नेकाको विरोध प्रदर्शन


संघीय प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्ताधारी नेकपाको प्रतिछायाँ मात्र भयो, सरकारप्रति आलोचनात्मक हुन सकेन भनेर आलोचना भइरहेका बेला यसले देशव्यापी विरोध प्रदर्शनको मुद्दा फेला पारेको छ– भ्रष्टाचारको । वर्तमान केपी ओलीको सरकार भ्रष्ट भयो भन्ने आधारमा विरोध प्रदर्शन चलाइएको छ । मुद्दा सही र सटिक हो तर विरोध गर्ने पात्र ठीक हुन सकेन भन्ने टिप्पणी पनि चारैतिरबाट उठिरहेको छ । नेकातिर औंला ठड्याउनेहरुले– मुखभरि आलो रगत दलेर अहिंसावादको नारा लगाउने भन्ने टिप्पणी गरिरहेका छन् । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकाले थालेको विरोध प्रदर्शन लाज छोप्ने प्रयास मात्र हो भन्ने उनीहरुको धारणा देखिन्छ ।

सरकारविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएको कांग्रेसले प्रधानमन्त्रीको मात्र विरोध गरेको छैन, राष्ट्रपतिलाई समेत विवादमा ल्याएको छ । आफ्नै नेताबाट संकटमा परेको सरकारलाई प्रमुख प्रतिपक्षीले भ्रष्टाचारीको संज्ञा दिँदै संसारमा सबैभन्दा भ्रष्ट भनेको छ । नेका सभापति शेरबहादुर देउवाले समेत सार्वजनिकरूपमा ओलीलाई भ्रष्टाचारीको नाइके भनेका छन् । २०४६ सालको परिर्वतनपछि देउवाले जब–जब सत्ता सम्हाले उनले इतिहासमा नाम लेख्ने गरी असफल सरकारको पगरी गुथे । उनै नेताले आज यो सरकारका बारेमा गम्भीर प्रश्न उठाएर सरकारमाथि धावा बोलेका छन् । चौतर्फीरूपमा चेपुवामा परेका प्रधानमन्त्री ओली आफ्नो ढिपीबाट एक कदम पछाडि नहट्नु नै अहिलेको समस्याको प्रमुख कारण बनेको देखिन्छ । पार्टीभित्रको आन्तरिक किचलोबाट रुमलिएको कांग्रेससमेत एक कदम अघि बढेर देशभर सरकारविरुद्ध उत्रिएको छ । विरोध प्रदर्शनमा सामेल हँुदा मास्कको अनिवार्य प्रयोग र भौतिक दूरी कायम गर्न दिएको निर्देशनलाई भने पालना गरेको देखिएन । जेहोस्, चौतर्फी घेराबन्दीमा परेको अहिलेको सरकारले निकास दिने बाटो खोजेन भने नेकपा मात्र अस्थिर हुने होइन, मुलुक नै अस्थिरतातर्फ जाने भएकाले सरकारले सोच्ने बेला आएको छ । आफ्नै सरकारका सभामुखसमेत प्रतिपक्षीको कित्तामा उभिएको देखिन्छ । संवैधानिक अंगमा रिक्त रहेको पदपूर्तिमा समेत बाधा पुगेको छ । यसले नेकपा कुन अवस्थामा पुगेको छ भन्ने चित्रण गर्दछ । मंगलबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा बिनाजानकारी सभामुख अग्निप्रसाद सापकोटासमेत अनुपस्थित भएपछि बैठक नै स्थगित हुन पुग्यो । सत्तारूढ दलभित्र नै प्रतिपक्ष खडा भएपछि यस सरकारको भौतिक उपस्थितिका बारेमा समेत टीका–टिप्पणी शुरू भएको छ ।

यसबाट एकातिर सरकार गम्भीर संकटमा परेको प्रमाणित हुन्छ भने अर्कातिर प्रधानमन्त्री ओलीको हठले कस्तो परिणाम सिर्जना गरिरहेको छ भन्ने पनि देखाउँछ । सिद्धान्तको लडाइँलाई अनन्तकुने क्षितिजमा छोडेर नेकपाका शीर्ष नेताहरु पदाधिकारी नियुक्तिमा हासिल गर्ने चन्दा–भेटी र अन्य कमिसनको स्रोतमाथिको पहुँचका कारण आपसमा लडिरहेका छन्, कोरोना महामारी भन्दा पनि उनीहरुका लागि भ्रष्टाचार मूल मुद्दा बनेको छ । यति खेर नेकाले साँच्चिकै भ्रष्टाचाररहित राजनीतिक परिवेश सिर्जनाका लागि आन्दोलन गर्न सके उसले यश पनि बटुल्नेछ, तर मुखमा लागेको भ्रष्टाचारको घाउले उसलाई पनि प्रभावकारी बनाउन भने सकेको छैन ।