राष्ट्रपतिलाई हटाएर राजा राख्न माग

0
Shares

नेपाल समाचारपत्र, ललितपुर  ।

संसद् विघटनबाट उत्पन्न राजनीतिक अन्योलको लाभ उठाउन राजावादीहरुको सक्रियता बढ्दै गएको पाइएको छ । केही समययता विभिन्न स्थानमा प्रदर्शन गरिरहेका राजावादीहरुको अनेक तह र तप्कामध्ये राजसंस्था पुनस्र्थापना संघर्ष समितिले शनिबार ललितपुर मंगलबजारमा बृहत् विरोध सभा ग-यो ।

पाटन दरबार क्षेत्रमा आयोजित सभामा सर्वसाधारण नागरिकको उपस्थिति अघिपछिभन्दा बढी देखिन्थ्यो । नेपाल भाषाको माध्यमबाट सञ्चालन गरिएको सो समितिले यसपटक कोरोना महामारीको नाउँमा काठमाडौं उपत्यकाको संस्कृति लोप गर्न लागिएको, धर्म संस्कृतिमाथि लगातार प्रहार भइरहेको नारा दिएका थिए ।

विशेषतः गत भदौ १७ गते रातो मच्छिन्द्रनाथ तान्ने क्रममा भएको ललितपुरको पुल्चोक, गाबहाल र नटोलमा भएको झडप र प्रशासनले रोक लगाएको विषयलाई गणतान्त्रिक राज्यव्यवस्थाको धर्म संस्कृति मास्ने कदमको संज्ञा दिइएको थियो ।
मुलुकको भविष्य अन्योल र अराजकतातर्फ बढ्दै जानुमा राजनीतिक दलहरुको सत्तालिप्सासँगै गणतान्त्रिक व्यवस्था मुख्य कारण रहेको भन्दै राजावादीहरुले निरन्तर सडकमा ओर्लिने उद्घोष गरेका छन् ।

समितिले अर्को साता बृहत् जुलुस निकाल्ने सो अवसरमा बताइएको छ । सर्वसाधारण जनताले भोग्नुपरेका सम्पूर्ण समस्या, चिन्ताको मुख्य जड भनेको राजनीतिक दलका सीमित नेताहरुको आफू नै मुुलुकको राजा हुँ भन्ने सोचको उपज रहेको पनि विरोधसभाका वक्ताहरुले बताएका छन् ।

‘कोरोना महामारीले गर्दा जनता छटपटाइरहेका छन् । गरिबी र बेरोजगारले जनता मारमा परेका छन् । नागरिकका समस्याप्रति सरकार र राजनीतिक दलहरु संवेदनहीन छन् । यत्रो महामारीका बेलामा पनि भ्रष्टाचारमा सरकार लिप्त भएको छ ।’ यी सबै समस्याको समाधानका लागि जनता सडकमा उत्रिएर राजासहितको लोकतन्त्र स्थापना गर्नुबाहेकको विकल्प मुलुकसामु नभएको पनि समितिका संयोजक विश्वन्तर शाक्यले बताउनुभयो ।

एकको ठाउँमा सयौं राजा भएर नेताहरुले राज्यको दोहन गरेका छन् । यसको अन्त्यका लागि राजासहितको लोकतन्त्रको खाँचो छ । मुलुकको कार्यकारी प्रमुख जननिर्वाचित हुनुपर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने धारणा पनि समितिले अघि सारेको छ ।

‘राष्ट्रहितभन्दा पनि सधैं आफू पहिला आबद्ध दलको आन्तरिक विवादमा रुचि राख्ने राष्ट्रपति विद्यादेवी भण्डारीको समग्र आचरणले गणतन्त्र देश र जनताका लागि अफापसिद्ध रहेको पुष्टि गरेको छ । यत्रो कोरोना महामारीका बेला संवेदनहीन हुने राष्ट्रपति देश र जनताका लागि के काम, त्यसकारण राजसंस्था पुनस्र्थापना गर्नुको विकल्प छैन।’ –शाक्यले भन्नुभयो ।

रातो मच्छिन्द्रनाथको जात्रामा कफ्र्यु लगाउन, निषेधाज्ञा जारी गर्न आदेश दिने राज्यप्रशासनले नेताहरुका जुलुस, भेलामा मूकदर्शक बन्ने गरेको उल्लेख गर्दै संयोजक शाक्यले गणतान्त्रिक व्यवस्थाको नाउँमा धर्मसंस्कृति समाप्त गर्न खोजेको आरोप लगाउनुभयो । राजसंस्था रहँदा उपत्यकाको धर्म संस्कृतिको संरक्षण गर्दै आएको र गणतान्त्रिक व्यवस्थामा त्यसलाई मास्न खोजेकोलगायत लेखिएको प्लेकार्डहरु राखेर प्रदर्शन गरिएको थियो ।