भजुराम तखाछेँ श्रेष्ठ
मेरा मित्र श्री १००८ स्वामी सत्यव्रत, वेदका प्रखर विज्ञाता, योगगुरु र श्री १००८ शङ्कराचार्यको नेपालमा प्रतिनिधित्व गर्नुहुनेसँग मेरो एउटा भेटघाटमा मैले उहाँसँग सोधेको थिएँ, ‘तपाईं येशुको बारेमा के भन्नुहुन्छ ?’ उहाँले आफ्नो आँखा तेजिलो बनाउँदै यो अविस्मरणीय वाक्य उच्चारण गर्नुभयो, ‘उहाँ समुद्र हुनुहुन्छ । उहाँको बारेमा हामी जे बोल्छौँ त्यो केवल एक अञ्जुलिमात्र हो ।’ त्यस्तै स्वामी प्रपन्नाचार्यले ‘वेदमा के छ ?’ नामको आफ्नो पुस्तकमा ‘येशु हिन्दु हुनुहुन्छ’ भनेर ठोकुवा गर्नुभएको थियो ।
त्यस पुस्तकमा लेखिएको उहाँको धारणाका बारेमा चर्चा गर्दै मैले उहाँलाई व्यक्तिगत प्रश्न गरेको थिएँ, ‘येशुको बारेमा तपाईं के भन्नुहुन्छ?’ मेरो प्रश्नले एकछिन् त उहाँ अकक्किनुभयो । ‘तपाईंले मलाई धेरै गाह्रो प्रश्न सोध्नुभयो’ भन्दै ‘उहाँ भगवान् हुनुहुन्छ’ भनी जवाफ दिनुभएको थियो । ‘यदि म नासरथको येशु रहनुभएको प्यालेस्टाइनमा रहेको भए, मैले उहाँका पाउहरू धुने थिएँ तर मेरा आँसुले होइन बरू मेरो हृदयको रगतले’ भनेर पश्चिम देशको निम्ति हिन्दु मिसिनेरी स्वामी विवेकानन्दले व्यक्त गर्नुभएको थियो ।
आफू कुनै धर्मगुरु नभईकन धर्म र साहित्यहरूको केवल बालक छात्र भएको हैसियतले, विश्वले मनाउने पर्व चाहे धार्मिक दृष्टिकोणले होस् वा येशुप्रतिको आस्थाविना सामाजिक रमझम गर्न होस् वा पारिवारिक मिलनको लागि होस्, क्रिसमस भन्ने शब्द नै मेरो दिमागमा डुबुल्की मारिरहेको पाँच दशभन्दा बेसी भयो । मलाई जे थाहा छ त्यो केवल एक अञ्जुलिमात्र भइरहेको पाइरहेको छु । एकफेर राक्षसी रूप लिएका येशुको प्रखर शत्रु तर धर्मशास्त्र बाइबलको प्रथम खण्डको धुरन्धर पण्डित सावल भन्ने पावलले येशुको मृत्युपछि इजरायलमा अनुयायीहरूलाई त्राही–त्राही गरिरहेका थिए ।
जब उनी चकित तरिकाले येशुमार्गमा लागे तब उनले भने, ‘मेरो सबै पण्डित्याइँ येशुलाई चिन्न रद्द गरेको छु र मेरो जीवनको लक्ष्य नै उहाँलाई चिन्न खोज्नु हो ।’ अर्थात् उनी येशुभक्त भए तापनि ‘खोइ, उहाँको बारेमा जान्ने प्रयासमा म छु’ भन्ने तर्क उनले राखेका थिए । त्यसको अर्थ कोही मानिस इसाई हुँ भनेर दाबी गरे तापनि उहाँलाई खास चिनेकै छु भन्न नसकिने रहेछ । एकफेर येशुलाई आदर गर्ने ओमकार धर्मको अगुवाले मलाई भन्नुभएको थियो, ‘हाम्रो समूहमा तपाईं सामेल हुनुहोस् ।’ तर म धर्मको नाउँमा चिनारी गर्न नचाहेकोले उहाँको प्रस्ताव स्वीकार गरिन ।
किन त ? पहिलो त नेपालमा लोकले मानेको क्रिश्चियन धर्मका गुरुहरूबाट धेरै वर्षअघि मलाई घोक्र्याइदिएकोले म उहाँहरूसँग जबरजस्ती मिल्दै उहाँहरूकै चिनारीमा पर्दै म पनि इसाई हुँ भन्न चाहन्न । म विधिको शासन वा हप्ताको सातौँ दिन शनिबार साबथसमेत भएको दश आज्ञाहरूलाई हृदयङ्गम गर्ने तर उहाँहरूले त्यो विधिको शासन खारेज भयो भनेर सिकाउनुहुन्छ । त्यसैले गर्दा उहाँहरूको केही कार्यक्रमहरूमा भाग लिँदा म अछुतो हुन गएको व्यक्तिगत अनुवभ नै छ ।
दोस्रोमा, यदि येशु त्यस बेला होस् वा अहिले होस् इजरायल वा अरू कुनै राष्ट्रको राष्ट्रपतिमा उठ्छु भन्नुभयो भने उहाँले त्यसको लागि टिकट पाउनुहुने थिएन, न त पाउनुहुन्छ नै, न त उहाँको त्यो इच्छा नै हो । कारण ? उहाँ विदेशी । हाम्रो देशमा पनि मोबाइलदेखि लिएर अरू देशका हामीले उपभोग गर्ने सामानहरूचाहिँ स्वदेशी र अझ अनेकौँ प्रक्रियाद्वारा अरू देशका मानिसहरू स्वदेशी हुन सक्छन् । अमेरिकामा त भारत मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति नै बनिन् । तर येशुको जन्मदेखि आजसम्म उहाँ विदेशीको विदेशी नै भइरहनुभएको छ । कसरी ?
त्यसको पुष्टि धर्मग्रन्थ बाइबलले गरेको म देख्छु । उहाँको यस भौतिक संसारमा भौतिक चोला लिएर जन्मनुभएको विवरण उक्त पुस्तकले दिएको छ । मगनी भएकी कन्या मरियमकहाँ स्वर्गदूत एकदिन देखा परेर उनलाई यो खबर दिएको थियो, ‘तिमी धन्यकी छौ, किनकि तिम्रो गर्भमा बालक हुनेछ जो परमेश्वरको पुत्र अर्थात् परमेश्वर आफैँ हुनुहुन्छ ।’ अर्थात् परमेश्वर केवल शुक्राणुको रूप धारण गर्नुभएको थियो तर कुनै मानवीय सहवासबाट करोडौँ तँछाडमछाड गर्ने शुक्राणुहरूबाट उछिन्ने एउटा शुक्राणु त्यस कन्याको गर्भमा पसेको थिएन ।
त्यसको अर्थ उहाँमा कुनै मानवीय वंशजका गुणहरू स्थानान्तरित भएको थिएन । वैज्ञानिक हिसाबले एउटामात्र शुक्राणु अर्को महिलाको गर्भमा राखिनु असम्भव होइन । केही महिनाअघि अमेरिकामा एकजना हजुरआमाले नातिलाई जन्माइन् रे । हुन त त्यो नाति छोरा हो कि नाति हो वा आफ्नो बाबुलाई दाजु भन्ने हो कि बुबा भन्ने, त्यो अन्यौलता त आफ्नै ठाउँमा छ । हामी लौकिक संसारमात्र होइन अलौकिक संसारमा पनि छौँ । यदि विज्ञानले शुक्राणुलाई टेस्ट्युब वा अरू महिलाको गर्भमा राखिदिन सक्छ भने सनातन सृष्टिकर्ता परमेश्वरले पनि त्यसो गर्नु अचम्म मान्नुपर्ने आवश्यकता देखिँदैन । फेरि मरियमको कोखमा पस्रनुभएको येशुको डीएनए वा वंशाणु बाइबलकै मुताबिक उहाँको धर्मपिता युशुफ वा कुनै मानवीयको नभएर पृथ्वीबाट अपार देशको छ ।
अर्थात् उहाँ अपार जीव हुनुहुन्छ । त्यसकारणले पनि यस संसारमा उहाँ आधिकारिकरूपमा विदेशी हुनुभएको छ । पछि येशुलाई वचन भनेर सम्बोधन गरिएको थियो । ऋग्वेदका अनुसार वचन नै ब्रह्माण्डको मालिक हुनुहुन्छ । उहाँ पापको निम्ति बलिदान हुन आउनुभएको थियो । येशुकै वचनमा मानिस पापको पोको हो जहाँबाट हत्या, हिंसा, व्यभिचार, झुट, चोरी र खराब विचारहरू निस्कन्छन् । इजरायलको दोस्रो र अति लोकप्रिय राजा दाउदले ‘म पापमै जन्मिएको थिएँ’ भनेर स्वीकारेका थिए ।
क्रिसमस भन्ने चाड रोम देशमा सूर्यको पूजा गर्ने पर्वसँग गाभेर (हाम्रो छठ भनेको जस्तै) चौथौँ शताब्दीमा रोमन क्याथोलिक धर्मगुरु पोपले मनाउन उर्दी गरेका हुन् । एकदिन रोमन क्याथोलिक चर्चको मेरो प्रिय मित्र धर्मगुरु वा फादरलाई तिहारमा क्रिसमस मनाए कस्तो हुन्थ्यो होला भनेर जिज्ञासा राखेको थिएँ । ‘यो त अति उत्तम आइडिया हो’ भनेर उहाँले जवाफ दिनुभएको थियो । क्रिसमस चाडले येशुको अस्तित्व केवल २ हजार वर्षमात्र भएर लोकलाई देखाउने भएकोले उहाँको अनन्तको अस्तित्वलाई नै अवमूल्यन गर्न खोजिएको देखिन्छ ।
कमल थापाज्यू समेत म मिलेर हातेमालो गर्दै ५० वर्षभन्दा अघि एकदिन पशुपतिमा शिवरात्रिको दिन राजा महेन्द्रलाई अपार भीडले नछोओस् भनी हामी उभिएका थियौँ । जब राजा मेरो अगाडि जानुभयो ममा एक किसिमको श्रद्धा उब्जेको थियो । तर राजा र जनताको बीचमा हामी तगारो भएका थियौँ । जब येशु आउनुभयो, सृष्टिकर्ता परमेश्वर जसलाई परमपिता, आमा, पति आदि भनेर सम्बोधन गरिन्छ, उहाँ र सर्वसाधारण मानिसहरूको बीचमा धर्म एक पर्खाल भएर उभिएको थियो । धर्म वा संस्कारले गर्दा स्त्री–पुरुषको बीचमा पर्खाल, यहूदी र अन्य जाति वा अयहूदीको बीचमा पर्खाल, गरिब र धनीको बीचमा पर्खाल खडा भएको थियो भने विधवी, पिछडिएका र पीडितहरूलाई तुच्छ ठान्दै खुट्टाको धूलो गर्ने प्रवृत्ति तथा धर्म वा राजनीतिक कारणले मानवअधिकार वा स्वविवेकको स्वतन्त्रतालाई कुल्चिने इतिहासमा येशु देखा पर्नुभएको थियो । जब येशु आउनुभयो, उहाँ इसाई धर्म स्थापना गर्न आउनुभएको थिएन तर सेवा गर्न आउनुभएको थियो ।
‘सेवा प्रदान गर्नु नै सनातन धर्म हो’ भनेर श्री स्वामी प्रभुपादले श्रीमद्भगदगीता यथारूप पुस्तकमा उल्लेख गर्नुभएको छ । मानवीय व्याख्यामा, धर्मभन्दा मानिसले गर्ने विभिन्न कर्मकार्य हो, जसले परमेश्वरलाई खुशी पार्दछ । तर त्यसको विपरीत येशु आउनुभयो मानिसलाई खुशी पार्न र उसको प्रतिष्ठालाई पुनस्र्थापना गर्न । त्यो प्रतिष्ठा धर्मबाट होइन सम्बन्धबाट मात्र देखाइने हुँदा येशुकै जीवनीले चरितार्थ गरेर देखाउनुभएको थियो । धर्म र समाजले तिरस्कृत महिलालाई उत्थान गर्नुभएर स्त्री र पुरुषको बीचमा भएको भेद हटाउनुभएको थियो । लैंगिक समानता उहाँको उच्च प्राथमिकता थियो । धर्मगुरुहरूलाई पाखण्डी, कपटी, सर्पको सन्तान भनेर तिनीहरूलाई तिनीहरूले ल्याएको धर्मको नाउँमा विभाजन, शोषणको भण्डाफोर गर्नुभएको थियो ।
अतः येशुको अस्तित्व २ हजार वर्षअघि मात्र भएको भन्ने लोकलाई सन्देश दिँदा क्रिसमसले उहाँको गरिमालाई धक्का दिन्छ भन्ने यस आलेखकर्ता जिकिर गर्दछ । किनकि उहाँको न कुनै शुरु थियो, न त अन्त्य नै । उहाँ आफैँले दाबी गर्नुभएको थियो, ‘म संसारको होइन ।’ जुनरूपमा उहाँ मानव रूपधारण गर्नुभयो उहाँ पक्का वा सक्कल ई.टी. वा अपार जीव हुनुहुन्छ । त्यसकारण यस मानवजगत्मा उहाँ सधैँ विदेशी नै ठहरिनुहुन्छ । उहाँ धर्म स्थापना गर्न आउनुभएको होइन तर पुरुष र स्त्रीको समानतालाई जोड गर्नुहुँदै मानवअधिकार एवं विवेकको स्वतन्त्रताको पक्षमा उभिन आउनुभएको थियो ।
परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ भन्ने सन्देश सुनाउँदै ब्रह्मचारी भएर लोककल्याणकारी जीवन बिताउनुभएको थियो । परमेश्वर येशुको मार्गमा हिँड्नु भनेको धर्मधारण गर्ने होइन, उहाँको अनुसरण गरेर मानिसलाई प्रेम, सद्भाव, सहिष्णुता, दया र करुणाले हेर्नु हो । येशुका प्रखर शिक्षक पावलको भनाइअनुसार यदि येशु हृदयमा जन्मिएन भने हजारौँ वर्ष क्रिसमस मनाए तापनि त्यस चाडमा खिया नै लागिरहेको हुन्छ । कसैलाई चित्त दुखाउन यो आलेख लेखेको होइन तर क्रिसमसको नाउँमा अनेकौँ फजुल खर्च गरी भोका–नाङ्गाप्रति आँखा चिम्लेर परमेश्वरको चित्त नदुखाउन आग्रह गर्दै यो लेख लेखिएको हो ।
प्रतिक्रिया