उपभोक्ता ठग्ने दुई उद्योगी पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जमा सञ्चालित दुई घरेलु उद्योगमा छापामारी गरेर लाखौँ बराबरको सोयाबिनको तेल बरामद गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलमा सञ्चालित त्रिदेव रिप्याकेजिङ्ग उद्योग र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगमा छापामारी गरेर लाखौँ मूल्य बराबरको सोयाबिन तेल बरामद गरेको हो ।

दुवै उद्योगले सोयाबिन तेललाई तिलको तेलको डब्बामा रिप्याकेजिङ्ग गरेर बजारमा थोक मात्रामा बेच्दै आएका थिए । भारतबाट ठूलो मात्रामा सोयाबिनको तेल आयात गरेर दुवै उद्योगले त्यसलाई रिप्याकेजिङ्ग गरेर तिलको तेलको डब्बामा राखेर बजारमा बच्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उद्योगहरुले विभिन्न ब्राण्डको नाम दिएर पूजापाठका लागि विशेष गरेर प्रयोग हुने तिलको सट्टा सोयाबिन तेल बजारमा पठाएर बेच्दै आएको प्रहरी अनुसन्धानको क्रममा पाइएको छ । यसरी सोयाबिनको तेललाई तिलको तेल भनेर बेच्दा उनीहरुले उपभोक्ताबाट प्रति लिटर ७० देखि ८० रुपैयाँसम्म ठग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो ।

पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताले संयुक्त रुपमा छापामारी गरेर त्रीदेव रिप्याकेजिङ्ग उद्योगबाट ४ हजार ४ सय ५५ लिटर र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगबाट ८ सय ६० लिटर सोयाविनको तेल बरामद गरेको छ ।

तेलको बजार मूल्य ७ लाख ५८ हजारभन्दा माथि रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै उद्योगका सञ्चालकलाई पनि पक्राउ गरेको छ । कालोबजारी र उपभोक्ता ठगेको आरोपमा प्रहरीले त्रिदेव रिप्याकेजिङ्ग उद्योगका सञ्चालक राजन कुमार बरनवाल र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगका सञ्चालक दीपक कुमार बरनवाललाई पक्राउ गरेको जिल्ला पहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुमाथि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।