खस समुदायमा परिचित मष्टो प्रथा


इतिहास हेर्ने हो भने मष्टो अनुयायीहरु खस समुदायहरु हुन् । मष्टो पूजकहरुले मष्टो माण्डौ अथवा आ–आफ्नो कुलको थानमा आ–आफ्नै परिधिमा पूजा गर्ने चलन छ । मष्टो पूजकहरुले मानिसको मरणपछि परलोक वा स्वर्गको फल प्राप्तिको भन्दा पनि जीवित रही प्राकृतिक, जैविक विविधताभित्र, स्वर्णिम सुखको फल प्राप्तिमा विश्वास राख्छन् ।

हरेक मष्टो अनुयायीहरुको धार्मिक कर्मकाण्डहरु प्रकृतिमा जोडिएको छ । पूजाबाट मष्टो पूजकहरु छ ऋतुहरुका अघि–पछिमा फल प्राप्तिको महसुस गर्ने गर्छन् । मष्टो पद्धतिको मार्ग निर्देशनले अमनचयन र जीवन आनन्द चाहनुहुन्छ भने तपाईं जीवन्त मेहनती र संघर्षशील हुन आवश्यक छ भन्छ । जीवन भनेको कर्म हो र कर्म नै जीवन हो । सधैँ प्रकृतिप्रति विश्वास राखेर कर्म गरे फल पाइन्छ ।
नर्क र स्वर्ग यही प्रकृतिमै छ, मृत्युपछि पुगिने यो ब्रह्माण्डभन्दा अरु कुनै लोक छैन भन्ने कुराको भाव दिन्छ । खसहरु मष्टो देवताको पूजा गरे जीवनलाई कर्तव्यनिष्ठ, लगनशील, साहसी तुल्याउँछ भन्ने विश्वास राख्छन् । खसहरुको मष्टो संस्कारले कुनै पनि कर्मकाण्डमा आज द्रव्य दान गरे भोलि मरेको आत्माले फल प्राप्त गर्दछ, दिवंगत आत्माले स्वर्गद्वार प्राप्त गर्छ भन्ने विश्वास राख्दैन ।

मष्टोसँग सधैँ मागिने कुरा, कुलवंश सन्तति, पशु चौपया, बालीनालीको रक्षा होस् । जीवन शान्त र समृद्ध बनोस् । कुनै कुरा हासिलको निमित्त कार्य गरिँदै छ भने मेरो कार्यशिद्ध होस् भनेर पुकार्ने गरिन्छ ।

मानिसको कार्य सफलता नै आत्मसन्तुष्टि हो । आत्मसन्तुष्टि नै स्वर्ग हो । जहाँ स्वर्ग छ, त्यहाँ प्राकृतिक मष्टो देवता छन् । आदिम कालदेखि खसहरुको समूहगत विकास भएको हो । पाकेको फल ग्रहणसँगै बीउबिजन अर्को ऋतुको आगमनसम्मलाई जगेर्ना गर्ने कुराको विकास भएको हो । आजको मष्टो संस्कृतिमा पनि यो कुरा पाइन्छ । जुन ऋतुमा फल पाकेको भेटिए तापनि प्रथम त्यहाँको भूमि र मष्टो देवतालाई छुट्याइन्छ । फलफूलका हकदार जीवित सम्पूर्ण प्राणी र भूमि देवताको नाममा फल टिपेर भाग छुट्याउने प्रचलन छ । फल पाकेपछि जंगली देउता र त्यहाँको भूमि देवताको नाम पुकारी नुवागी गर्ने चलन छ ।

फल पाकेपछि फेरि खान पाउने आशामा हरेक तरहबाट भूमि देवतालाई ढोगेर बिन्ती चढाउने प्रचलन आजको परम्परामा पनि छ । वैशाख शुक्ल उभौली तिथिअन्तर्गतमा रोपी उमारिएका बीउबिजन बालीनालीमा प्राकृतिक जैविक प्रकोप नपरोस्, आफूमा रोगव्याधि नलागोस्, आफूले रोपेको फल पाकेपछि आफैंले ग्रहण गर्न पाऊँ भनी आफ्नो आयुको वरदान मष्टो देवतासँग माग्ने प्रचलन छ ।

सालभरि प्रकृति प्रकोप नपरोस्, आफ्नो कुलवंशमा ज्यान–धनको क्षति नहोस् र आफ्ना पशु चौपायामा रोगव्याधि नलागोस्, चोटपटक नलागोस् भनेर प्रकृति मष्टो देवतालाई भोग चढाउने प्रचलनलाई किरातहरुले उभौली साकेला भनेझैँ खस जातिहरुको देवाली प्रथा हो । मष्टो पद्धतिले पञ्च तत्वले निर्मित प्राकृतिक मष्टोका महिमाहरु शेषपछि पुनः प्रकितिमै लिन हुन्छन् भन्ने कुराको विश्वास दिने गर्छ ।

मष्टो पद्धतिमा प्राकृतिक सृष्टिका सम्पूर्ण कुराहरु यहाँको भूमिदेवताको नाममा चढ़ाउन, अर्को ऋतुसम्म जीवित रहेमा फेरि चढाउन र आफूले पनि उपभोग गर्न पाउने विश्वासमा मष्टो देवताको पूजा गरिन्छ । यस पूजामा नाच्ने, रमाउने र आफू मातहतमा रहेका सम्पूर्ण कुराहरुको केही भाग छुट्याएर बलि भोग दिने चलन छ ।

५९ देखि ६१ दिनमा फरक–फरक ऋतुहरुको अगमनसँगै फरक–फरक फूलफलेदो पाक्ने गर्दछ । हरेक ऋतुसँगै मौसमका फरक रुप फेरिनाले गर्दा मौसमी प्रकोपबाट ३६५ दिनपछि आउने सोही ऋतुसम्म जीवित रहे यही भूमिमा चढाइ पूजा गर्नेछु भनी मष्टो देवता र भूमि देवतालाई पुकार्दै अठोट राखिन्छ, जुन अठोटले जीवनलाई व्यावहारिक तुल्याउँछ, व्यवहारले शिक्षित तुल्याउँछ र शिक्षाले सफलता ।
मष्टो परम्परामा मष्टो देवताको पूजा गर्न कुनै नाना नैवेद्य, मिष्ठान्न र रंगविरंगका वस्त्रको खरिद गर्नुपर्दैन । जहाँ जुन भूमिमा जे सृष्टि भएका स्रोत–साधन, फूलफलेदो, पशुपक्षीहरु छन्, तिनै वस्तुको भोग चढाउने हो ।

– सुस्मिता बस्नेत, जुम्ला ।

तनाव व्यवस्थापनमा आफैंले ध्यान दिनुहोस्

आजकलको व्यस्त जीवनशैलीमा तनाव एक सामान्य बनेको छ । समस्या सामान्य भए पनि यसको परिणाम घातक हुन्छ । मानसिक तनाव अर्थात् दबाब शब्द बुझ्न जति सजिलो छ, त्यति नै यसलाई व्याख्या गर्न कठिन छ । विभिन्न मनोवैज्ञानिकहरूले यसलाई भिन्न तरिकाले परिभाषित गरेको पाइन्छ । सन् १९३६ मा हान्स सेलएले यो शब्दलाई प्रयोगमा ल्याएका हुन् ।

उनका अनुसार हाम्रो शरीरले कुनै परिवर्तनको माग हुँदा देखाउने गैरविशिष्ट प्रतिक्रिया हो, जुन वातावरणीय मागहरूलाई स्ट्रेस भनिन्छ । सन् २००३ मा एस पी रविन्सले भनेका छन्– स्ट्रेस शरीरको त्यस्तो अवस्था हो, जहाँ व्यक्ति केही अवसर, अवरोध वा निजले चाहना गरेका परिणामहरू अत्यन्तै महत्वपूर्ण अनि अनिश्चित छ भनी सामना गरिरहेको हुन्छ, त्यो शरीरले आभास गर्दछ । सामान्य अर्थमा यसलाई मानसिक तनाव पनि भनिन्छ ।

आफैंलाई व्यवस्थापन गर्ने कला तनाव व्यवस्थापन हो । आफूसँग जे छ त्यो नदेख्ने र जे छैन त्यसप्रति आशक्ति हुने स्वभाव परास्त गर्नु हो । सबैले आफूसँग भएको मौलिक गुण र क्षमता पहिचान गर्न भुलेर अरूको प्रतिष्ठा र पदलाई खुशी देख्ने प्रवृत्ति त्याग्नु । आन्तरिक स्थिरता, कोमलता, शान्ति र स्वतन्त्रता हाम्रा आन्तरिक सम्पदा हुन्, यो सम्पदालाई भोग्नुजस्तो खुशी अरू के होला भन्ने ज्ञान राख्नु । आफ्नो अहंकारप्रति जागृत हुनु र सरल एवं सहज जीवन बिताउने कोशिश गर्नु ।

आत्मविश्वास बढाउने र बाहिरी विकासभन्दा आत्मविकासमा जोड दिनु । एकाग्रता, एकान्त, शान्त र ध्यानमय वातावरणमा दैनिक एक घन्टा समय बिताउने । आवश्यक मात्रामा शारीरिक परिश्रम गर्ने र मानसिकरूपमा विश्राम लिने । प्रतिकूल परिस्थितिमा परिस्थिति बदल्न होइन, आफ्नो मनस्थिति बदल्न कोशिश गर्ने । जीवनशैली नै सकारात्मक र असल आचरणमा बिताउन संकल्प गर्ने आदि गर्न सकिन्छ ।

एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् । नेपालमा आत्महत्याका प्रमुख कारणमध्ये विभिन्न उपचार गर्दा पनि निको हुन नसकी जीर्ण रोगले सताएका बिरामी, आफन्तको मृत्यु, बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, प्रेममा धोका, लागूऔषध, परीक्षामा असफलता, जीवनमा निराशा, क्षणिक आवेग, दाइजो प्रथा तथा विभिन्न प्रकारका महिला हिंसा रहेका छन् ।

मेरो मनमस्तिष्कमा के कुरा खेलिरहेछ, के सोचिरहेछु, म के गरिरहेको छु भन्ने होस हामीमा हुँदैन । प्रायजसो मानिस बेहोसीमै जिइरहेका छौँ । प्रायजसो मानिस एउटा काम गरिरहेका हुन्छन्, ध्यान अर्कोतिर हुन्छ अर्थात् भौतिक शरीर एकातिर मनमस्तिष्क अर्कोतिर । यसले गर्दा बेहोसीमा गरिएको काम सफल हुँदैन र तनाव सिर्जना हुन पुग्छ ।

भगवान् गौतम बुद्धले होस जगाउन र आफूभित्र भएको अपार क्षमतालाई सम्झाउन आफ्नो बत्ती आफैँ जगाऊँ भनेर अनेक उपदेश दिनुभएको छ । धेरै थोरै तनाव सबैमा हुन्छ । तनावको व्यवस्थापनका लागि आफू, आफ्नो मन, स्वभाव, बानीव्यवहार, आचरणलाई व्यवस्थापन गर्नुपर्छ ।

– श्वेता ठाकुर, नेपालगन्ज ।