- डा. माधव अधिकारी
राजधानी काठमाडौं उपत्यका तथा अन्य स्थानमा शहरीकरण तीव्र छ । प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, जंगल आदि शहरीकरणको तीव्रचापले गर्दा ह्रास भएको छ । जसको फलस्वरुप आदिमकालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरुको सन्तुलन विनाश भएकोछ । सो विनाशको फलस्वरुप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रुपमा श्वासप्रश्वास, सडक प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्युसमेतछन् ।
नेपालको प्रमुख शहर काठमाडांैको सन्दर्भमा वातावरण प्रदूषण मुख्य समस्याको रुपमारहेको छ । काठमाडौंमा वायु प्रदूषणको मुख्य कारकको रुपमा भन्नुपर्दा सवारीसाधनको बढ्दो चाप, मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन खनिएका सडक तथा सडक विस्तार, भूकम्पबाट विनाश भएका भौतिक संरचनाहरुको निर्माण तथा मर्मत गर्दा काठमाडौं धूलो र धुवाँमय बनेको हो भने खानेपानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ । एसियाको प्रदूषित शहरमध्ये काठमाडौं पनि एक हो ।
बढ्दो लापरबाहीको कारण झन्–झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा प्रदूषित भई सास फेर्ननै गाह्रो भएको छ । काठमाडौंको वायुमण्डलमा पुस २० र २१ गते तुवाँलोले ढाकेर हावा चल्न सकेन । सो कारण वायु प्रदूषण ह्वात्तै बढी वायुमण्डलको तल्लो तहमा अत्यधिक धुवाँ र धूलो तैरिएर सर्वसाधारणले आँखा पोलेको महसुस गरेका थिए । मङ्सिर, पौष र माघमा ३.५ प्रतिशत वर्षा हुने गर्दथ्यो तर अहिले वर्षा भएको छैन ।
यही पौष २० र २१ गते कतै–कतै पानी छिट्याएको देखिन्थ्यो, तर त्यो स्वच्छ पानीको वर्षा नभई एसिड वर्षाको भान हुन्थ्यो । काठमाडौंको विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक २० र २१ गते ४०० भन्दा माथि नाघेको देखिएको थियो । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यु एअर’ ले पनि काठमाडौंको वायुमण्डलमा मंगलबार अपराह्न एक्युआई ४ सय ३७ पुगेको जनाएको थियो ।
सोमबार पनि काठमाडौंको वायुमण्डल अत्यधिक प्रदूषण थियो । मंगलबार अपराह्नसम्म विश्वका ५० शहरमध्ये काठमाडौंएक्युआईका हिसाबले एक नम्बरमा थियो । साँझदेखि भने त्यसमा सुधार आएको छ । वातावरण विभागको मापन केन्द्रले मंगलबार बेलुकी रत्नपार्क ३७१ र भैँसेपाटी ३२९ मा एक्युआई सबभन्दा बढी देखाएको थियो । भक्तपुर, सौराहा र विराटनगरमा पनि एक्युआई अत्यधिक थियो । तर २२ गतेबाट घाम लागी केही सुधार देखिएको छ ।
सरकारले गतवर्ष स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई ३ सय नाघे विपद्को रुप लिने भनिएको छ । एक्युआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । एक्युआई बढ्दै गएपछि जोखिम पनि बढ्छ, एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ, जाडो महिनामा यो बढ्दै जान्छ, यो वर्ष अलि बढी नै देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआईलाई सामान्य मानिन्छ । एक्युआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ । जनकपुर, महेन्द्रनगर, नेपालगन्ज, पोखरा, हेटौँडा, दाङलगायत स्थानमा पनि सोमबारदेखि नै प्रदूषणको मात्रा बढेको थियो । वायु प्रदूषण बढेकाले वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले विज्ञप्ति निकालेर वालबालिकालगायतलाई घरबाहिर ननिस्कन अग्रह गरेको छ । फोहोरले र आगो बाल्दा पनि प्रदूषण बढ्ने भएकाले त्यसो नगर्नसमेत विभागले ध्यानाकर्षण गराएको छ ।
पुस २२ गतेको औसत वायु गुणस्तर सूचकांक (एक्युआई)
- काठमाडौं (रत्नपार्क)– ३७१
- ललितपुर (भैँसेपाटी)– ३२९
- विराटनगर– २१८
- भक्तपुर– २१६
- चितवन (सौराहा)– २१०
विश्व स्वास्थ्य संगठनको एक्युआई मापदण्ड
- ३५ भन्दा कम भए उपयुक्त
- ५१ देखि १०० सम्म सामान्य
- २०१ भन्दा माथि अस्वस्थकर
- ३०१ भन्दा माथि घातक
वातावरणविद्का अनुसार चिसो बढेसँगै आगो ताप्ने, कृषि गतिविधिमा आगो बाल्ने र डढेलोका कारण वायु प्रदूषण बढेको छ । सबै स्रोतबाट आएको प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ । वायु प्रदूषणका स्रोतहरु बढे तर यो बढेको प्रदूषण उपत्यकाबाट कहीँ जान पाएन । जाडोमा वायु प्रदूषण वर्षायाममा भन्दा चार–पाँच गुणा बढी नै हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण अत्यधिक हुन्छ । काठमाडौंजस्तै किर्गिस्तानको बिस्केक, पाकिस्तानको कराँची र लाहोर, चीनको वुहान, भियतनामको हनोई, बंगलादेशको ढाका, भारतको मुम्बई र कोलकाता, म्यानमारको याङ्गुन, साउदी अरबको रियादसहित ५० वटा शहरमा पनि प्रदूषणको मात्रा बढिरहेको आईक्यु एअरले जनाएको छ ।
अमेरिकाको आर्वर्ड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरुले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरुमा कोभिड–१९ बाट मृत्यु भएकामध्ये १५ प्रतिशतमा मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ । काठमाडौंको वायु प्रदूषणको मात्रा डब्लुएचओको मापदण्डभन्दा ५ गुणसम्म बढी छ । डब्लुएचओले वार्षिक औसत पीएम २.५को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौँमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ ।
काठमाडांै उपत्यकाको प्रमुख शहरको वायु प्रदूषण नापजाँचको दृष्टिकोणले पनि काठमाडौंलाई सबैभन्दा न्यूनस्तरका शहरमा सूचीकृत गरिएको पाइएको छ । तथ्यांक विश्लेषण, उपलब्धता, प्रदूषण इभेन्ट्री र वायु गुणस्तर व्यवस्थापन पनि कमजोरसमेत रहेको उल्लेखत गरिएको पाइयो । काठमाडौं प्रदूषित शहर बन्नुको कारक तत्वमा बनोटलाई पनि लिन सकिन्छ । काठमाडांै उपत्यकाको बनोटअनुसार यहाँ भएको प्रदूषित हावा वा अन्य प्रदूषित पदार्थ काठमाडौं उपत्यकाबाहिर न्यून एकाइमा निष्कासन हुन्छ, जुन कारणले काठमाडांै उपत्यका वायु प्रदूषणको सिकार भएको छ ।
इँटा भट्टा, सवारीसाधन आदिबाट निस्कने धुवाँ वा धूलो, कृषिक्षेत्रमा प्रयोग गरिने विभिन्न किसिमका कीटनाशक औषधिको प्रयोग, प्राकृतिक सम्पदाको विनाश (वन विनाश, विभिन्न खानी सञ्चालन, रुख कटान, नदीबाट बालुवा झिक्ने) जस्ता डरलाग्दा समस्या सिर्जना भएका छन् । वातावरण प्रदूषणको अन्य कारणमा अनियोजित प्राकृतिक सम्पदा विनाश, सो कारण जलप्रदूषण, औद्योगिकीकरण, यातायात साधन वृद्धि, ध्वनि प्रदूषण, खाद्यान प्रदूषण, दृश्य प्रदूषण, अनैतिक गर्भपतन, अनैतिक अनुशासन आदिले काठमाडौं उपत्यकामा व्यापक कुप्रभाव परेको छ ।
स्टेट अफ ग्लोबल एयर २०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२१०० जनाको मृत्यु हुने गरको छ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।
यसको रोकथामको लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाँउमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि ।
नेपालको भू–बनोटमा एकरुपता नहुनुका कारण र विगतका अशान्तिले गर्दा जनसंख्याको चाप शहरीकरणमा तीव्र परेको देखिन्छ । सो कारणबाट फोहोरमैलाको समस्या तीव्र भई प्राकृतिक सम्पदाको रातारात विनाशले स्वस्थ वातावरणमा कमी हुँदै आएको छ । अनैतिक सह–सम्बन्ध वृद्धि, सवारीसाधन वृद्धि (हाल काठमाडौं उपत्यकामा दैनिक करिब ४ लाखसवारी साधन) भई दैनिक गुड्ने सवारी संख्याले दैनिक घण्टौं जाम हुने गरेको छ । साँच्चै भन्दा काठमाडौं उपत्यकाको सडकलाई हेर्दा हालको सवारीसाधनको एक चौथाइ मात्रधान्न सक्ने देखिन्छ ।
सवारीसाधनको ज्यादै वृद्धिले गर्दा धूलो, धुवाँ, ध्वनि र प्राकृतिक सम्पदाको विभिन्न प्रकारले विनाश भइरहेको छ । त्यस्तै बन्द–हड्ताल, विरोध जनाउन वा माग पूरा गर्न बालिने अति विषालु टायरको धुवाँ (जुन टायरको धुवाँले सर्वप्रथम त आन्दोलनकारीको गुणस्तरीय स्वास्थ्यमा नै प्रतिकूल असर पु¥याएको हुन्छ) ले समेत काठमाडौं उपत्यकामा ज्यादै प्रतिकूल असर परेको छ ।
जसको परिणामनेपाल र नेपालीलाई आर्थिक, राजनीतिक, सामाजिकका साथै सबैभन्दा मुख्य गुणस्तरीय जीवनतर्फ ज्यादै घाटा छ । प्रदूषित वायुका कारण सिर्जित माथिका परिणामले मानवीय क्षतिको सम्भावना बढेको छ र अझ बढ्नेछ । काठमाडौंको वायुमा धूलोको कणको मात्रा अत्यधिक रहेकोले सम्बन्धित मन्त्रालय, निकायले सो प्रतिकूल असरबाट रोकथाम वा नियन्त्रण गरी जनस्वास्थ्यप्रति चासो राख्नु समयको माग हो ।
(लेखक डा. अधिकारी गुणस्तरीयजीवनमा विद्यावारिधि हुनुहुन्छ ।)
प्रतिक्रिया