ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

0
Shares

काठमाडौं, (नेस) ।

सत्तारूढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी समिति बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गर्दै निरंकुश र जनादेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्न अनुशासनको कारबाहीको प्रस्ताव पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बताउनुभयो ।

बैठकले राष्ट्रपति भण्डारीले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको ठहर गर्दै संसद् विघटनको निर्णयलाई राजनीतिकरुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आज सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ भने लगत्तैदिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए ।