प्रचण्ड बालुवाटार पुगेपछि बैठक स्थगित

0
Shares

काठमाडौं, (नेस) ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपीशर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो । सोहीअनुसार नेकपाको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको थियो ।

तर, बिहीबार साँझका लागि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नै नलिई पुनः संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र तरंग पैदा भएको थियो । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खबर गरे पनि सभामुख अग्नि सापकोटालाई भने खबर गर्नुभएको थिएन ।

अध्यादेश जारी भएकै दिन साँझ प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको बैठक बसेको थियो । आफ्नै पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दलसहित अन्य दलले कडा आपत्ति जनाएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत हुनुभएको हो ।

सहमति गरेर पनि प्रधानमन्त्री ओलीले बिहीबार परिषद्को बैठक बोलाएपछि कार्यकारी अध्यक्ष प्रचण्ड आपत्ति जनाउन बालुवाटार पुग्नुभएको थियो । प्रचण्डले पार्टीले गरेको निर्णय मान्नुपर्ने अडान लिएपछि अन्ततः साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भयो ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने प्रचण्डलाई जानकारी गराउनुभएको थियो । जवाफमा प्रचण्डले तत्काल बुधबार गरिएको प्रतिबद्धता र पार्टीले गरेको निर्णयबमोजिम अध्यादेश फिर्ता लिन ओलीलाई चेतावनी दिनुभएको थियो ।

मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ । बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानीका बारेमा प्रचण्डले प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अनकनाइरहेको ब्रिफिङ गर्नुभएको थियो ।