ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीको नाम छैठौं पटक परिवर्तन

0
Shares

उत्तम नेपाल, भद्रपुर ।

देश सङ्घीयतामा गएको लामो समयपछि कर्मचारी र जनप्रतिनिधिलाई तालिम गराउने प्रशिक्षण केन्द्रको नाम फेरि परिवर्तन गरिएको छ । झापाको भद्रपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीको नाम छैठौं पटक परिवर्तन गरिएको हो ।

सङ्घीय सरकार मातहत रहेको प्रशिक्षण केन्द्र प्रदेश नम्बर १ सरकारको स्वामित्वमा आएसँगै यसको नाम प्रदेश प्रशिक्षण केन्द्र राखिएको छ । प्रदेश प्रशिक्षण केन्द्रको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले केहीदिन अघि उद्घाटन गरेपछि नाम परिवर्तन पक्का भएको हो ।

सङ्घीय सरकार मातहत रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई २०७६ साल फागुन ५ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश नम्बर १ सरकारलाई दिने निर्णय गरेको थियो । सरकारले प्रशिक्षण केन्द्रलाई २०७७ साल असोज ९ गते प्रदेश नम्बर १ सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि प्रदेश सरकारले आफ्नो स्वायत्त शासन ऐन २०७६ को दफा १० बमोजिम कार्तिक १८ गते राजपत्रमा प्रकाशन गरी यसलाई प्रदेश प्रशिक्षण केन्द्रको नाम दिएको प्रदेश प्रशिक्षण निर्देशक गणेश तिम्सिनाले बताउँनुभयो ।

वि. सं. २०१९ मा ग्रामीण विकाससम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तत्कालीन बडाहाकिम श्री रामनारायण श्रेष्ठ र निजी क्षेत्रको प्रयासबाट ‘बहुमुखी प्रशिक्षण केन्द्र’को नामले स्थापना भएको थियो । वि. सं. २०२२ मा तत्कालीन श्री ५ को सरकारले विकास समितिअन्तर्गत यस केन्द्रलाई आफ्नो प्रशिक्षण कार्यक्षेत्रभित्र ल्याउने नीति अघि सार्‍यो । यसको नाम परिवर्तन गरी ‘पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र’ भनेर नामकरण गरियो ।

वि. सं. २०३१ मा फेरि यस केन्द्रको नाम परिवर्तन भएर ‘पञ्चायत विकास प्रशिक्षण केन्द्र’ रहन गयो । पञ्चायत शासनको अन्त्य भई देशमा प्रजातन्त्रको पुनर्बहाली भएपश्चात् २०४७ सालपछि यसको नाम ‘स्थानीय विकास प्रशिक्षण केन्द्र’ रहन गयो । वि. सं. २०५० असोज महिनादेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले यस केन्द्रलाई सञ्चालन गर्ने नीति ल्यायो । प्रतिष्ठानअन्तर्गत रहने भएपछि यसलाई ‘ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरी’को नामले सञ्चालन हुन थालेको इतिहास रहेको प्रदेश प्रशिक्षण केन्द्र भद्रपुरका निर्देशक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणको कार्यमा दक्ष, प्रतिबद्ध र उत्प्रेरित जनशक्ति तर्जुमा गर्नेमा भूमिका निर्वाह गर्ने प्रदेश प्रशिक्षण निर्देशक तिम्सिनाले बताउँनुभयो । जनप्रतिनिधि र स्थानीय निकायका कर्मचारीलाई प्रशासनिक एवम् व्यवस्थापकीय विषयमा अनुसन्धान र परामर्शसम्बन्धी प्रशिक्षण दिनेमा कुरा प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।

प्रशिक्षण केन्द्रले अब प्रदेश सरकार, प्रदेश सरकारका आयोग, मन्त्रालय, मातहतमा रहेका निर्देशनालय, न्यायधिवत्ताको कार्यालय, प्राधिकरण, डिभिजन कार्यालय, सब डिभिजन कार्यालय, केन्द्र स्तरका कर्मचारी, प्रदेशभित्रका जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तथा संस्थागत अभिवृद्धिका यस प्रशिक्षण केन्द्रले आगामी दिनमा भूमिका खेल्ने निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

प्रदेशका १४ वटा जिल्लाका १३७ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमका लागि प्रदेश तथा स्थानीय स्वायत्त शासन कार्यक्रम कार्यान्वयनमा आइसकेको उहाँको भनाइ छ ।

साबिक चन्द्रगढी गाविस– १ हाल भद्रपुर १० कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा ९४ बिगाहा जमिन रहेको छ । जसमध्ये ४५ बिगाहा क्षेत्रफलमा यो केन्द्र फैलिएको छ । बाँकी खेती योग्य जमिन रहेको छ । यस केन्द्रमा एउटा कार्यालय भवन, १०० जनाको क्षमता भएका दुई वटा आवास भवन, २५० जनाको क्षमता भएको एउटा सभा हल, ८० जनाको क्षमता भएका दुई वटा कक्षा, ६० जनाको क्षमता भएका दुई वटा डाइनिङ हल, आठ जनाको क्षमता भएको एउटा पाहुना घर, एउटा भान्सा घर र १० वटा कर्मचारी क्वार्टर रहेको छ । केन्द्रमा यत्रो ठुलो संरचना रहे पनि अधिकांश भवनहरू अहिले जीर्ण अवस्थामा रहेको छ ।