महानगरपालिकाको विशेष नगरसभा बोलाउन माग

0
Shares

ललितपुर, (नेस) ।

एक तिहाइ सदस्यहरुले ललितपुर महानगरपालिकाको विशेष नगरसभा बोलाउन माग गरेका छन् ।

नगरसभाबाट पारित भएका निर्णय विधि र प्रक्रियाअनुरुप कार्यान्वयन नभएको भन्दै उनीहरुले सो माग गरेका हुन् । एक तिहाइ सदस्यहरुले आफ्नो नाम र हस्ताक्षरसहित विशेष नगरसभाको बैठक बोलाउन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमक्ष पत्र बुझाएका छन् । ‘हामीले मेयरसमक्ष पत्र बुझायौं, उहाँले पत्र हेरेर जवाफ दिनेछु भन्नुभयो, त्यसपछि हामी फर्कियौं।’ –वडा नं.–५ का सदस्य शोभा प्रधानले भन्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (३) लाई आधार लिँदै उनीहरुले बैठक बोलाउन माग गरेको हुन् । सो उपदफामा सभाका एक तिहाइ सदस्यहरुले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुखसमक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष बैठक बोलाउनुपर्नेछ भनी उल्लेख गरिएको छ ।

विशेष नगरसभाको बैठक बोलाउनुपर्नाको आधार र कारणमा नौ बुँदा पेस गरिएको छ । त्यसमा कोरोना संक्रमितहरुले स्वास्थ्य उपचार नपाएको, थलापरेका व्यवसायीहरुलाई बहालकर छुट दिनुपर्ने, कोरोना खर्चको फाँटबारी सार्वजनिक गर्नुपर्ने विषयहरु अघि सारिएको छ ।
त्यसै गरी वडाबाट सम्पत्ति कर र योजना सम्झौता कार्यान्वयन नभएको र सफाइ शुल्क विषयमा छलफल गर्नुपर्ने पनि पत्रमा भनिएको छ । नगर सभा, कार्यपालिका र विषयगत समितिबाट निर्णय भएका बाहेक विधि र पद्धति मिचेर गरिएका सबै कामकारबाहीहरु खारेज गर्न पनि पत्रमा माग गरिएको छ ।

नगरसभा सदस्यहरुले वर्षमा एकचोटि ताली बजाउनेबाहेक महानगरपालिकाको विकासमा आफ्नो खास सहभागिता नहुने गरेको भन्दै आलोचना गदै आइरहेको विषयमा परिस्थितिको आवश्यकताअनुसार सो माग गरिएको पनि वडा सदस्यहरु बताउँछन् ।