उपभोक्ता समिति मार्फत कार्य गर्दा विवाद व्यवस्थापन र गुणस्तरीय कार्य हुने दाबी

0
Shares

न्युज अफ नेपाल, पनौती, काभ्रे ।

स्थानीय सरकारले सानो सानो लगानीमा गरिने विकास निर्माणका अधिकाशं कामहरु उपभोक्ता समिति मार्फत गर्न थालेको छ । स्थानीय स्तरमा हुने पुर्वाधार निर्माण तथा विकासका योजनाहरुमा स्थानीय उपभोक्ताहरुको सहभागिता बढाउने मात्र हैन उपभोक्ता समिति मार्फत गरिएको काम गुणस्तरीय र प्रभावकारी हुने भन्दै पनौती नगरपालिका वडा नम्बर ४ ले चालु आर्थिक वर्षमा १४ वटा योजना सम्पन्न गर्न उपभोक्ता समिति गठन गरेको छ ।

टेण्डर प्रक्रिया मार्फत कार्य गर्दा काममा ढिलाई हुनुका साथै गुणस्तरीयतामा समेत प्रश्न चिन्ह उब्जिरहेको बेला स्थानिय उपभोक्ता समितिले छिटो छरितो, पारदर्शीताका साथ गुणस्तरिय गुणस्तरीय कार्य सम्पन्न गराउने वडा कार्यालयको लक्ष्य रहेको वडा अध्यक्ष वुद्ध सिंह थापाले बताए ।

स्थानीय उपभोक्ता समितिहरुलाई छिटो, गुणस्तरीय र प्रभावकारी कार्य गर्न पनौती नगरपालिकाले पनी विशेष चासो राखेर कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न कार्य सम्पन्न गर्न पनौती नगरपालिका वडा नम्बर ४ मा गठन भएका १४ वटा उपभोक्ता र अनुगमन समितिका पदाधिकारीहरुका लागि काम प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको छ ।

कार्यक्रममा उपभोक्ता र अनुगमन समितिका पदाधिकारीलाई नगरपालिकाका प्रशासन, लेखा र प्राविधिका शाखाका विशिष्ट कर्मचारीहरुले प्रशिक्षत गरि पठाएका छन् । ‘पुर्वाधार विकासका योजनाहरु सकेसम्म उपभोक्ता समिति मार्फत नगरपालिकाको लक्ष्य रहेको छ’ पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी भन्छन– उपभोक्ता समिमित मार्फत कार्य गर्दा उपभोक्ताहरुको अपनत्व, स्थायित्व र समाजिक सहभागिता बढ्नुका साथै स्थानीय स्तरमा रोजगारी समेत बढ्ने रहेछ ।

वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीका अनुसार स्थानीय विवाद समाधान गरि कार्य गर्न पनि उपभोक्ता समिति अब्बल देखिएको छ । उपभोत्ता समितिमा समाजले पत्याएको अनुहारहरुको सहभागिता हुने भएकोले पनि प्रभावकारी काम सम्पन्न हुने अधिकारीको भनाई थियो ।

पनौती नगरपालिका वडा नंम्बर ४ का वडा सचिव राजकुमार श्रेष्ठले आफ्नो वडामा यो चालु आर्थिक वर्षको योजनाहरु पुरा गर्न १४ वटा उपभोक्ता समिति गठन गरिसकेको भन्दै अझै केहि योजनाहरुमा उपभोक्ता समिति गठन गर्न बाकि रहेको बताएका छन् ।

१४ वटा उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरलाई अनुशिक्षण दिने क्रममा लेखा पाल मुकुन्द धितालले आर्थिक कारोबार गर्दा अपनाउनु पर्ने नियम र भुक्तानीको लागि आवश्यक कागजातको बारेमा जनाकारी गराउनु भएको थियो । उपभोक्ता समिति मार्फत गरिको कामको भुत्तानी गर्दा आवश्यक कागजात व्यवस्थित नहुने समस्या व्याप्त रहेको भन्दै लेखापाल धितालले पदाधिकारीहरुलाई यसमा ध्यान पु¥याउन आग्रह गर्नुभएको थियो ।

उपभोक्ता समितिहरुले कार्य गर्दा डिजाईन, प्राविधिक मुल्याङ्कन, नाम नक्सा जस्ता कार्य शुरु गर्नु अगावै गर्नुपर्ने काम नगरेको कारण पनि समस्या उत्पन्न हुने भन्दै पनौती नगरपालिकाका इन्जिनियर प्रेम सोनामले उपभोक्ता समितिका पदाधिकारीहरुलाई यसमा ध्यान पु¥याउन आग्रह गर्नुभएको थियो ।