सहकारीको गुणस्तर बढाउनुपर्नेमा विज्ञको जोड


नेपाल समाचारपत्र, काठमाडौं । 

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले पछिल्लो समयमा सहकारी अभियान सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको अन्तक्रिया कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो ।

‘जिम्मेवारीमा रहँदासम्म सदस्यलाई बलियो बनाउने मेरो जोड हुने छ,’ उहाँले भन्नुभयो–‘प्रमाणीकरणमा धेरै प्रश्न उठेकाले विभागले गुणस्तर मापनबाट पछि हटेको छ । गुणस्तर प्रमाणीकरणमा कानुनको परिपालना गर्न विभागले जोड दिइरहेको छ । एक वर्ष नै नटिक्ने गुणस्तर मापनमा सहकारीलाई विभागले प्रमाणपत्र नदिने उहाँले बताउनुभयो । कोपोमिसमा आबद्धता अनिवार्य गर्न लागिएको उल्लेख गर्दै देशभरका सहकारीको कारोबार अनलाइनबाट आउने गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ब्रान्डेड सधैंभरीलाई नहुने बताए । ‘सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने हो, एक वर्षभित्र तुरुन्तै नबिग्रिदैन एकचोटी ब्रान्डिङ भएपछि पछि व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्छ ।’
अन्तराष्ट्रिय सहकारी गुणस्तर मापदण्डमा चल्ने सहकारीमा कुनै समस्या नहुने उल्लेख गर्दै महासंघले पनि गुणस्तरलाई उच्च प्राथमिकतामा दिएको उहाँको भनाइ छ । ‘एउटा संस्थाले खराब गर्दा सिंगो अभियान नै बदनाम हुने भएकाले संयुक्तरुपमा अनुगमन गरी सहकारीमा गुणस्तर कायम गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘सबै सहकारीमा गुुणस्तर छ भन्नेमा हामी पनि विश्वस्त छैनौं ।’

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेको बताउँदै सहकारी सुशासनमा नगएर नै समस्या आएको बताउनुभयो । महासंघ र विभागको अगुवाईमै ऐन, नियमावली नबाझिने गरी गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको उहाँको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेकामध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताउनुभयो । वित्तीय सहकारीमा सेफ्टी एन्ड साउन्ड सिस्टम जोडिएर आउने भएकाले ब्रान्डमा सुरक्षाले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै सहकारी विज्ञ सुदर्शनप्रसाद ढकालले नियम र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताउनुभयो । सहकारीको स्वामित्व सहकारीले लिन नसकेको र नियमनमा समस्या रहेको उल्लेख गर्दै राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नमान्दा सहकारीमा दिन प्रतिदिन समस्या बढ्दै आएको उहाँको भनाइ छ । जनताको पैसा सुरक्षित गर्न सहकारी क्षेत्र चुकेको भन्दै व्यवस्थापन कमजोर हुँदा सहकारीमा दिन प्रतिदिन समस्या आएको उहाँले बताउनुभयो । १८ महिनाभित्र सहकारी नियमन हुनुपर्ने र संस्थाको क्षमता वृद्धिमा ध्यान जानुपर्ने उहाँको जोड छ ।