माघ १ बाट विद्यालय खोल्ने अनुमति


नेपाल समाचारपत्र, काठमाडौं

राजधानीका अधिकांश स्थानीय तहले विद्यालय खुला गर्ने निर्णय गरेपछि दबाबमा परेका काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने गरी विद्यालय खुला गर्न अनुमति दिएको छ ।

उपत्यकाका ललितपुर महानगरपालिकासहित सबै नगरपालिकाले विद्यालय खुला गर्ने निर्णय गरेपछि दबाबमा रहेको काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो ।

स्थानीय तहले विद्यालय खुला गर्ने निर्णय गरे पनि राजधानीका अधिकांश ठूला विद्यालय बन्द छन् । ती विद्यालयले अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित कक्षा सञ्चालन गरिरहेका छन् ।

वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको थियो । सोही आधारमा कामपाले विद्यालय खोल्न अनुमति दिएको हो ।

कोरोना जोखिम कम भएका काठमाडौं उपत्यकाबाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । कोभिडको नयाँ भाइरस देखापरेपछि विश्वभर सशंकित भइरहेको अहिलेको अवस्थामा विद्यालय खुला गर्ने विषय गम्भीर भएको अभिभावकको भनाइ छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको अवस्थामा विद्यालय खोल्न नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘अबको एक महिनासम्म अनलाइन कक्षालाई नै निरन्तरता दिनुपर्छ । त्यसपछि अवस्थाको मूल्याङ्कन गरी विद्यालय खोल्न सकिन्छ ।’ विद्यालय खोल्दा कोरोना भाइरसको खतरा पुनः बढ्न सक्ने भन्दै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

‘अहिले त जाडोको बिदा दिने समय हो, अबको एक महिना बिदा दिआंै त्यसपछि नियमित कक्षा सञ्चालन गरांै।’ –उहाँले भन्नुभयो । केही दिन कुरेर विद्यालय खोल्दा कुनै समस्या नहुने उहाँको जिकिर थियो ।

प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्काले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा विद्यालय खोल्न नसक्ने स्पष्ट पार्नुभयो । ललितपुरको जेम्स स्कुलका सञ्चालकसमेत रहनुभएका खड्काले आफूले ‘रिक्स’ लिएर भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले अभिभावकलाई सर्भे फारम भर्न पठाएका थियौं, ९० प्रतिशतले छोराछोरीलाई विद्यालय पठाउन नसकिने उल्लेख गरेका थिए । वैकल्पिक कक्षाबाट सन्तुष्ट रहेका अधिकांश अभिभावकले छोराछोरीलाई विद्यालय नपठाउने भनेपछि विद्यालयले जबरजस्ती गर्न मिल्दैन ।’

स्थानीय तहले विद्यालय खोल्न दबाब दिए विद्यालयले सबै अभिभावकलाई ‘इच्छापत्र’ पठाउने र सोही आधारमा अभिभावकको रिक्समा विद्यार्थीलाई पढाउन बोलाउने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले कोभिड संक्रमण भए अभिभावक आफैले उपचार गर्ने जिम्मा लिने अनुमति दिएपछि मात्र ती विद्यार्थीलाई विद्यालय बोलाउने गरी तयारी गर्ने बताउनुभयो । करिब एक साताअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले देशभरका विद्यालय खुला गर्ने निर्णय गरेपछि कामपाले विद्यालय खुला गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ अनुसार स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो ।

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । कामपाले स्वाथ्य मापदण्ड पालना गरी विद्यालय खुला गर्न सूचना जारी गरेको हो ।