पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै पुगेर पुरस्कारसहित सम्मान

चन्द्रानन्द मेरो गुरु र अविभावक दुवै : मेयर शाक्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बुधबार बिहानको झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य सहितको टोली चन्द्रानन्द नेवाःको निजी निवास म्हय्पिस्थित निर्मल लामा मार्ग पुगेको थियो । प्रमुख शाक्यसहितको टोली नेवाःको निजी निवासमा पुग्दा ८८ को वयमा हिँडिरहनु भएका उहाँ बरण्डामा बेतको कुर्सीमा बसेर टोलाइरहनु भएको थियो । साढे दुई तले निवासको गेटमै पुगेर प्रमुख शाक्यले नेवार भाषामै ‘ज्वजलपा’ अर्थात नमस्कार गर्दा उहाँले चहकदार आँखालाई अझ चहकिलो बनाउँदै नेवाः लवजमै ‘ज्वजलपा’ भनेर फर्काउनुभयो ।

सामान्य हिँडडुलका लागि समेत लौरोको सहारा लिनुपर्ने नेवाः अहिले नियमित रुपमा उच्च रक्तचापको औषधि सेवन गरिरहनुभएको छ । धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँले महानगरलाई गर्नुभएको सेवाको कदर गर्दै काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व। जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ उहाँलाई प्रदान गरिएको थियो । स्वास्थ्यस्थितिका कारण पुरस्कार ग्रहण गर्न आउन नसक्नुभएकाले उहाँलाई प्रदान गरिएको रु। एक लाखको उक्त पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्न प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन उहाँको निजी निवासमै पुग्नु भएको थियो । कुनै समय किलागलमा निर्मल लामा लगायतका नेतालाई सेल्टर दिनुभएका नेवाः अहिले निर्मल लामा मार्गकै साढे दुई तले निजी निवासमा बुढ्यौली जीवन व्यतित गरिरहनु भएको छ ।

ऊर्जाशील उमेरको ४० वर्ष जनप्रतिनिधिको हैसियतमा सेवा गर्नुभएका नेवाः पुरस्कारसहितले सम्मान गर्न काठमाडौँ महानगरका प्रमुख शाक्य नै आफ्नो निवासमा टुप्लुक्क आइपुग्दा औधी खुशी देखिनुहुन्थ्यो । प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नगदसहित सम्मानपत्र प्रदान गरेपछि चम्किला दाँत देखाएर नेवाः मुसुक्क मुस्कुराउँदै भन्नुभयो– ‘मेरा लागि यो गौरवको क्षण हो ।’ प्रमुख शाक्यले पनि उहाँसँगै लय मिलाउँदै नेवाःलाई गुरु र अविभावकको संज्ञा दिनुभयो । इतिहासलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै शाक्यले उहाँबाट अझै धेरै नीतिगत कुरा सिक्न बाँकी रहेको बताउनुभयो । ‘म अहिले मेयर भए पनि उहाँ मेरो गुरु र अविभावक दुवै हो,’ शाक्यले भन्नुभयो, ‘उहाँबाट हामीले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका छौँ । धेरै नीतिगत कुरा उहाँबाट सिकेका छौँ । अझै धेरै सिक्न बाँकी छ ।’

प्रमुख शाक्यलाई बिचमै रोकेर नेवाःले करीब १५ मिनेट जति विगतको पन्तुरो खोतल्नुभयो । ‘२०३२ साल अघिसम्म विदेशीहरु काठमाडौंलाई ‘सिटी अफ ल्याट्रिन’ भन्थे । त्यसबेला कोपरामा दिशा गर्ने र भ¥याङ्मुनि जम्मा गर्ने चलन थियो । यसरी जम्मा भएको दिशा किसानकोमा लाने चलन थियो,’ प्रमुख शाक्यकाृ छेउमै विगत खोतल्दै गर्नुभएका नेवाःको अनुहारमा चमक थपिँदै गएको थियो । उहाँले थप उत्साहित हुँदै भन्नुभयो, ‘यसले गर्दा समय समयमा मानिसहरु विरामी हुने, झाडा पखाला फैलिने भइरहन्थ्यो । चोकहरुमा चर्पी गन्हाउने भएर विदेशीहरु भित्री सहरमा पस्न नसक्ने भएपछि युरोपियनहरुले यसरी ‘सिटी अफ ल्याट्रिन’ नामाकरण गरेका थिए । हाम्रै पालामा वडा–वडामा ढल बनाउने काम भएको हो ।’

उहाँ फेरि बचेखुचेका स्मरणलाई तानतुन गर्दै २०१७ साल पौष १ तिर फर्किनुभयो । ‘२०१९ सालमा सम्पन्न स्थानीय निर्वाचनपछि निर्वाचित प्रतिनिधिलाई वडामा के काम गर्ने भन्ने पूरा मेसो थिएन, वडा समितिको कार्यालय पनि थिएन,’ उहाँले भन्नुभयो, ‘वडाबाट सेवा पाइन्छ भन्ने जनतामा चासो पनि थिएन । वडाले पहिलेदेखि हुँदै आएका सरसफाइका कामलाई नियमित भए । नगरपालिकाबाट वडाको विकासका लागि काम गर भनेर २०२३ सालको निर्वाचनपछि पहिलो पटक ५ हजार रुपैयाँ पठाइएको थियो । त्यो पैसा पाएपछि वडाले पहिलो पटक ढल बनाउने काम गरेका थिए ।’

नेवाःलाई राजनीतिक गुरु मान्ने न्हुच्छेकाजी महर्जन अहिले वडा–१८ को अध्यक्ष हुनुहुन्छ । सम्मानका लागि नेवाःकै निवास पुग्नुभएका महर्जनले पनि उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको स्मरण गराउनुभयो । पहिलो पटक २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित भई जनप्रतिनिधिको हैसियतमा जिम्मेवारी सम्हाल्नु भएका नेवाःले पछिल्लो पटक २०५९ सालसम्म जनप्रतिनिधिकै हैसियतमा सेवा गर्नुभएको थियो । अहिलेको वडा नंं। १८ चन्द्रानन्द नेवाः वडा अध्यक्ष हुँदा वडा १२ थियो । त्यही वडाबाट स्वतन्त्र वाम उम्मेद्वारका रुपमा वडा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएका नेवाः उप–प्रधानपञ्च हुँदै २०३२ सालपछि कार्यबाहक प्रधानपञ्चको समेत जिम्मेवारीमा रहनुभएको थियो ।