ओलीको कदम वैधानिक छैन, सडकबाटै सामना गर्छौं : कांग्रेस

0
Shares

काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । कांग्रेसले ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भत्र्सना गरेको हो ।

संसद् विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेलगत्तै आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजान लागेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको कदमले लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताउनुभयो । ‘ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्ने काम गरे, यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । अलोकतान्त्रिक कदमको कांग्रेसले घोर भत्सर्ना गर्दछ।’ –उहाँले भन्नुभयो । यो कदमले राष्ट्रलाई अस्थिरतातिर लैजाने, लोकतन्त्रलाई संकटतिर लैजाने बताउँदै पौडेलले निन्दनीय कामको सामना गरेर अगाडि बढ्ने बताउनुभयो ।

बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहरसमेत गरेको छ । आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।