बाटो निर्माण गर्ने क्रममा पहिरो जाँदा एकको मृत्यु ,दुई घाइते

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा बाटो निर्माण गर्ने क्रममा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो चाँगुनारायण नगरपालिका ५ छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेव जाने .स्थानमा पहिरो खसेको थियो।

पहिरो खस्दा सडक निर्माणको काम गरिरहेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये एक जना मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका ४ घर भई चाँगुनारायण छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जन छन् । उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी गिरीले जानकारी दिनुभयो ।

सडकको भित्तातिर पर्खाल लगाउने काम भइरहदा पहिरो खसेको बताईएको छ । पहिरोमा परेर अन्य दुई जना घाइते भएका छन्।

रामेछाप सुनापति गाउँपालिका घर भई छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङको अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौंमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको परिसरले जनाएको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका ४घर भई सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।