प्रधानमन्त्री ओली प्रचण्डको दैलोमा, दुवै अध्यक्ष आ–आफ्नै अडानमा

0
Shares

मधुसूदन रायमाझी, काठमाडौंं

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चर्किएका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित निवासमै पुग्नुभएको छ ।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा सरकारले आलटाल गरिरहेका बेला प्रचण्ड भेट्न अध्यक्ष ओली प्रचण्ड निवासमै पुग्नुभएको हो । झन्डै एक महिनादेखि टुटेको अध्यक्षद्वय ओली–प्रचण्डबीच सरकारले अध्यादेश ल्याएसँगै भेटवार्ता बाक्लिएको छ । तर दुवै अध्यक्ष अडानमा अडिग रहेका छन् ।

अध्यक्षद्वयको भेट चलिरहेका बेला खुमलटारमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको थियो । पार्टीभित्रको विवाद, विवादित अध्यादेशलगायतको विषयमा छलफल भए पनि कुनै सहमति नभएको प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रचण्डको आग्रहमा प्रधानमन्त्री ओली खुमलटारमा छलफलका लागि आउनुभएको हो । भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई पुनः आग्रह गर्नुभएको थियो । तर जवाफमा ओलीले स्पष्ट जवाफ नदिएको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड निवासमा प्रधानमन्त्री ओली पुगेसँगै नेताहरुको भीडभाड भएको थियो । प्रचण्डसँग छलफल गरेर बाहिरिने क्रममा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गेटमा जम्का भेट भएको थियो । ओली बाहिरिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएर पनि प्रचण्डले पार्टीमा प्रस्तुत गरेको आरोप–पत्र फिर्ता लिए मात्र अध्यादेश फिर्ता लिने अडानमा रहनुभएको छ । तर पार्टीभित्र बहुमत रहेका कारण प्रचण्डले पार्टी कमिटीले गर्ने निर्णय नै अन्तिम हुने अडान राख्दै आउनुभएको छ । विगत तीन महिनादेखि आन्तरिक विवादको मुख्य कारण बनेको अध्यक्षद्वय ओली–प्रचण्डको आरोप–प्रत्यारोपको कारण पार्टीभित्रको संकट गहिरिँदै गएको छ ।

पार्टीभित्र विवाद बढ्दा ओली र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो गुट भेलालाई तीव्र बनाएका छन् । नेकपाभित्रको विवादको मुख्य कारण बनेको ओली–प्रचण्डको आरोपप्रत्यारोप जारी स्थायी समिति बैठकमा छलफलको क्रममा रहेको छ । बैठक चलिरहकै बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवादमा नयाँ एजेन्डा थपिएको छ ।

अध्यादेश फिर्ता लिन पार्टीले निर्देशन दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कुनै निर्णय नगरेपछि नेकपाभित्रको तरंग कायमै छ । बिहीबार साँझ प्रधानमन्त्रीले बोलाउनुभएको परिषद्को बैठक प्रचण्डले बालुवाटारमै पुगेर आपत्ति जनाएपछि स्थगित भएको थियो । पार्टीका आन्तरिक विवादको किनारा नलागिरहेको बेला अध्यादेशको विवाद थपिएको छ ।

बिहीबार प्रधानमन्त्रीको दौडधूप खुमलाटर हुँदै मन्त्रीनिवाससम्म भएको थियो । खुमलटारबाट निस्किएपछि प्रधानमन्त्री ओलीले पुल्चोकस्थित मन्त्रिनिवासमा गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि केहीबेर भेट गरेर बालुवाटार फर्किनुभएको थियो ।

प्रचण्डले पार्टीमा प्रस्तुत गरेको आरोप–पत्र फिर्ता नभएसम्म बैठकमा नै सहभागी नहुने अडान राख्दै आउनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड निवास खुमलटारमै पुगेर संवाद गर्नुलाई सकारात्मक मान्नुपर्ने नेताहरुले बताएका छन् ।