बिक्री चाप बढ्दा नेप्सेमा पहिरो



नेपाल समाचारपत्र, काठमाडौं
लगानीकर्ता ढुक्क नभएको स्थितिमा बिक्री चाप बढ्दा साताको पहिलो दिन आइतबार नेपाल एक्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर २ हजारभन्दा कम बिन्दुमा झरेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्ततः ३९ दशमलव ९८ अंकले घटेर १९९८ दशमलव ६५ बिन्दुमा झरेको छ ।
कुल २०४ वटा कम्पनीको ७८ लाखभन्दा बढी कित्ता शेयर ४ अर्ब ४० करोड रुपियाँमा खरिद बिक्री भएको छ । कारोेबार रकम पछिल्ला दिनको तुलनामा कमै हो । कारोबारमा आएका १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २० वटा कम्पनीको शेयरमूल्य बढेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड ५७ लाख, नविल बैंकको ४० करोड ३९ लाख, एनआइसी एसिया बैंकको २६ करोड ६७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ३७ लाख र नागरिक लगानी कोषको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन कारोबारमा आएका १२ वटै समूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये होटल समूह सबैभन्दा धेरै ४ दशमलव ६६ प्रतिशतले घटेको छ । समग्र परिसूचकमा दोहोरो अंकको गिरावट आएको दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको छ ।

त्यस्तै बढी कमाउनेको सूचीमा आशा लघुवित्त, सबैको लघुवित्त, समिट लघुवित्त, सूर्योदय लघुवित्तलगायतका कम्पनीका लगानीकर्ता रहेका छन् । साथैै विशाल बजार कम्पनी, सोल्टी होटल, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो, ओरियन्टल होटललगायतका कम्पनीका लगानीकर्ताले गुमाउनेमा अगाडि छन् । यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७ लागू भएको छ । कार्यविधिअनुसार इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकलगायतको प्रयोगको लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ताको व्यापारिक तथा पुनः प्रयोजनको लागि, सञ्चार माध्यमहरुको समाचार निर्माण तथा प्रदर्शन प्रयोजनको लागि, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग–विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्था र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि तथ्यांक उपलब्ध हुनेछ ।

ब्रोकर कमिसन पुनर्विचार गर्न दबाब
नेपाल धितोपत्र बोर्डले शेर कारोबारमा ब्रोकर कमिसन घटाएपछि त्यसकोे विपक्षमा शेयर ब्रोकरहरू उभिएका छन् । कार्यक्षेत्र थप नहँुदा आम्दानीका स्रोत नबढेको, बजारको विश्वसनीयता कायम राख्न व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम, उच्च करको दर, लगानीमा प्राप्त प्रतिफल अन्य देशको भन्दा न्यून रहेको दाबी गर्दै आइतबार ब्रोकर एशोसियसनले बोर्डसमक्ष ज्ञापनपत्र बुझाएको छ । एसोसिएसनले नयाँ लगानीकर्ता आकर्षित गर्न र बजारलाई गतिशील बनाउने नाममा थप ६० प्रतिशतसम्म कमिसन दरमा कटौती गर्नु खेदपूर्ण रहेको भन्दै सो निर्णय पुनर्विचार गर्न जोड दिएमने । साथै मार्जिन ट्रेडिङलाई सञ्चालनमा ल्याउने, ब्रोकर प्रोप्राइटरी ट्रेड, इन्भेस्टमेन्ट एड्भाइजरी, लगानी व्यवस्थापन, अन्डर राइटिङ, निक्षेप सदस्यतालगायत अन्य सेवा प्रवाह गर्न पाउने कानुनी व्यवस्था मिलाउन पनि एसोसिएसनको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्