फ्रान्सले निगमका एयरबसलाई प्राविधिक सहयोग गर्ने

0
Shares

काठमाडौँ । फ्रान्स सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्न चासो देखाएको छ । नेपालका लागि फ्रान्सका राजदूत जेइरर लिगर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलबीच भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत लिगरले निगमसँग रहेको एयरबसको सुव्यवस्थित उडानका लागि आवश्यक प्राविधिक सहयोग आदनप्रदान गर्ने सम्बन्धमा कुराकानी भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको केन्द्रीय कार्यालयमा गत मङ्सिर २९ गते भएको उक्त भेटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिनुका साथै प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो ।

निगमसँग हाल अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । यी चारवटै जहाज निगमले फ्रान्सको एयरबस कम्पनीबाट खरिद गरेको हो । निगमले विसं २०७१ मा दुई थान न्यारोबडी र २०७५ मा २८० सिट क्षमताका दुई थान न्यारोबडी जहाज काठमाडौँ भित्र्याइएको थियो । निगमले हाल भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । युरोपका अन्य देशसहित फ्रान्सको टुलुसमा एयरबसको उत्पादन गर्ने कारखाना रहेको छ ।

निगमको अन्तरराष्ट्रिय गन्तव्यका आधार वाइडबडी जहाज फ्रान्सको एयरबस कम्पनीबाटै खरिद गरिएको हुनाले उक्त जहाजको उडानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने राजदूतको प्रतिबद्धता थियो । फ्रान्सका राजदूतले निगमको कार्यालयमा पुगेर गरेको छलफल आफँैमा निगमको प्रगति विषय भएको र यो निगमका लागि गौरवको विषय पनि भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताउनुभयो ।

निगमलाई थप दुई ग्राउण्डह्याण्डलिङ्गको अनुमति

नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग ९भूमिस्थ प्रबन्ध सेवा० गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गत मङ्सिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जनाएको छ । निगमले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

त्यसैगरी निगमले ट्विनअटर विमानबाट मङ्सिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका वडा नं २ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवद्र्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिनुभयो ।

निगमले उक्त व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मङ्सिर २९ गते बुझाएको थियो । निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्दै मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।