८० फर्मलाई जरीवाना

0
Shares

वीरगन्ज, (नेस)

वीरगन्जमा रहेको क्षेत्रीयस्तरको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले सामान खरिदमा बिल बिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फर्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपियाँ असुली गरेको छ ।

कार्यालयले पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फर्मलाई कारबाही गरी जरिवाना असुल गरिएको कार्यालयका सँचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।

यसैबीच विदेशी लेबल लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगन्ज महानगरपालिका– ६ रेशमकोठी चोकमा रहेको एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले छापा मारेर उद्योगलाई तीन लाख रुपियाँ जरिवाना गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले त्यस उद्योगमा छापा मार्दा उद्योगले अन्तर्राष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखेर उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।