नेपाल समाचारपत्र, काठमाडौं
सावित्रा भण्डारी आफूले आफैँलाई भन्छिन्, ‘साम्बा’ । खुबै गर्व छ, उनलाई यो उपनाममा । उनी फुटबलको मैदानमा जति मज्जाले छाउने गर्छिन् नि, त्यत्तिकै ‘पल्सर स्पोर्टस अवार्ड’का पछिल्ला संस्करणमा पनि निकै छाएकी छन् । उनी वर्ष ०७५ को पल्सर स्पोर्टस् अवार्डमा महिलातर्फ ‘उत्कृष्ट खेलाडी’ साबित भएकी थिइन् ।
त्यो वर्ष उनी ‘पिपुल्स च्वाइस अवार्ड’का लागि पनि एक प्रत्यासी थिइन् । त्यति मात्र कहाँ हो र, उनी वर्ष ०७३ र ०७४ मा पनि महिलातर्फको उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी थिइन् । यो सबै उनले मैदानमा राम्रो प्रदर्शन गरेर त सम्भव भएको हो, त्यो पनि ‘साम्बा’ पारा । अर्थात्, ब्राजिली स्वाद मिसिएको फुटबल हो ।
वर्ष २०७६ को ‘पिपुल्स च्वाइस अवार्ड’मा फेरि एकपल्ट उनको नाम परेको छ । जुन दिन त्यस विधाका प्रत्यासीको नाम घोषणा भयो, यसमा आफ्नो पनि उपस्थिति देखेपछि भन्छिन्, ‘मैले त दोस्रो मौका पनि पाएँ ।’ यो खुसीको उद्घोष थियो । तर, जतिबेला फुटबलबारे खास वार्ता चलाइन्छ, उनी अति साह्रो गम्भीर पनि हुन्छिन् । खासमा उनको मनमा केही बिझेको छ र त्यो हो, स्वर्ण जित्न नसक्नुको दुःख ।
वर्ष ०७६ मा भएको १३औं दक्षिण एसियाली खेलकुदमा महिला फुटबल टिम भारतसित पराजित भएको थियो । उनको धोको थियो, आफ्नै घरमा भएको फुटबलमा स्वर्ण जित्ने, तर त्यो पूरा हुन सकेन् । नेपाल रजतमै सीमित रह्यो । त्यसो त नेपालले अहिलेसम्म भारतलाई नहराएको पनि होइन्, तर निर्णायक पदक छुने खेलमा भने नेपाल पछाडि पर्दै आएको छ । यसैले हो, सावित्राको मन पोल्ने ।
एक प्रकारले भन्दा सावित्रा दक्षिण एसियाली महिला फुटबलका नम्बर १ खेलाडी हुन् । उनले यो दाबीको पुष्टि भारतको मैदानमै गरेकी छिन्, वर्ष ०७६ मा त्यहाँ भएको महिला लिगमा तहल्का मच्चाएर । भारतीय महिला फुटबल लिगमा उनको गोकुलम केरला टिम विजेता नै रह्यो । उनले ती सबै टिमविरुद्ध राम्रो मात्र खेलेनन्, गोलको शृंखला नै चलाइन्, जसमा भारतका प्रमुख खेलाडी थिए ।
भारतीय टिमका मुख्य खेलाडी बाला देवीले बारम्बार दोहो¥याएर भनेकी छन्, ‘सावित्रा अब्बल दर्जाकी खेलाडी हुन् ।’ त्यसैले त नेपाल उप–विजेता रह्यो । घरेलु फुटबलमा त झन् के कुरा, उनले वर्ष ०७६ मा आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण हात पारिन्, ‘प्रधानसेनापति कप’ जितिन्, अनि नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान पनि राखिन् । यहाँनेर प्रश्न फेरि उही, अब के त ?
भारतलाई हराएर ठूलो सफलता हात नपरेसम्म उनको मनले सन्तोष मान्ने छैन । भारतलाई हराउने सपना पूरा गर्न सावित्राले खोजेको एउटा तŒव हो, नेपाली महिला फुटबललाई माया । अर्थात्, ‘माया र प्रोत्साहन’ । उनी भन्छिन्– ‘हामी भारतलाई हराउन सक्षम भने छौं ।’ यस्तोमा सावित्रालाई ‘पिपुल्स च्वाइस अवार्ड’ मा जिताउन सक्दो मत दिनु पनि नेपाली महिला फुटबललाई माया गर्नु नै हो । प्रोत्साहन र समर्थन दिनु हो ।
प्रतिक्रिया