फलेबासका सबै सामुदायिक बिद्यालयमा स्यानीटरी प्याड

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

ग्रामीण क्षेत्रमा अध्ययनरत छात्राहरु महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अहिलेपनि विद्यमान छ । जसले गर्दा छात्राहरुको पढाईमा समस्या आउने गरेको पाईन्छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले सवै विद्यालयका कक्षा कोठामा स्यानिटरी प्याडको व्यवस्थापन गरेको छ । विद्यालयमै रहेका बेला महिनावारी भएर कक्षा छाडेर विद्यार्थीहरुलाई घर जान नपरोस र उनीहरुको सिकाई र पढाईले निरन्तरता पाओस भन्ने उद्धेश्यले सवै सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गरिएको फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

कोभिड –१९ को संक्रमणपछि खुलेका सवै विद्यालयमा पुगेर अध्ययनरत कक्षा ६ देखि स्नातक तह सम्मका छात्राहरुलई वर्षभरी पुग्नेगरी प्याड वितरण गर्न थालिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही वडामा रहेका विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकी वडाका विद्यालयमा पनि आफै विद्यालय पुगेर शिक्षकलाई हस्तान्तरण गर्ने अधिकारीले बताउनुभयो ।

फलेवास नगरपालिकामा माध्यमिक र आधारभूत विद्यालय ३० भन्दा बढि विद्यालय रहेका छन् । कक्षा ६ देखि स्नातक तह सम्म संचालन हुने क्याम्पसहरुमा समेत स्यानिटरी प्याड उपलव्ध गराउनेगरी नगरपालिकाले बजेट बिनीयोजन गरेको हो । यस वर्ष १५ लाख रुपैया बराबरका स्यानिटरी प्याड खरिद गरी सवै विद्यालयमा उपलव्ध गराउने कार्यक्रम रहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।

थोरै मुल्यमा पाईने भएपनि सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुले खरिद गरेर प्रयोग गर्न सक्ने अवस्था छैन । घरगाउँमै पाईने फोहोर कपडाहरु प्रयोग गर्दा स्वास्थ्यमा समेत समस्या आउने भएपछि नगरपालिकाले यो नमुना कार्य अघि बढाएको नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । यसवाट छात्राहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । मासिक रुपमा कम्तिमा तीन–चार दिन छात्राहरुको पढाईमा अवरोध आउने अवस्थालाई यसले अन्त्य गर्ने उहाँको विश्वास रहेको छ ।

यस अघि सरकारले एसईई लगायतका जिल्ला स्तरीय परिक्षामा मात्र स्यानिटरी प्याड उपलव्ध गराउँदै आएको थियो । अब भने फलेवासका कक्षा ६ देखि क्याम्पस तहका सवै शिक्षालयमा पर्याप्त मात्रामा स्यानिटरी प्याडको व्यवस्था गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । अहिले नगर भित्रका निजि विद्यालयहरुमा भने वितरण गरिएको छैन ।

छात्राहरुलाई महिनावारीका बेला समेत निर्धक्कका साथ विद्यालयमा गएर पढ्न नगरप्रमुख शर्माले आग्रह गर्नुभएको छ । यो महिलाहरुको नियमित प्रकृया भएकाले संकोच नमानी यस्तो बेलामा विद्यालय आएर आफ्नो पढाईमा बाधा नर्पुयाउन समेत शर्माको आग्रह छ ।