जग्गा कीर्ते गर्ने मालपोत हामिक थुनामा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज।

वीरगन्ज महानगर–५ मुख्य सडकस्थित हाल सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित पाँचजनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान आदेश गरेको छ ।

पर्सा जिल्ला अदालतको इजलास नं ६ का न्यायाधीश हरिकृष्ण श्रेष्ठले किर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई पुर्पक्षको लागि जेल आदेश दिनुभएको हो । सोही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू रु १ लाख धरौटीमा रिहा भएका छन् ।

काठमाडौं महानगरपालिका–१ बस्ने स्व गोपाल राजभण्डारीकी पत्नी स्व कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–४ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीलगायत तीनजनाको नाममा नामसारी गरेको थियो।

मुकेश राजभण्डारी स्व गोपाल र कमला राजभण्डारीका जेठा छोरा हुन्। यो घटनामा केवलप्रताप राणा मुकेश राजभण्डारी बनेर आफ्ना दुई फर्जी भाइ तयार गरी जग्गा नामसारी गरेका थिए । यो जग्गा प्रकरणमा वीरगंजका व्यवसायी गिरधारीलाल अग्रवाल पनि संलग्न थिए। उनैले किर्ते जग्गाको लागि केवलप्रताप राणालाई नगद दिएका थिए ।

तर, घटना सार्वजनिक हुन नपाउँदै उनले मुकेश राजभण्डारीको नाममा तमसुक गरेका केवलप्रताप राणाविरुद्ध पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा दिएका थिए। यो घटनामा अग्रवाललाई पर्सा प्रहरीले पक्राउ गरी कारबाई अगाडि बढाए पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुलतबीमा राखेर रिहा गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

यो घटनामा प्रहरीले १७ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएको थियो । जसमा १६ जनाविरुद्ध अभियोग दर्ता भएको छ भने ६ जना पक्राउ परेका हुन् भने १० जना फरार छन् ।