रियता जोगाउन केपी ओली नेतृत्वको सरकारले चालेको कदमको पक्षमा उभिन बास्कोटाले आग्रह गर्नु भयो । कार्यक्रममा नेकपा काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले बैचारिक संगठन निर्माणमा जोड दिदै चेतना र योजना भएका युवाहरु तयार गरी मुलुक निर्माणमा लाग्न युवाहरुलाई आब्हान गर्नु भयो । जिल्लाका १ सय ३५ वटा वडा, १३ वटा पालिका, चारवटा प्रदेश कमिटी र दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय कमिटी निर्माण गरी निर्वाचनमा होमिन अध्यक्ष ब्याञ्जुले युवाहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेल, केन्द्रिय सदस्यहरु पुर्व राज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, युवा नेताहरु, विद्यार्थी नेताहरु, जिल्लाका नेताहरुको सहभागिता रहेको थियो । अधिकांश बक्ताहरुले संगठनको गठन, पुर्नगठन र आम नागरिकसँग ब्यक्त प्रतिवद्धता पुरा गर्दै निर्वाचनको तयारी गर्न अनुरोध गरेका थिए ।

ठाउँ ठाउँमा भेला

नेकपा ओली समुह तथा प्रचण्ड माधव नेपाल समुहले विभिन्न स्थानमा भेला आयोजना गरेका छन् । दुबै समुहको काठमाडौमा शनिबार एकै पटक भेला आयोजना गरिएको थियो भने ओली समुहले पनौतीमा युवाहरुको भेला आयोजना गरेको थियो । प्रचण्ड माधव समुहले नमोबुद्धको भकुण्डेमा भेला आयोजना गरेको थियो ।

काँग्रेसले गर्‍यो १३ तहमा विरोध सभा

नेपाली काँग्रेसले जिल्लाका १३ वटै तहमा विरोध सभा आयोजना गरेको छ । पनौतीमा गरेको सभालाई नेपाली काँग्रेसका नेता रमेश लेखकले सम्बोधन गर्दै सर्वाेच्च अदालतको फैसला स्विकार गर्ने बताए । सर्वाेच्च अदालतको जस्तोसुकै फैसला आए पनि स्विकार्ने बताउँदै लेखकले नेपाली काँग्रेस लोकतन्त्रको पक्षपाती भएकाले निर्वाचनमा भाग्न नसक्नेब ताए । निर्वाचन नगरी धोका भयो भने त्यतिबेला काँग्रेसले आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिदै नेता लेखकले दुबै अवस्थाका लागि तयारीमा रहन अनुरोध गर्नु भयो । बनेपामा आयोजित सभामा केन्द्रिय सदस्य शिव हुमागाई लगायतका नेताहरुले संसद विघटन असंवैधानिक भएकाले जनता सचेत हुँदै असंवैधानिक कामको खवरदारी गर्नु पर्ने बताएका थिए ।