गोकुल घोरसाइने, बारा
महेश न्यौपाने कोरोना भाइरस (कोभिड–१९) रोकथाम-न्यूनीकरणमा बारा जिल्लामा सक्रिय नाम हो। तर, कोरोनाले न्यौपानेलाई जस्तो पीडा शायद अहिलेसम्म अरु कसैलाई पनि दिएको छैन होला। महामारीबाट सर्वसाधारणलाई जोगाउने अभियानमा लाग्दालाग्दै उहाँ आफैं पनि संक्रमित हुन पुग्नुभयो। पीडा यतिमा मात्रै सीमित छैन, कोरोनाले आफ्नो अभिभावकलाई सधैँको लागि खोसेर लग्यो। आमा÷बुबा एकैपटक गुमाउनुपर्दा न्यौपाने परिवार गहिरो शोकमा परेको थियो।
तर पनि महेश न्यौपाने हतास हुनुभएको छैन। कोरोनाविरुद्धको लडाइँमा उत्तिकै सक्रिय हुनुहुन्छ। समुदायमा कोरोना जोखिम न्यूनीकरण गर्न न्यौपाने अहिले पनि साथीहरूसँग मिलेर स्वास्थ्य सुरक्षा सामग्री वितरण र जनचेतना जगाउने अभियानमा निरन्तररूपमा लागिपर्दै आउनुभएको छ। पछिल्लोपटक न्यौपानेकै पहलमा निजगढको एउटा सामुदायिक रोडियो स्टेसनका कर्मचारीहरूको लागि लायन्स क्लब निजगढ पिसले स्वास्थ्य सामग्री (हेल्थ किट) वितरणसमेत गरेको थियो।
महामारीबाट आफू र परिवारका सदस्यले जस्तो विपत्ति अरुले बेहोर्नु नपरोस भनेर फेरि पनि कोरोनाविरुद्धको अभियानमा सक्रिय बनेको न्यौपाने बताउनुहुन्छ। ‘कोरोनाले दिएको दुःख सम्झँदा पनि कहिलेकाहीँ ठूलो पीडा महसुस भएर आउँछ’, न्यौपाने भन्नुहुन्छ– ‘महामारी फैलिँदा कहिलेकाहीँ यस्तो अकल्पनीय क्षति पनि बेहोर्नुपर्दो रहेछ, यही सम्झेर मन बुझाउने प्रयासमा छु।’ व्यक्तिगत र पारिवारिक पीडालाई बिर्सेर समुदायलाई जोगाउने अभियानमा लागिपरेको उहा“को भनाइ छ। न्यौपाने भन्नुहुन्छ, ‘जीवनमा अरु कसैले पनि फेरि यस्तो क्षति बेहोर्नु नपरोस्।’
निजगढ नगरपालिका ८ निवासी न्यौपाने लायन्स क्लब, उद्योग वाणिज्य संघ, मन्दिर व्यवस्थापन समिति र वाणिज्य संघजस्ता व्यावसायिक र सामाजिक संंघसंस्थामार्फत कोरोना महामारीविरुद्धको लडाइँमा होमिदै आउनुभएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ को निवर्तमान जोन पर्सन न्यौपाने हाल निजगढ नगर उद्योग वाणिज्य संघको कोषाध्यक्ष र राष्ट्रिय वाणिज्य संघ निजगढ तथा स्थानीय कृष्णप्रणामी मन्दिर सञ्चालक समितिको उपाध्यक्षसमेत हुनुहुन्छ। त्यसै गरी अध्यक्ष पदमा रहेर उहाँले लायन्स क्लब अफ निजगढ सिटीलाई २ वर्षसम्म नेतृत्व प्रदान गरिसक्नुभएको छ।
निजगढ नगरमा महामारी रोकथाम र न्यूनीकरणको लागि न्यौपाने आबद्ध लायन्स क्लब र नगर उद्योग वाणिज्य संघको भूमिका अग्रणी छ। निजगढमा रहेको एउटामात्रै स्वाब संकलन बुथ लायन्स क्लब निजगढ पिसले नै स्थापना गरेको हो। न्यौपानेसहित क्लबका सदस्यहरूले ३५ हजार रुपियाँ सहयोग गरेर खरिद भएको उक्त बुथ हाल प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सञ्चालनमा छ। त्यसै गरी क्लबका सदस्यहरू स्वास्थ्यकर्मीको टोलीसहित नगरका विभिन्न वडामा पुगेर उहाँहरूले दर्जनौंपटक स्वास्थ्य शिक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै सर्वसाधारण र विभिन्न संघसंस्था एवं स्वास्थ्य कार्यालको लागि ठूलो परिमाणमा सुरक्षा सामग्री निःशुल्करूपमा वितरण गर्नुभएको छ। यो अवधिमा निजगढमा करिब ४ हजार थान मास्क, २५ लिटर सेनिटाइजर र स्वास्थ्यकर्मीका लागि १५ थान पीपीई सहयोग गरिएको क्लबका अध्यक्ष मनोज रेग्मीले जानकारी दिनुभयो। महामारी नियन्त्रणको लागि क्लबले आयोजना गरेको कार्यक्रमहरूमा न्यौपानेको भूमिका शुरुदेखि नै प्रशंसनीय रहेको अध्यक्ष रेग्मीको भनाइ छ। ‘सरकारले लकडाउन घोषणा गरेपछि संक्रमणको त्रासमा धेरै मानिसहरू घरबाहिर निस्कन पनि डराएका थिए’, अध्यक्ष रेग्मीले भन्नुभयो– ‘महेश अरु साथीभाइलाई पनि हौस्याएर कार्यक्रममा अघि–अघि लाग्नुुहुन्थ्यो।’
क्लबका अधिकांश कार्यक्रम न्यौपानेकै सहयोग र सल्लाहमा हुने गरेको रेग्मीको भनाइ छ। ‘स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न कुनै बेला पैसाको अभाव भयो भने पनि आफैं अग्रसर भएर निकाल्नुहुन्छ’, अध्यक्ष रेग्मीले भन्नुभयो। क्लबका गतिविधिमा न्यौपानेले अभिभावकीय भूमिका खेल्दै आएको पनि अध्यक्ष रेग्मी बताउनुहुन्छ।
त्यस्तै, नगर उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष रामकृष्ण नेपाल पनि वाणिज्य संघले कोरोना संक्रमण नियन्त्रणको लागि चलाएको गतिविधिमा न्यौपानेको सक्रियताको सराहना गर्नुहुन्छ। संघको एउटा जिम्मेवार पदाधिकारी (कोषाध्यक्ष) को रूपमा न्यौपानेले निर्वाह गरेको भूमिकाको नेपालले प्रशंसा गर्नुभएको हो। ‘अभियानमा सधैँ सक्रिय भएर लाग्नुभयो’, नेपालले भन्नुभयो– ‘समुदायलाई जोगाउन सकेमात्र आफू पनि संक्रमणबाट जोगिन सकिन्छ भन्ने भावनाले काम गर्नुहुन्छ।’
लायन्स क्लबजस्तै नगरमा कोभिड–१९ नियन्त्रणका लागि उद्योग वाणिज्य संघले पनि स्वास्थ्य सुरक्षा सामग्री वितरणदेखि सचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ। संघले नगरका विद्यालयका छात्रछात्रा, र शिक्षक, व्यवसायी र सर्वसाधारणको लागि स्वास्थ्य सुरक्षासम्बन्धी तालिम, गोष्ठी चलाएको छ। त्यसै गरी संघले नगरपालिकाका १३ वटै वडा कार्यालयहरूमा डिस्पेन्सरी जार र सरसफाइ सामग्री वितरण तथा आफ्ना सदस्य व्यवसायी र सर्वसाधारणका लागि ठूलो परिमाणमा मास्क, ग्लोब्स, स्यानिटाइजर, साबुनजस्ता स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ। लकडाउनको बेलामा पनि न्यौपानेसहित वाणिज्य संघको टोलीले पसल–पसलमा पुगेर कोरोनाबारे बच्ने उपायबारे लेखेर छापेको पर्चा÷पम्प्लेट व्यवसायीहरूलाई वितरण गरेको थियो।
त्यसै गरी संघले निजगढ नगरपालिकाले तयार पारेको पसल व्यवसाय सञ्चालन कार्यविधिअनुसार सुरक्षा सतर्कताका साथ व्यवसाय सञ्चालन गर्न÷गराउन तथा सोको अनुगमन गर्ने कार्यमा पनि संघको तर्फबाट उहाँहरूले ठूलो मेहनत गर्दै आउनुभएको छ। ‘यो सबै काममा महेशजीको योगदान ठूलो छ’, अध्यक्ष नेपालले भन्नुभयो– ‘नगरपालिका कार्यालय र स्थानीय विभिन्न सामाजिक संघसंस्थाको प्रयासमा निजगढमा महामारीले अहिलेसम्म त्यति ठूलो क्षति गर्न पाएको छैन।’
नेपालका अनुसार महेशले कोरोनाको प्रकोप शुरु भएपछि जहिले पनि सरसफाइ र सामाजिक दूरी कायम गर्ने कुरामा जोड दिँदै आउनुभएको थियो। आफ्नो स्वास्थ्य सुरक्षामा त झन् बढी ध्यान दिनुहुन्थ्यो’, संघका अध्यक्ष नेपालले भन्नुभयो– ‘विडम्बना, पापी कोरोनाले उहाँसँगै परिवारका सदस्यहरूलाई छोडेन।’
‘सुरक्षामा धेरै सचेत हुनुहुन्थ्यो, पसलको कारोेबारमा ग्राहकले दिएको नोटसमेत सेनिटाइजर गरेर कागजको काटुर्नमा अलग्गै राख्ने गर्नुहुन्थ्यो, सेनिटाइजर, मास्क, पञ्जा, साबुन–पानी र व्यक्तिगत दूरी सबै कायम थियो’, उहाँले भन्नुभयो– ‘त्यस्तो मान्छेको परिवारमा कसरी संक्रमण भयो ? साथीभाइहरू सबै अचम्ममा परेका छौं।’ नेपालले भन्नुभयो– ‘निजगढका सफल व्यवसायीको छवि बनाउनुभएका न्यौपानेले निजगढमा काभ्रेली फुड प्रोडक्सन र प्रनिश ट्रेडर्स सञ्चालन गर्दै आउनुभएको छ।’
परिवारमा कोरोना संक्रमणको कारणबारे आफू अझै पनि अनभिज्ञ रहेको न्यौपानेको भनाइ छ। असोज २७ गते रुघा, खोकी र सामान्य ज्वरो आएपछि कोरोना संक्रमणको आशंकामा उहाँ भोलिपल्ट नै उपचारको लागि वृद्ध बुबा दुर्गाप्रसाद (८० वर्ष) र आमा कालिका (७१ वर्ष), श्रीमती पुष्पा, छोरी मेरिना र छोरा प्रनिशसहित काठमाडौं लाग्नुभयो। ‘जे नहोस् भन्ने लागेको थियो त्यही भयो’, न्यौपानेले भन्नुभयो– ‘परिवारका सबै सदस्यमा पीसीआर परीक्षण पोजेटिभ आयो।’ संक्रमणले गाँज्दै गएपछि उहाँलाई कार्तिक ३ गते टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएकोमा ११ दिनपछि कोरोनालाई जितेर घर फर्किनुभयो। अस्पतालका चिकित्सक नर्सहरूको व्यवहारले आफूलाई कोरोना जित्न बल पुगेको न्यौपाने बताउनुहुन्छ। ‘नियमित हेरचाह गर्नुभयो, जति बेला पनि मनोबल बढाइदिने गर्नुहुन्थ्यो’, न्यौपानेले भन्नुभयो– ‘अस्पतालका डा. अनुप बास्तोला र र अवदेश मिश्रप्रति धेरै आभारी छु।’ चिकित्सकहरूकै हौसलामा आफ्नो मनोबल उच्च बनेको र कोरोनाविरुद्धको लडाइ“ जित्न सफल भएको न्यौपानेले सुनाउनुभयो।
उता, बुबालाई मनमोहन र आमालाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा भर्ना गरिएको थियो। ‘आमा÷बालाई अस्पताल भर्ना गरिएको कुरा पनि थाहा थिएन’, उहाँले भन्नुभयो– ‘अस्पतालबाट फर्किएर आउँदा दिउँसै अँध्यारो भएर ठूलो छाँगाबाट खसेजस्तो भयो, हामीलाई छोडेर दुवैले यो संसारबाट बिदा लिइसक्नुभएको रहेछ।’ बुबाको कार्तिक ४ र आमाको कार्तिक १० मा नै निधन भइसकेको थियो। अस्पतालबाट न्यौपानेलाई सीधै किरियापुत्री बस्ने घरमा लगिएको थियो। अमेरिका बस्ने दाजु रमेश पनि ७ गते नै काठमाडौं आइसक्नुभएको थियो। उहाँले भन्नुभयो, ‘अघिल्लो दिन पनि आमासँग फोनमा कुरा भएको थियो, शायद चिन्ता पर्छ भनेर होला अस्पतालमा हुनुहुन्छ भन्ने कुरा आमाले लुकाउनुभयो, सबै राम्रो छ, तिमीलाई पनि चाँडै ठीक हुन्छ, पिर नगर्नू भनेर ढाढस दिनुभएको थियो।’
‘तर अन्तिम अवस्थामा बुबा-आमाको मुखसमेत एकपटक हेर्न पाइएन। यस्तो विपत्ति र बिजोग त शत्रुले पनि व्यहोर्नु नपरोस्’, न्यौपाने भन्नुहुन्छ– ‘यही भावनाले अहिले पनि निरन्तर पे्ररित गरिरहन्छ र कोरोनाविरुद्ध लड्न थप ऊर्जा मिलेको छ।’
प्रतिक्रिया