पाठ्यक्रम पूरा गर्न अतिरिक्त कक्षा

0
Shares

दिलकुमार लिम्बु, ताप्लेजुङ

कोरोनाका कारणले शैक्षिक क्षेत्र प्रभावित भएपछि समयमै पाठयक्रम पूरा गर्न ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गत मंसिर पहिलो सातादेखि फागुन मसान्तसम्म विद्यार्थीका लागि थप अतिरित कक्षा सञ्चालन गरेको छ । अतिरित कक्षा सञ्चालन गर्नका प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यालयलाई कोचिङ कक्षा सञ्चालन गर्न फक्ताङुङ गाउँपालिकाले ३० लाख रुपियाँ विनियोजन गरेको छ । फक्ताङलुङ गाउँपालिकमा ४० विद्यालय छन् ।

२०७६ को तथ्याङ्कअनुसार २ हजार ६ सय ८४ जना विद्यार्थी रहेको फक्ताङलुङ गाउँपालिका शिक्षा शाखा अधिकृत जयप्रसाद रिजालले बताउनुभयो । शाखा अधिकृत रिजालका अनुसार कोचिङ कक्षा सञ्चालन गर्ने विद्यालयले २७ कात्तिकसम्म परियोजना प्रस्तावना पेस गरिसक्नुपर्नेछ ।

गाउँपालिकाले कोचिङ कक्षा सञ्चालनका लागि कक्षा १ देखि ३ सम्मका सुचारु भएका विद्यालयलाई २५ हजार, कक्षा १ देखि ५ का लागि विद्यालयलाई ५० हजार, कक्षा १ देखि ८ सम्मका विद्यालयलाई १ लाख र कक्षा १ देखि १० सम्मका विद्यालयलाई १ लाख २५ हजार उपलब्ध गराउने भएको छ ।

कक्षा ११ र १२ समेत सञ्चालन गर्ने विद्यालयले विद्यार्थी संख्याका आधारमा बढीमा ५० हजारसम्मको थप गरी गाउँपलिकाले रकम प्रदान गर्ने शाखा अधिकृत रिजालले बताउनुभयो ।कोरोनाका कारण लामो समयसम्म विद्यालय जान नसकी पढाइ अधुरै रहेका विद्यार्थीलाई चालू शैक्षिक सत्रभित्रै कोर्षअनुसारको पढाइ सम्पन्न गर्न पालिकाभित्रका विद्यालयलाई तहगतरूपमा अनुदान उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष सरोज लिम्बुले जानकारी दिनुभयो ।

विद्यालयको अतिरिक्त कक्षा सञ्चालन तथा यसको प्रभावकारिता अनुगमन गर्न पालिका प्रशासनले अनुगमन कार्यदलसमेत बनाएको छ । शिक्षा अधिकृत संयोजकत्वको अनुगमन समितिमा पालिकाभित्रका नेतृत्वकर्ता, विद्यालयका प्रधानाध्यापक र गाउँ शिक्षा समितिले चयन गरेका शिक्षक गरी तीन जनाको समिति रहने फक्ताङलुङ गाउँपालिका अक्ष्यक्ष लिम्बुले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षदेखि शुरु भएको कोचिङ कक्षा सञ्चालनसम्बन्धी योजना यस वर्ष कोरोना सन्त्रासका कारण लामो समय पढाइ गुमाएका विद्यार्थीका लागि फलदायी हुने स्वस्वाती च्यारिबुक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकुमार फेम्बु बताउनुहुन्छ ।